मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २५, शुक्रवार

पशुपतिनाथको मूल मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषको आयोजनामा बिहीबार क्षमा पूजा गरेपछि शुक्रबार बिहान ५ः३० बजेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएको हो ।

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार क्षमापूजा गरेर आजदेखि मन्दिर सर्वसाधारणका लागि खुला गरिएको हो । ‘‘मूल मन्दिर परिसर आज विहान साढे ५ बजेदेखि खुला गरिएको छ । स्वास्थ्य प्रोटोकल अनिवार्य रुपमा पालना गनुपर्ने छ । अहिले कोरोना संक्रमण फैलने जोखिम कायमै रहेकाले दिउँसो १ बजेसम्म मात्रै मन्दिर खुला गरिनेछ,” उनले भने ।

कोषका अनुसार एकपटकमा २५ जनाभन्दा धेरै भक्तजनलाई मन्दिर प्रवेश गराइने छैन । यसका लागि कोषले एउटा ढोकाबाट प्रवेश गर्ने र अर्को ढोकाबाट निस्कने व्यवस्था मिलाएको छ ।

कोरोना महामारीका कारण विसं २०७७ र २०७८ साउन एवं हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मूल मन्दिर बन्द भएको छ । आजदेखि पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि भक्तजनका लागि खुला गरिने कोषले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *