
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर १९, आइतवार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतवार बिहान सम्पन्न मतपरिणामबाट कमल थापालाई २ सय २७ मतले पछि पार्दै लिङ्देन विजयी भएका हुन्।
लिङ्देनले एक हजार ८४४ मत ल्याएर वियजी हुदा कमल थापाले एक हजार ६ सय १७ मत प्राप्त गरेका छन्। ४३१ मत बदर भएको छ।

राप्रपा महामन्त्री धवलशम्शेर राणा विजयी भएका छन् । निर्वाचन समितिका अधिकृत राजु बस्नेतका अनुसार राणा महामन्त्री पदमा विजयी भएका हुन् ।
राजेन्द्र लिङ्देनको समूहबाट राणा महामन्त्री पदमा उठेका थिए।राप्रपाको पहिलो एकता महाधिवेशनमा लिङ्देन र राणाले गठबन्धन बनाएर उम्मेदवारी दिएका थिए। राणा नेपालगन्ज उपमहानगरपालिकाका मेयर हुन् भने अध्यक्षमा निर्वाचित लिङ्देन संघीय सांसद हुन्।
लिङदेन लिगेसी : झापाली जनताको ढुकढकी बनेका राजेन्द्र लिङदेनको जन्म २०२२ सालको भदौ २२ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको हो। राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गरेका लिङ्देनले २०३९ सालदेखि राजनीतिक यात्रा शुभारम्भ गरेका हुन्।
राप्रपाको विद्यार्थी संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन’को संस्थापक अध्यक्ष समेत हुन्। लिङदेनले २०४९ र २०५४ सालको चुनावमा उनको चुनावी क्षेत्रमा गोलधापमा वडाध्यक्ष विजयी भइ वडाध्यक्षको सफल कार्यभार सम्हालेका थिए।
२०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमा समते बनेका लिङदेन २०५६ सालको संसदिय चुनावमा चुनावमा झापा क्षेत्र नं ३ मा तेश्रो स्थानको मत पाएका लिङदेन २०७० सालको चुनावमा दोश्रो हुँदै पराजयलाई आत्मसात गर्नु परेको थियो। उनी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पराजित हुँदै आएका थिए। उनै लिङ्देनले कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गर्दै यतिबेला चर्चाको शिखरमा छन्। २०६४ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य भएका लिङदेन २०७० सालमा राप्रपा नेपालको महामन्त्री भएका हुन्। यस्तै राजनीतिक यात्रा गर्दै जाँदा लिङदेन यतिबेला झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभाका लागि निर्वाचित भएका छन्।