मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १६, मंगलवार

तिहार पर्व अर्थात यमपञ्चक शुरु भएको छ। यमपञ्चकको हरेक दिनको आ आफ्नै धार्मिक मान्यताहरू रहेका छन्। आज धन त्रयोदशी अर्थात् धनतेरश। विशेषगरी दिपावलीको किनमेलको लागि आजको दिन निक्कै उत्तम मानिन्छ। आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई हामीलाई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ ।

धन्तेरसको व्रत बसेर आज पवित्र मनले अनि शुद्ध चित्तले पूजा अर्चना गर्ने चलन छ । धन्तेरसको दिन कमलको पुष्पासनमा बसेकी माता लक्ष्मीजी र गणेशजीको मूर्ति, तस्बिर घर भित्र्याउनु निकै फलदायी हुनेछ । गच्छ अनुसार तपाईंले माटोको मूर्ति वा तस्बिर पनि लिन सक्नुहुनेछ । मूर्ति लिँदा ध्यान दिनुपर्ने कुरा के छ भने माता लक्ष्मीजी कमलको पुष्पासनमा बसेकै हुनुपर्दछ, उभिएको हुनुहुँदैन । यसो गर्नाले अन्नले भरिपूर्ण तथा स्थायी लक्ष्मीको बास हुन्छ ।

धन्तेरसको अवसरमा भाँडाकुँडा खरिद गर्दै हुनुहुन्छ भने जुनसुकै स्टिल, तामा, पित्तल आदिको भाँडा किनेपनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्नु शुभ मानिन्छ । सम्भव भएसम्म सुन किन्नु अत्यन्त लाभदायी हुनेछ । धनतेरसको दिन किनेको सामान घरको पूर्वउत्तर दिशा (ईशान कोणमा) लगेर राख्नुपर्दछ । यसरी खरिद गरेको सामान अरूलाई उपहारको रूपमा दिनु राम्रो मानिदैन । अतः आफ्नु लागि मात्र राख्नुपर्दछ । यसो गर्नाले कुबेरजी पनि प्रसन्न भई तपाइको घरमा विराजमान हुनुहुनेछ । ध्यान दिनुस् धन त्रयोदशीमा कालो रङ्गको कुनै पनि वस्तु खरिद गर्नुहुँदैन ।

धन्तेरसको दिन कौडी, कमलगट्टा तथा सिङ्गो धनियाँ किनेर घर भित्र्याउनु अत्यन्तै शुभ मानिन्छ र यसरी खरिद गरेको कौडी कमलगट्टा र सिङ्गो धनियाँ लक्ष्मी पूजामा सामेल गरी घरमा राख्नाले घरमा धनको कमी कहिलै नहुने र मानसिक शान्ति मिल्नेछ । आजको दिनबाट लक्ष्मी उत्सव शुरु हुने भएको हुनाले आजपनि लक्ष्मी माताको विशेष पूजा अर्चना गर्नु महत्वपूर्ण मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *