मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २६, मंगलवार

काठमाडौँ महानगरपालिकाको आठतले केन्द्रीय भवनको शिलान्यास भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले टेकु (हाल वातावरण विभाग रहेको ठाउँ)मा भूमिगत तलासहितको आठतले भवन शिलान्यास गर्नुभएको हो ।

सो भवन कुल तीन ३ हजार ८३ दशमलव ८२ वर्ग फुट क्षेत्रफलमा भवन निर्माण हुन लागेको हो । भवन ६ हजार ६८३ दशमलव ३३ वर्गमिटर क्षेत्रफलको हुनेछ । यसको अधिकतम ग्राउन्ड कभरेज ४० प्रतिशत हुनेछ । भवनमा १० जना क्षमताका दुईवटा लिफ्ट जडान हुनेछन् । भवन २०८० साल असोज मसान्तसम्ममा निर्माण सम्पन्न भइसक्नेछ ।

समानान्तर निर्माण सेवा प्रालिले ६९ करोड ५८ लाख १९ हजार ३५९ रुपियाँमा भवन निर्माणको जिम्मा पाएको छ । भवनको डिजाइन सहरी योजना आयोग र सिनर्जी इन्जिनियरिङ प्रालिले संयुक्त रूपमा तयार पारेको हो ।
शिलान्यासपछि प्रमुख शाक्यले भन्नुभयो, “सुरुमा हरिभवनमा केन्द्रीय कार्यालय बनाउने भनेका थियौँ तर मुद्दा–मामिलामा अल्झिनुपरेकाले त्यहाँ भवन निर्माणको काम थाल्न पाएनौ ।” मुद्दा किनारा लागेपछि भवनलाई पुनर्निर्माण गरिने उहाँले भन्नुभयो ।

त्यस क्रममा उहाँले साझा लाभका योजनामा जस लिन नपाउनेले विरोध गर्ने आचरण हाबी भएपछि महानगरले तर्जुमा गरेका धेरै योजना अघि बढ्न नसकेको र बढेका योजना पनि रोकिएको अनुभव सुनाउनुभयो । शाक्यले आगलागी नियन्त्रण गर्ने दमकल भवन निर्माण गर्ने योजनासमेत मुद्दा खेप्नुपरेको नमीठो अनुभव सुनाउनुभयो ।

सङ्घीय सांसद कृष्णगोपाल श्रेष्ठले समयमा भवन निर्माण सम्पन्न भएर नागरिकले सुविधासम्पन्न ठाउँबाट सेवा लिन पाउने अपेक्षा गर्नुभयो । सरकारका पात्र परिवर्तन भइरहन्छन् तर स्वीकृत कार्यक्रम नियमित चलिरहन्छ । यसको दिगोपनाका लागि कर्मचारीले चनाखो हुनुपर्ने बताउनुभयो । भवन भूूकम्पीय सुरक्षाका कोणबाट दरिलो र बाहिरबाट हेर्दा आकर्षक हुने उहाँको अपेक्षा गरिएको छ ।

कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, महानगरका नीतिको कार्यान्वयनबाट देखिने विकास महसुस हुन थालेको बताउनुभयो । वडा १२ का अध्यक्ष विकास डङ्गोलले आफ्नो वडामा महानगरको केन्द्रीय कार्यालय निर्माण हुनुले आफूलाई वडाध्यक्षका रूपमा गौरव महसुस भएको उल्लेख गर्नुभयो ।

करिब ६ रोपनी क्षेत्रफलमा बन्ने भवनको भूमिगत तलामा ३० वटा गाडी र ८० वटा मोटरसाइकल पार्किङ गर्न सक्ने ठाउँ हुनेछ । मेकानिकल प्रविधि प्रयोगबाट भूमिगत तलामा थप २५ वटा गाडी पार्किङ गर्न सकिनेछ ।

सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतका अनुसार भूकम्प प्रतिरोधी प्रविधि प्रयोग, वरिपरि खुला ठाउँ र मौलिक वास्तु शैली भवनका मुख्य विशेषता हुन् । प्रत्येक तलामा कार्यालय, बैठक हल, प्रशासन,कर्मचारी,आगन्तुक एवम् कार्यालय सञ्चालन र मर्मतका लागि आवश्यक स्थान छुट्ट्याइएको छ । इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पहुँचयोग्य शौचालय सुविधा र विपत्को समयमा प्रयोग हुन सक्ने आपतकालीन मार्ग तथा सुरक्षित भर्याङ भवनका थप विशेषता हुन् ।

आकाशे पानी सङ्कलन तथा सङ्कलित पानीको शुद्धीकरण प्रणालीसहितको रिचार्ज पिट डिजाइनमा समावेश गरिएको छ । भवनको जमिन तलादेखि सात तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुनेछ भने आठौँ तलामा दुई सय जना क्षमताको एउटा र एक सय क्षमताको एउटा गरी दुुईवटा छुट्टाछुट्टै सभा कक्ष निर्माण गरिनेछ । गेरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *