मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ११, सोमवार

सोमबार विहान काठमाडौंबाट विराटनगरका लागि उडान भएको बुद्ध एयरको एटीआर विमान काठमाडौं विमानस्थलमै सफल अवतरण भएको थियो । बिराटनगरका लागि विहान उडान भएको विमान १०:२८ मिनेटमा फेरि काठमाडौं विमानस्थलमै सफल अवतरण भएको हो ।

काठमाडौंबाट विराटनगर उडेको जहाज अवतरणमा भएको समस्याबारे बुद्ध एयरले आफ्नो स्पष्टीकरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार जहाजमा कुल ७३ जना यात्रु थिए । जहाज विराटनगर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इण्डिकेटरमा समस्या देखिएको थियो । त्यहाँको टावरले समेत गियर नझरेको जानकारी गरायो ।

त्यसपछि जहाज काठमाडौं फर्काउने निर्णय पाइलटले लिए । सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंका आकाशमा फन्को मारेको थियो । त्यसबेला सबै सुरक्षा मापदण्ड पूरा गरी जहाज सुरक्षित अवतरण गरेको कम्पनीले जनाएको छ ।

बुद्ध एयरका अनुसार जहाजमा ल्याण्डिङ गेयरका लागि दुई वटा इन्डिकेटर हुन्छन् । जसअनुसार प्राइमरी इण्डिकेटरमा संकेत नदेखिए पनि सेकेन्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको थियो । यसरी सेकेण्डरी इन्डिकेटरमा बत्ती बलेको अवस्थामा पनि ल्याण्डिङ गियर खुलेको मानिन्छ ।

सुरक्षामा शून्य सहनसिलता अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौं फर्काउने निर्णय लिएको कम्पनीले जनाएको छ । काठमाडौं आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दिइएको थियो । सोही अनुसार जहाज सुरक्षित अवतरण गराइएको छ । यस क्रममा यात्रुमा परेको असुविधाप्रति कम्पनीले क्षमा मागेको छ । सुरक्षित हवाई यात्राको प्रतिवद्धता समेत कम्पनीले गरेको छ ।

विमानस्थलमा बुद्ध एयरको विमान अवतरण हुनुअघि दमकल र एम्बुलेनस तैनाथ गरिएको थियो । त्यसैगरी बुद्ध एयरको सोमबार विहान काठमाडौँबाट पोखरा गएको विमानमा पनि सोही समस्या देखिएको थियो । काठमाडौंबाट उडान भएको विमानमा इन्डिकेटरमा समस्या देखिएपछि पुनः काठमाडौंमै अवतरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *