मुलुक डेस्क, महोत्तरी । २०८२ कार्तिक २१, शुक्रवार

महोत्तरीको मनरा शिसवा नगरपालिकाको सदरमुकाम मनरामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालय मनरामा नवगठित बाल क्लबले आज विद्यालयमा बृहत् सरसफाइ कार्यक्रम गरेको छ ।

बाल क्लबको अध्यक्ष चन्दन साह सचिव प्रेम कुमार साह सदस्यहरू रुपेश चौरसिया, राजेश साह, आदित्य मण्डल सहित विद्यालयका सम्पुर्ण विद्यार्थीहरुको सहकार्यमा विद्यालयको मैदान, कक्षाकोठा र मुलगेटको बृहत् सरसफाइ गरिएको संयोजक शिक्षकद्वय काजिमान विश्वकर्मा र प्रमोद यादवले जानकारी गराए।

आजको सरसफाइ कार्यक्रमको शुरुवात विद्यालयका सहायक प्रधानाध्यापक रन्जित कुमार सिंहले झारु लगाएर गरेका थिए । बाल क्लबको आयोजनामा सम्पुर्ण विद्यार्थी, शिक्षक, प्रधानाध्यापक र श्री दुर्गा क्याम्पस मनराको सहायक क्याम्पस प्रमुख संजीव सिंहको सक्रियता र पहलमा सफलतापुर्वक आजको कार्यक्रम सम्पन्न भएको जानकारी सहायक प्रअ सिंहले बताए ।

विद्यालयको सरसफाइ, सौन्दर्यीकरण, वृक्षारोपन, शौचालय सरसफाई, पानी र बोटबिरुवाको रेखदेख, सांस्कृतिक कार्यक्रम, हाजिरी जवाफ, लाइब्रेरी व्यवस्थापन, काउन्सेलिङ, चित्रकला, उद्यमशिलता, जनचेतनामूलक कार्यक्रम, दाइजो प्रथा न्यूनीकरण लगायतको विषयमा बाल क्लबले कार्यक्रम गर्ने कार्य योजना रहेको सचिव प्रेम कुमार साहले बताए । यसका साथै नगरपालिका भित्र रहेको विद्यालयसंग र पालिका तथा जिल्लाको समन्वयमा पनि विविध कार्यक्रम गर्ने योजना रहेकोे सचिव साहले बताए ।