जेठ २६ २०७८ | कृष्ण सिंह | सर्लाही
मानव संस्कार सेवा समिति सर्लाही,मलंगवाले हुलाकी राजमार्ग अन्तर्गत पर्ने सर्लाहीको सदरमुकाम मलंगवा र ब्रह्मपुरी गाउँपालिका भेल्ही गाउँको बिचमा रहेको झिम नदीको किनारमा बन्दै गरेको मन्दिरसहितको शवदाह गृह (स्वर्गद्वार) को निर्माणकार्यमा स्थानीय केही ब्यक्तिहरुले हस्तक्षेप गरि फर्जी उपभोक्ता समिति गठन गरि आर्थित अनियमितता गरेको भन्दै आपत्ती जनाएका छन् ।संस्थाको ११ सदस्यीय संस्थापक सदस्यहरुले संयुक्तरूपमा हस्ताक्षर गरी जारी गरिएको प्रेस विज्ञप्तिमार्फ आपत्ती जनाएका हुन्।
मलंगवा न.पा र ब्रह्मपुरी गा.पा अन्तर्गत तथा आसपासका गाउँहरुबाट शवको दाहसंस्कार गर्न आउने एकमात्र प्रमुख स्थान झिम नदी रहेको र सो स्थानमा वर्षातको समयमा नदीमा बाढी आउँदा शव जलाउन समस्या परेको महसुस गर्दै गएको २०७३ सालमा स्थानीय समाजसेवीहरु मिलेर दर्ता गरेको मानव संस्कार सेवा समिति मलंगवाले आफ्ना ११ सदस्यीय संस्थापक सदस्यहरु सँग २५-२५ हजार रुपैया चन्दा स्वरुप रकम संकलन गरी झिम नदीको किनारमा जग्गा खरिद गरि संयुक्तरूपमा शिलान्यास गरि शवदाह गृह (स्वर्गद्वार) निर्माणको थालनी गरेका थिए ।उक्त शवदाह गृह निर्माणका लागि सुरुवातमा मलंगवा नगरपालिकाले प्रदान गरेको ८ लाख रुपैया संस्थागत रुपमा खर्च गरिएको भए पनि त्यसपछि आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश-२ सरकारबाट प्राप्त भएको २० लाख रुपैयाँ स्थानीय केही ब्यक्तिहरुले मनपरि ढंगले उपभोक्ता समिति गठन गरि आफुखुसी खर्च गरेको र सोको बारेमा संस्थालाई कुनै किसिमको जानकारी नगराएको र खर्च गरिसकेर बाँकी बचेको ४ लाख भन्दा बढी रकम संस्थाको नाममा नेपाल बैंक लिमिटेडमा रहेको खाता न ०२९००१०६२४९४१५०००००१ मा जम्मा नगरी नवनित अग्रवालले हालसम्म आफुसँगै राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चालु आर्थिक वर्ष २०७७/०७८ मा पनि प्रदेश २ सरकारले पठाएको ५० लाख रुपैया र स्थानीय मनकारी ब्यक्तिहरुबाट चन्दा स्वरूप उठाएको झण्डै १६ लाख रुपैयाँ पनि फर्जी उपभोक्ता समिति मार्फत खर्च भइरहेको र यसबारे संस्थाले भर्खरै मात्र जानकारी पाएको र संस्थाको नाम बेचेर भइरहेको आर्थिक अनियमितता प्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएकोले यस किसिमको कार्य तत्काल रोक्न विज्ञप्तिमार्फ संस्थाले चेतावनी दिएको छ । शवदाह निर्माणको काम अहिले धमाधम रुपमा चलिरहेको छ ।उक्त मन्दिरसहितको शवदाह गृहको निर्माण संस्थाले प्रस्तावित गरेको नक्सा बमोजिम नभइ त्यसको विपरीत भइरहेको संस्थाका संस्थापक अध्यक्ष अशोक अशोक अग्रवालको आरोप छ ।समाजको हितको लागि भइरहरको काममा अहोरात खट्दै आएका स्थानीय समाजसेवी, आर्थिक सहयोग गरेका प्रदेश सरकार, नगरपालिका,गाउँपालिका तथा मनकारी ब्यक्तिहरुलाई धन्यवाद दिदै उहाँले सामाजिक कार्य प्रति आफुहरुको कुनै आपत्ती नरहेको तर सामाजिक काम र समाज सेवाको नाममा संस्थाको नाम बेचेर भइरहेको पैसाको चलखेल र अनियमितता प्रति आफुहरुको आपत्ती रहेको अध्यक्ष अग्रवाले बताउनुभयो ।
निर्माणाधिन अवस्थामा रहेको शवदाह गृह सार्वजनिक सम्पत्ति रहेकोले यसलाई पुर्णता दिन सबैको साथको आवश्यक्ता रहेकोले आआफ्नो स्तरबाट आर्थिक सहयोग गर्न चाहने ब्यक्ति तथा संस्थाले पैसा ब्यक्तिको हातमा नदिई नेपाल बैंक लिमिटेडको खाता न- न०२९००१०६२४९४१५०००००१ मा जम्मा गर्न सोही प्रेस विज्ञप्तिमार्फ जानकारी गराउँदै उहाँले स्थानीयबासीहरु सँग आग्रह गर्नु भएको छ । शवदाहको निर्माणकार्य पूरा भएपछि सो क्षेत्रका १ दर्जन भन्दा बढी गाउँका बासिन्दाहरुलाई शवको दाहसंस्कार गर्न सुविधा पुग्ने छ ।