मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २३, शनिवार

घाटामा रहेको भारतीय राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी एअर इन्डियालाई देशकै सबैभन्दा ठूलो व्यावसायिक समूहमध्ये एक टाटाले खरिद गरेको छ।

भारत सरकारले टाटालाई दुई अर्ब ४० करोड अमेरिकी डलरमा एअर इन्डिया बिक्री गरेको जनाइएको छ। कुल ९.५ अर्ब अमेरिकी डलर घाटामा रहेको एअर इन्डियालाई भारत सरकारले लामो समयदेखि बेच्ने प्रयास गरिरहेको थियो।

सन् १९३२ मा टाटा समूहले नै एअर इन्डियाको स्थापना गरेको थियो। तर भारत सरकारले यसलाई सन् १९५३ मा आफ्नो स्वामित्वमा ल्याई सञ्चालन गरिरहेको थियो।

एअर इन्डियासँग थुप्रै सम्पत्ति छ जसमा १३० भन्दा विमानदेखि हजारौँ प्रशिक्षित विमानचालक र चालक दलका सदस्य समेत छन्।

भारतमा टाटा समूहले दुई वायुसेवा कम्पनी सञ्चालन गरिरहेको छ । सिङ्गापुर एयरलाइन्ससँगको सहकार्यमा सञ्चालन गरिएको भिस्टारा र मलेसियाको कम्पनी एअर एशिया बीएचडीसँगको सहकार्यमा सञ्चालन गरिएको सस्तो उडान सेवा उपलब्ध गराउने एअर एशिया इन्डिया उक्त कम्पनीले सञ्चालन गरिरहेको छ।

सन् २००१ मा पनि भारतीय जनता पार्टी नेतृत्वको सरकारले इन्डियन एअरलाइन्सको ४० प्रतिशत स्वामित्व बेच्ने प्रयास गरेको थियो। त्यस बेला लुफ्थान्सा, ब्रिटिश एअरवेज र सिङ्गापुर एअरलाइन्सले खरिद गर्ने मनसाय देखाएका थिए। तर सेयर प्राप्त गर्नका लागि विदेशी कम्पनीहरूले भारतीय कम्पनीहरूसँग अनिवार्य रूपमा सहकार्य गर्नुपर्ने प्रावधान सरकारले राखेपछि पछि उनीहरू पछि हटे।

सन् २०१८ मोदी सरकारले कम्पनीको ७६ प्रतिशत सेयर र घाटाको केही अंश बिक्री गर्ने प्रयास गरेको थियो। तर सम्भावित खरिदकर्ताहरूका लागि त्यसका सर्तहरूका कारण आकर्षित भएनन्।

एअर इन्डियाको आकर्षण:

एक सय ३० विमानबाहेक एअर इन्डियाका नयाँ मालिकले भारतभरिका विमानस्थलमा ४,४०० आन्तरिक र १,८०० अन्तर्राष्ट्रिय अवतरण र पार्किङ स्थल नियन्त्रण गर्नेछन्।

त्यस्तै भारत बाहिरका विमानस्थलमा ९०० त्यस्ता स्थल छन्। जसमध्ये लन्डनको हिथ्रो विमानस्थलको आकर्षक पार्किङ स्थलहरू पनि पर्छन्।

त्यसबाहेक एअर इन्डियाका करोडौँ अमेरिकी डलरका घरजग्गा छन्। गत वर्ष यसका अचल सम्पत्ति छ अर्ब अमेरिकी डलर बराबरका थिए।

वायुसेवासँग ४०,००० भन्दा बढी कलाकृतिहरू रहेका छन्। तीमध्ये केही निकै बहुमूल्य रहेका छन्।

भारतमा हवाई यात्रुको सङ्ख्या बर्सेनि २० प्रतिशतले बढिरहेको समयमा टाटा समूहका लागि एअर इन्डिया राम्रो लगानी हुनसक्ने विज्ञहरू बताउँछन्। बिबिसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *