राजन झा, जनकपुरधाम । २०७८ कार्तिक ०३, बुधवार

जनकपुरधाम । मोहम्मद जन्मोत्सवको अवसरमा जनकपुरधाममा हर्षोल्लासमय बाताबरण छाएको छ ।

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहे वस्सल्लमको जन्मदिनमा मनाइने “मोहम्मद डे” को अवसरमा जनकपुरका मुस्लिम समुदायको घरदेखि लिएर प्रार्थना गर्ने धार्मिकस्थल मस्जिदसम्म झकिझकाउ सजावटका साथ हर्षोल्लास छाएको हो।

मोहम्मद–डे का अवसरमा जनकपुरका मुस्लिम समुदायले आफ्नो परम्परा वमोजिम गरिब, असक्त अनाथ बालबालिकाहरुलाई दान दिने, घर–आगँन सरसफाई गर्ने, घरमा इस्लामीक झण्डा फहराउने, दिप–प्रज्वलन गर्ने, मोहम्मदको यादमा मिलादुन नबीको आयोजना गर्ने र त्यसको भोलिपल्ट मोहम्मदको गुणगान गर्दै जुलुस निकाली मोहम्मद जयन्ति मनाउने प्रचलन रहँदै आएको छ ।

मोहम्मद डे लाई ईद मिलादुननबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ । आमरुपमा नेपाली मुस्लिम समुदायले मोहम्मद जयन्ती भनेर मनाउने गर्दछ। १४९५ वर्ष पहिले अरब देशको मक्का शहरमा बनु हाशिम खानदानमा हजरत अब्दुल मुत्तलिबको घरमा बुवा हजरत अब्दुल्लाह र आमा हजरत अमिना रदिउल्लाह ताला अन्हुमाको कोखबाट २२ अप्रिल ५७१ ई वि मा हजरत मोहम्मद सलल्लाहु अलैहे वसल्लमको जन्म भएको हो। आज मोहम्मदको जन्मोत्सव १४९६ औं रहेकोे छ।

अरेबिक महिनाको रबिउल अब्बलको १२ तारिख सोमवारका दिन विहान सूर्य उदाउनु पूर्व हजरत मोहम्मद सलल्लाहु अलैहे वसल्लमको जन्म भएको हो । मोहम्मदको जन्म दिनलाई संसारभरमा मुस्लिम धर्मावलम्बीहरुले मोहम्मद–डे मनाउने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *