Coronavirus death in India: How to handle Covid-19 dead bodies -  Information News

हेमलता सुवेदी | २०७८ भाद्र ०९

परिवर्तन समयको माग हो । र समयले परिवर्तनसंगै बदलिँदो परिवेशको कहानी भन्ने गर्दछ । समयभन्दा बलवान र प्रकृतिभन्दा शक्तिशाली केहि एवं कोही हुन सक्दैन भन्ने शाश्वत सत्यलाई वर्तमान विश्वमा भई रहेको प्राकृतिक ताण्डवले प्रष्ट पारेको छ् । निरन्तर गईरहेको बाढी, पहिरो, भुईचालो महामारी आदिले यसलाई प्रमाणित गरी राखेको छ । महामारीको कुरा गरौ भने कोभिड १९ ले आफ्नो रुप परिवर्तन गर्दै झन झन विकराल रुप लिदै गएको कुरा सर्वत्र ज्ञात छ । कोरोना महामारीमा सधैभरि निर्द्धक्क निस्कने मानव घरभित्र बस्न बाध्य छन । यद्यपि कोभिडको उत्पति जैविक अथवा कृत्रिम हो भन्ने कुरा विभिन्न संचार माध्यमद्वारा विवादास्पद समाचारहरु प्रकाशित भईरहदा केहि हदसम्म प्राकृतिक विपत्तिहरु प्रकृतिमाथिको दोहनको परिणाम अवश्य हो । प्रकृतिमा रहेका जीवजन्तु, बोटबिरुवा, पशुपंक्षी हरेकलाई विनास नगरी आफ्नो काल खण्डमा आफ्नै गतिमा हिड्न दिएर प्रकृतिमा सन्तुलन ल्याउन जरुरी छ । वर्तमान समयमा कोभिड १९ ले झन आफ्नो रुप परिवर्तन गर्दै विकराल बन्दै गएको अवस्थामा समस्त मानव जगतले आफ्नो प्रकृति प्रदत्त स्वभावलाई बुझ्न नितान्त आवश्यक छ ।

ग्लोबलाईजेसनले सारा देशलाई एकै ठाउँमा ल्याएर सारा मानव जगत एक हो भनी प्रमाणित गर्दा पनि केहि शक्तिशाली देशहरुले दरिद्रतापुर्ण मानसिकता र सोचका कारणले शक्ति र धर्मको आडमा अझ पनि अराजकता अशान्ति फैलाई राखेकै छन् । अशोभनीय झुठो दम्भ र शक्तिको प्रर्दशनले विनास मात्र निम्ताई राखेको देखिन्छ जुन मानव जगत विरुद्ध निन्दनीय कार्य मात्र हो । ग्लोबलाईजेसनमा विकासको गतिलाई हेर्दा आधुनिक शैक्षिक प्रणाली र प्राविधिक ज्ञान विज्ञानले सारा संसारलाई आफ्नो अधिनमा लिएर हिड्न सक्ने सामर्थ राख्न सक्छ भन्ने शक्तिशाली सोचलाई केहि हदसम्म कोरोना जस्तो महामारीले परास्त पारेर प्रकृतिले आफ्नो बलियो उपस्थितिलाई छर्लङ्ग पारी दिएको छ ।

प्राकृतिक असंतुलनलाई विज्ञानले नियन्त्रण गर्न सक्दैेन र अति भए पछि प्रकृतिले नै दण्डका रुपमा मानव जातिलाई केहि हदसम्म सजाय दिएको कुरालाई नकार्न न सकिने कुराको उदाहरणले वर्तमानका पुस्ता र प्रकृति विरोधीलाई यो एउटा दरिलो प्रमाण भएको छ । यसबाट मानिसले आफ्नो चेतनामा परिवर्तन ल्याएर स्वंयलाई आफनो गुण र स्वभावतिर उन्मुख गराउनु जरुरी छ् । जीवनशैलीलाई ब्यवस्थित गर्दै समय अनुसार सहजता र अनुकूलताको व्यवहार अपनाउनु पर्दछ । ज्ञान एवं विवेकले वर्तमानको विषम परिस्थितिलाई सफलतासाथ पार लगाउनु पर्दछ । सबैले आ-आफ्नो दिनचर्या, जीवनशैली, आध्यात्मिक चिन्तन, ध्यान ,योगा, आहार-विहारमा ध्यान दिदै दिनचर्या र ब्यवहारमा परिवर्तन ल्याउन जरुरी छ जुन सान्दर्भिक पनि छ । फलस्वरूप, नश्वर भौतिक जगतमा मानव जीवनको सार्थकता र प्रकृति, जीवन जीउनुको सत्यता र स्वभावलाई बुझ्न र पहिचान गर्नमा ध्यान, योगा, प्राणयाम जस्ता अभ्यासहरु नितान्त आवश्यक विधा हुन । जसको दैनिक अभ्यासले मानव स्वभावमा परिवर्तन ल्याउन पुर्ण रूपमा सहायकसिद्ध भएका उदाहरणहरु छन् जुन धेरै महत्वपूर्ण ज्ञान हो ।

मानिसहरु आफ्नो भित्रको परिवर्तनलाई सबल बनाउन सक्षम् भए हरेक विषम परिस्थितिसंग लड्न सफल हुनेछन् । यस महामारीले सम्पूर्ण मानव जगतलाई दर्दनाक पिडा दिइ राखेको अवस्थामा हरेकले आफ्नो जीवन शैलीलाई अनुशासनपूर्ण रुपमा पालना गर्दै र प्रकृतिको संरक्षण गर्दै अगाडि बढे भने यस दुर्गतीबाट बच्न मानव जगत धेरै हदसम्म सफल हुनेछ । परिवर्तनशील र अनुसाशित जीवनशैलीले वर्तमान महामारीसंग लड्ने हौसला प्रदान गर्न सक्छ भन्ने पाठ यो महामारी रोगले थोरै भए पनि सिकाउदै गएको छ । यो कोभिड-१९ ले सम्पूर्ण मानव जगतलाई एउटा उज्यालो एवं परिवर्तनशील समयको आभास गराउन सक्षम् हुनेछ भन्ने कुरा परिवतर्नशील समयले अवश्य देखाउने छ । किनभने समय आफैमा पनि परिवर्तनशिल छ्, बलवान् छ् । समयसंगै मानव पनि परिवर्तन हुने गर्दछ । परिवर्तन मानवको स्वभाव पनि हो र बाध्यता पनि हो।

हेमलता सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *