मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २१, सोमवार

आइतबार रातिबाट परेको अविरल वर्षाका कारण उपत्यकाका विभिन्न स्थानमा गरि ३८२ घर डुबानमा परेको छ । प्रहरीले बाढीबाट प्रभावितको राति देखि नै उद्धार गर्दै आएको छ ।

करिब चार सय घर डुवानमा परेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । राठौरका अनुसार उद्धार गरिएकामा काठमाडौंबाट दुई सय ३५ र ललितपुरबाट १५ जना रहेका छन् ।

मनोहरा खोला किनारमा रहेको मूलपानीको बस्ती, काँडाघारी र बल्खु क्षेत्रबाट उद्धार गरिएको राठौरले जानकारी दिए । अन्य ठाउँमा डुबानको समस्या हटेको र मनोहरा खोला किनारामा उद्धार भइरहेको उनले बताए ।

वर्षाका कारण खोला छेउका सुकुम्वासी बस्ती र होचो ठाउँ डुबानमा परेका छन् । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो । गएराति टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुललगायतका क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ। डुबानबाट मानवीय र भौतिक क्षति भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *