मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २१, सोमवार

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले महिलालाई उद्यमसँग नजोडेसम्म मुलुकको अर्थतन्त्रले गति लिन नसक्ने बताएका छन । नेपाल महिला उद्यमी महासङ्घले भदौ १७ गतेदेखि सुरु गरेको ‘पाँचौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०७८’को समापनमा उनले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन महिलालाई उद्यमसँग जोड्नुपर्ने बताएको हो ।

“मेलाले महिला उद्यमीलाई क्षमतावान बनाउँदै अनलाइनमार्फत उत्पादित वस्तु बिक्री वितरण गर्नु राम्रो कुरा हो, यसले मुलुकको अर्थतन्त्रलाई चलायनमान बनाउन सहयोग पुगेको छ,” उनले बताए ।

अझै पनि ९० प्रतिशत महिला घरयासी काममै रहेको र अहिले मुलुकमा महिलाको स्वामित्वमा रहेका संस्थाको सङ्ख्या दुई लाख ५० हजार पुगेको भन्दै यसले महिलालाई आर्थिक रूपमा सशक्त बनाउँदै लैजाने बताए ।

व्यापार निकासी प्रवद्र्धन बोर्डका निमित्त कार्यकारी निर्देशक सुयस खनालले कोरोना महामारीका बीचमा गरिएको महिला उद्यम मेलाले आगामी दिनमा हुने भर्चुअल मेलालाई सहयोग पुग्ने बताए । उनले बोर्डले नेपालका उद्यमीको जानकारी दिने उद्देश्यले ‘ट्रेड पोर्टल’ सञ्चालनमा ल्याएको भन्दै यसमा जोडिन सम्पूर्ण महिला उद्यमीलाई आग्रहसमेत गरे।

महासङ्घकी अध्यक्ष रिता सिंहले पाँच दिनसम्म चलेको मेलामा एक लाखभन्दा बढीले मेलाको अवलोकन गरेको जानकारी गराइन। कोरोना महामारीका बीच गरिएको भर्चुअल मेलामा उल्लेख्य जनसहभागिता जुटेको उनको भनाइ थियो ।

महासङ्घकी प्रथम उपाध्यक्ष एवं मेला संयोजक निरु रायमाझी खत्रीले मेलाले नेपाली उत्पादित वस्तुलाई अन्तर्राष्ट्रियस्तरसम्म जोड्न सहयोग पुगेको बताईन । महासङ्घकी द्वितीय उपाध्यक्ष शोभा ज्ञवालीले मेलामा उपत्यकाभित्र र काभ्रेबाट माग भएका सामग्रीलाई महासङ्घले डेलिभरी प्रदान गरेको बताईन । उक्त मेलामा विभिन्न उत्पादित वस्तुको ८२ प्रदर्शनी कक्ष राखिएको थियो ।

महासङ्घकी महासचिव सुनिता वैद्य श्रेष्ठले मेलामा हस्तकला, रेशाजन्य, फेल्ट, कागजजन्यलगायत वस्तुहरू प्रदर्शनमा राखिएको जानकारी दिईन । हाल देशभर ५७ जिल्लामा महिला उद्यमी सङ्घ गठन भए पनि पाँचौँ मेलामा भने २४ जिल्लाका महिला उद्यमी सङ्घको सहभागिता रहेको थियो । उक्त मेलामा जिल्लातर्फ महिला उद्यमी सङ्घ गोरखा प्रथम, महिला उद्यमी सङ्घ सङ्खुवासभा द्वितीय र महिला उद्यमी सङ्घ बाँके तृतीय भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *