अगनसिंह थापा | २०७८ कार्तिक

मनसुन पश्चात् गत साता हावाहुरी सहित आएको बेमौसमी बर्षाले खासै असर पारेको देखिएन, यो धान फाटलाई । तीन दिनसम्म परेको अविरल झरीले कुनै बितण्डा मच्चाएको छैन यता ।
परपरसम्म प्रायः सबै धानका बाला सुनमा बदलिँइ सकेका छन् । पाकेर फाटै पहेलपुर बनेको छ । शीतल शीतले लहलह लहराइरहेका बैसालु बालासंग प्रीत गासिरहेकै छ । अहिलेको वातावरण अझ आकर्षक भएको छ । शान्त, सुन्दर, सुरम्य छ ।

तर अधिराज्यका १९ जिल्लाका लगभग १ लाख हेक्टरमा लगाइएको धानबालीलाई ठूलो क्षति पु‍¥यायो । जसबाट हजारौं किसान अनपेक्षित मारमा परे । कतै खेतमा लगाइएको धानबाली क्षणभरमै बगर बन्यो । भरैभोलि काट्न हुने धानबाली ढलेर सोत्तर पार्यो । कतै भने धानखेत डुबानमा पर्दा किसानले काटेर भित्र्याउन ठिक्क पारिएको धान पूरै हिलोमा मिसिँयो । काट्दाको लगानी पनि डुब्यो । आधा चुटेर खेतमै प्लास्टिक र पालले छोपेर राखेको धान पनि किसानको भकारीमा पुग्न पाएन । सबै पानीले भिजाएर हरिबिजोग बनायो ।

वर्षभरि खाने आम नेपालीको प्रमुख खाद्यान्न कै संकट पर्यो कतिलाई । बिक्री गर्ने किसानलाईसमेत किनेर खानुपर्ने बनायो । रोप्दा, गोडमेल गर्दा बगाएको पसिन र रासायनिक मलको लाइनमा घन्टौँ कुरेर बल्लबल्ल मल जोहो गरिकन दुखले उब्जाएको धान बाली सत्यनास भयो । शरद ऋतुमा परेको असामान्य वर्षाले निम्त्याएको बितण्डाको दृश्य मन थाम्न नसकिने किसिमको भयो ।
धानबालीमा मात्र झन्डै छ ८ अर्ब २६ करोड ८० लाखभन्दा बढी रुपैयाँको नोक्सानी पुगेको प्रारम्भिक विवरणले देखाएको छ । उसै त खर्बौको चामल आयातमा बाच्नुपर्ने बाध्यता । प्रकृतिको यो बिपत्तिले निम्त्याएको संकटबाट यो वर्ष नेपालीको परनिर्भरता अझ बढ्ने नै छ ।

सर्वविदितै कुरा हो – धान बालीबाहेक विनाशकारी बाढीपहिरोबाट ठूलो बिपत्ति आइलाग्यो । सडक, पुल, सञ्चार र हवाई उडानसमेत अवरुद्ध यसै विपदका घटनाहरू हुन् । सडक र पुलमा मात्र १ अर्ब ५ करोड रुपैयाँभन्दा बढी नोक्सानी भएको छ । सबै क्षेत्रमा क्षति जोड्दा सालाखाला १० अर्व रुपैया पुग्छ । रुपैयाले मापन गर्नै नसक्ने मानवजनमा भएको अपुरणीय क्षति, बेपत्ता–विस्थापन र सामाजिक–सास्कृतिक विचलनको मूल्य अलग्गै छ ।

वर्षाले विपद ल्याइको घटना यो मात्र होइन । विगतमा वर्षाले वितण्डा मच्चाएका अनेक अनुभव छन् हामीसँग । ११ वर्ष पहिले सन्् २००९ को अक्टोबर ७ मा कैलाली, कंचनपुर र भारतको केही क्षेत्रमा ठूलो क्षती पुर्‍यायो । सन् २०१०, २०११ र २०१३, २०१५ को यही अक्टोबरमा भने खरेडीका कारण पुरै सुक्खा भएको थियो । यस्ता बिपत्तिले कृषि व्यवस्था नराम्ररी प्रभावित हुने नै भयो ।

त्यस्तै यही वर्षको अर्को घटना हेरौ । मनसुन सुरु हुनुभन्दा अगाडि नै विगतमा धेरै वर्षा नहुने उच्च हिमाली क्षेत्रमा व्यापक वर्षा भएको र त्यसले तल्लो क्षेत्रमा ठूलो क्षति गराएको पाउछौ । मेलम्चीमा देखिएको जस्तो भयानक गेगरान बहाव हामीले न त कहिल्यै बेहोरेका थियौ । न त यस्तो भयावह जोखिमको कल्पना गरेका नै थियौ ।

भेमाथाङ मेलम्ची नदीको शीर मानिन्छ । त्यहाँको हिमखण्ड विस्फोट भएर मेलम्चीमा बाढी आएको कतिपय बिज्ञको ठम्याइ छ । तापक्रममा आएको वृद्धिले भेमाथाङको कुनै विशाल बरफको चट्टान फुट्न गयो । र त्यसबाट निस्केको विशाल परिमाणमा पानीले ठूल्ठूला चट्टानरढुङ्गा तथा हिलोमाटो बगाए । जसले तल्लो तटमा अवस्थित मेलम्चीको मानव वस्ती वा भौतिक संरचना ध्वस्त पारिदियो । पहिले भेमाथाङ वरपर क्षेत्र हिमखण्डले ढाकिएको थियो । अहिले ती ठाउँ खालीखाली छन् । दयाबाया किनारा धेरै काटेर बगेको हिमनदीले पनि प्रमाण हुन सक्छ यसको ।

यस्तो विषम वर्षालगायत बेमौसमी बिपत्ति निम्त्याउने अरु कोही नभएर पनि मानुष्य नै रहेछ । वैज्ञानिकहरूको मत छ – अन्धाधुन्ध प्रकृति दोहन र अत्याधिक जैविक इन्धन (कोइला, पेट्रोलियम पदार्थ र ग्यास) सहितको उर्जा खपत र कार्बन उत्सर्जन नै यो विषम वर्षाको कारण हो । तर पृथ्वी तात्दै गएपछि हुने जलवायु परिवर्तनबाट सबैभन्दा पहिला नेपाललगायत अविकसित देश र गरीब जनता मारमा पर्दैछन् । जो होचो उसैको मुखमा घोचो भन्ने उखान हामीमै लागू भैरहेछ ।


यो कस्तो आठौं आश्चर्य हो ? यो कस्तो प्रकृतिको न्याय हो ? अर्बौं खर्बौं लगानीले कंकृट संरचन र उद्योगधन्दाबाट वायुमण्डलमा अत्याधिक कार्बन उत्सर्जन गर्दै बढी कमाउने विकसित देशहरू । र सुख सुबिधा लिने पनि उनीहरू । तर बिपतको पहिलो मार र विनाशकारी जोखिमको सिकार भने नेपाली निमुखा बन्नुपर्ने ? जसले ज्यादै कम कार्बन उत्सर्जन गरेर मुस्किलले नगण्य लाभ लिन्छ ।
जलवायु परिवर्तनको उथलपुथलबाट जोगिन नेपाललाई एक वर्षमै १० खर्ब रुपैयाँभन्दा धेरैको लागत आवश्यक पर्नेरहेछ । जलवायु परिवर्तनका अस्वभाविक प्रभावसँग जुझ्न तथा क्षति न्यूनीकरण गर्नका निम्ति । न्यून आय तर व्यापक भ्रष्टाचार, कमजोर सुसाशन र नालायक नेताले भरिएको नेपालले कसरी थेग्न सक्ला, यो भीमकाय भार ? म्याडग्यास्करू जलवायु परिवर्तनका कारण उत्पन्न संसारकै पहिलो चरम बितन्डा बेहोर्नुपरेको र भोकमरीको सँघारमा पुगेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । चार वर्षदेखि खरेडी परेपछि देशको दक्षिणी भेगमा बस्ने कृषकहरू बाँच्नका लागि कीराफट्याङ्ग्रा र सिउँडीको पात खान बाध्य भएका छन् । यहाँका मानिसहरूले पनि जलवायु परिवर्तन गराउन त्यस्तो केही कुकर्म गरेका छैनन् । उनीहरू कार्बन उत्सर्जनका कुनै इन्धनसम्म बाल्दैनन् ।

विषम वर्षा र खडेरीका कारण जीवनयापन पहिलेजस्तो सामान्य कतै छैन संसार भर अहिले । डढेलो, प्रचण्ड गर्मी र अचानक आउने बाढीजस्ता मौसमी बितण्डाले नयाँ नयाँ रेकर्डहरू बनाउदै विश्वभरि विनाश मच्चाइरहेका छन् । जस्तै, गत जुलाई १९ मा चिनियाँ सहर जङ्जोमा एकैदिनमा (६२४ मिलिमिटर) एक वर्षमा हुने वर्षा भयो । त्यसको एक साताअघि चीनमा जस्तै पश्चिमी जर्मनीमा पनि उच्च वर्षा भयो । जसबाट उत्पन्न विनाशकारी बाढीले भयंकर क्षति पुर्‍यायो ।

क्यानडामा गत जुन महिना अहिलेसम्मकै सबैभन्दा बढी तातो (४९.६ डिग्री सेल्सीअस) ले नयाँ कीर्तिमान बनायो । त्यस्तै त्यही महिना मै उत्तर अमेरिकी सहरहरूमा तापक्रमका हजारौं रेकर्डहरू भङ्ग भए । अहिले दुवै देशले रेकर्ड तोड्ने खालका डढेलो खेपिरहेका छन् । गत वर्षको अगस्टदेखि हरेक महिना भारतको राजधानी दिल्लीले कम्तीमा एउटा मौसमसम्बन्धी रेकर्ड तोड्दै आइरहेको छ । अरुको के कुरा ? विश्वकै सबैभन्दा चिसो स्थानमध्येको साइबेरियामा समेत डढेलोको समस्या देखिएको छ ।

मानव निर्मित प्रदुषणका कारण दिनानुदिन औसत तापक्रम बढ्दो छ । करोड, लाख, हजार वर्षअघि पृथ्वी तातेको थिएन । जुनबेला मानिसले आवस्यकता पुर्ति गर्न आफ्नो पाखुराको प्रयोग गथ्र्यो । लागि जनावरको सहारा लिन्थे । यो पृथ्वी तात्न थालेको जम्मा ३ सय वर्षअघिबाट हो । पृथ्वीमा अर्बौं वर्षसम्म कुनै देश पनि थिएन । देशहरू त केही सय वर्षअघि मात्रै मानिसले बनाएका हुन् । जब देश बन्यो, अनि पूजी जम्मा गरेर धनी हुने होडबाजी चल्यो । उर्जाको राइदाइबाट पृथ्वी तातिन थाल्यो ।

आधुनिकीकरणको शुरुआतसंगै वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जन अत्याधिक थपिन थालेको हो । बीसौं शताब्दीको मध्यमा मात्र ५ अर्ब प्रतिवर्ष कार्बन उत्सर्जन थियो । सन् २००६ देखि अमेरिकालाई उछिनेर वायुमण्डलमा अत्याधिक कार्वन उत्सर्जन गर्ने देशहरूमध्ये पहिलो नम्बरमा उत्रेको छ चीन । अहिले वायुमण्डलमा यसको परिणामले ५१ अर्व टन काटिसक्यो । अहिलेकै अनुपातले विश्व वातावरण विनासमा अघि बढ्ने होभने सन् २०५० सम्ममा कार्वन उत्सर्जन करिब ५० प्रतिशत नै बढेर जाने निश्चित छ ।


जसबाट जलवायु परिवर्तनका जोखिम अनुमान गर्नै नसकिने किसिमको भीषण प्रभाव आगामी दिनमा पनि निरन्तर बढिरहने छ । पृथ्वी तातिदै जादा कृषि भूमि मरुभूमिकरण हुनेछ । मान्छेले नयाँ स्वास्थ्य चुनौती सामना गर्नुपर्ने छ । प्रकृतिको अगाडि पैसाको केही लछारपाटो लाग्दैन । र थप भयावह घटनाहरू आइलाग्ने चेतावनी वैज्ञानिकहरूले दिइरहेका छन् ।

तातो पृथ्वीमा यस्ता अनिष्टकारी र भयावह प्रभावबाट जोगिने र मानुष्यले यो पृथ्वीमा अस्तित्व राख्ने हो भने पृथ्वीको तातोलाई न्यूनीकरण नगरी सुक्खै छैन । कम्पुटर सफ्टवेयरको मौलिक सोचलाई विश्वव्यापी गरेर संसार कै धनी बनेका बिल गेट्सले ‘हाउ टु अभोइड अ क्लाइमेट डिजास्टर’ शीर्षकको किताब लेखेका छन् । उनले सम्बन्धित सबैलाई सोच्न बाध्य बनाउने यश बेष्ट सेलर किताबमा जलबायु परिवर्तनबाट उत्पन्न विपतसंग सामाना र आधुनिक जीवनयापनसंगै कार्बन उत्सर्जन शून्यमै झार्ने नयाँ उपायको खोजी छ ।


आफैले पृथ्वी तताएर आफ्नै उठिबास पार्ने अरु कोही नभएर मान्छे नै जिम्मेवार हुन् । यदि मान्छे नभएको भए पृथ्वी कस्तो हुन्थ्यो होला ? जीवनयापनका सुबिधाजन्य र उपभोग्य सामाग्री हुदैनथ्यो । हुदैनथ्यो – सिमेन्ट निर्मित भवन, कार, जहाज । शहरीया जीवन पनि हुदैनथ्यो । अन्धाधुन्ध प्रकृति दोहन र अत्याधिक कार्बन उत्सर्जनबाट वायुमण्डल तात्दैनथ्यो । र आजको अन्यौलको स्थिति आउने नै थिएन ।


त्यसबाहेक पृथ्वीमा हरेक निशुल्क उपलब्ध चिजबिजलाई मूल्य तोकिदैनथ्यो । जस्तो आज अक्सिजनलाई सिलिन्डरमा । पानीलाई बोत्तलमा । जमीनलाई इन्च–इन्चमा । र काठको फिट–फिटमा मूल्य तोकिदैनथ्यो । हुदैनथ्यो विभेद । अनि बनाउनु पर्दैनथ्यो बन्दुक । गर्नु पर्दैनथ्यो बमबारी पनि । न पुजीवादी हुन्थ्यो, न त समाजबाद नै हुन्थ्यो । हुन्थ्यो त प्रकृति साह्रै सुन्दर हुन्थ्यो । स्वस्थ स्वच्छ खानेकुरा हुन्थे । हुन्थे मान्छे सुखी । जीवन प्रकृतिनुसार चल्थ्यो । कुनै उतारचढाव बिना । मान्छेले सोच्दैनन् यो दुई दिनको जिन्दगीमा दुई दिनमात्र यो पृथ्वीमा हावा हरायो भने के हुन्छ ? यति मात्र सोचे पनि पृथ्वीप्रति मान्छेको अलि उदार हुन्थ्यो होला । मान्छेले आफु एक दिन मरेर रित्तो हात यो पृथ्वी छोड्नु पर्छ भन्ने यथार्थ मनन गरे पनि पृथ्वीप्रति मान्छेको दोहन कम हुन्थ्यो होला । तर कहाँ फुर्सद छ र आजको आधुनिक मान्छेलाई ? भौतिकवादमा आध्यात्मवाद छुटदैं छ । आफ्नापनको आभास मेटिदैछ ।

अगनसिंह थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *