डा. मनोज मुक्ति “विवेक”, काठमाडौं । २०७८ भाद्र ०५, शनिवार
राजनीति राज्य संचालनका लागि अपनाईने नीति हो । समाजलाई अग्रगमन, सुशासन, सभ्य, समृद्ध बनाउने नीति हो । राजनीतिले देश, समाज, ब्यक्ति र राज्यलाई प्रत्यक्ष प्रभावित गर्दछ, त्यसकारण राजनीतिक ब्यक्तिको ब्याक्तित्व र उसको आचार, बिचार, संस्कार, प्रवृत्ति, भाषाले देश, समाज, राज्य र जनताकोभुत,वर्तमान र भविष्यलाई गम्भीर प्रभाव पार्दछ ।
राजनीति माटो सुहाउँदो हुनुपर्छ । देश, काल, परिस्थितिको सुक्ष्म विश्लेषण गर्दै देश, समाज र जनताको लागि गरिनुपर्छ । राजनीति ब्यक्तिवाद, जातिवाद, नातावाद, कृपावाद, चापलुशीवाद, आर्थिक केन्द्रित, मनोगतवाद केन्द्रित हुनुहुँदैन । तर नेपालको परिवेशमा त्यसको ठिक उल्टो छ । नेपालको राजनीति आक्रोश, प्रतिशोध, षड्यन्त्र, दम्भ, भ्रष्ट, दिशाहिनको साथसाथै अराजक तथा आर्थिक आतंकवाद केन्द्रित हुँदै राज्य संरक्षित एवं संस्थागत हुँदैगएको सहजै महसुस गर्न सकिन्छ।
बिगत ३२ वर्षको नेपाली राजनीतिलाई सुक्ष्म विश्लेषण गर्ने हो भने राजनीतिले नेपाली समाजलाई अन्धकार र असहिष्णु, इतिहासलाई कलंकित पार्ने, भूगोललाई अतिक्रमित, धर्म संस्कृति र परम्परा एवं शिष्टाचार-भाईचारालाई ध्वस्त पार्दै उदण्डतालाई प्रसर्य गरेको देखिन्छ ।
समाजवादको नाममा नेतावाद, गणतन्त्रको नाममा लूटतन्त्र, समृद्धिको नाममा विध्वंस, संघीयताको नाममा कार्यकर्ता भर्ती
तथा पोषण एवं विकेन्द्रीकृत भ्रष्टाचार, सुशासन-न्याय-समानता र समावेशीताको नाममा परिवारवाद-दलगतवाद-चापलुसीवाद र लम्पसारवाद संस्थागत हुँदै आजको दिनमा राज्य सत्ताको अमुक अंग बनिसकेको अवस्था छ ।
हाम्रा राजनीतिक नेतृत्वले परिवर्तन, अग्रगमन, क्रान्तिको नाममा हामीलाई हाम्रो इतिहास, संस्कृति, संस्कार, भूगोलकै बलिदिन लगाए । हामी भावनामा बहेर होस या दल-दलमा रमाएर वा एक ग्लास लोकल रक्सी र दुई चोकटा मासुको भरमा भोलिको कुनै चिन्तै नगरी जे पनि गर्न तयार हुन्छौं । आज हामी यतिसम्म बुद्धि भ्रष्ट भयौ कि हामी हाम्रो दुश्मन आफै छौ ।
स्वेच्छाचारीता, ब्यक्तिवादी, संकिर्णता,असंवेदनशीलता हाम्रो पहिचान बन्दै छ। अब देश बचाउने हो भने हामीले गम्भीर समीक्षा गर्नै पर्छ । भुत र वर्तमानलाई भविष्यसंग दाँज्नै पर्छ । पागल मानसिकता, परिवारवाद, दम्भवादको भुमरीमा फँसेको नेपाललाई निकास दिन सडक तताउनै पर्छ । सचेत विद्रोह र बलिदानीपूर्ण संघर्षका लागि आफुलाई तैयार गर्नैपर्ने हुन्छ ।
अमूक नेताले बोलेको वा भनेको भरमा विश्लेषण गर्ने र बोली/व्यबहारमा उतार्ने परिपाटी सबैका लागि र संधैका लागि बन्द गर्नु पर्छ । खण्डित एवं गुलाम मानसिकतावादि नेतृत्व, पद-पैसाका लागि मरिहत्ते गर्ने र परिवार-नातागोता-समगोत्री-समजाती विशेषका लागि मात्र राजनीति गरेका र गरिरहेका वर्तमान राजनीतिक नेतृत्वलाई यथोचित परास्त गर्नुपर्छ । हिजोसम्म दुई छाक खान र बस्न छाप्रो तथा लगाउन राम्रो लुगा समेत नरहेकाहरुले मात्र ३२ वर्षमा त कोहीले १५ वर्षमा त कोहीले ५ वर्षमा नै कुनै ब्यापार/ब्यबसाय नै नगरि अर्वौं-खर्बौं का मालिक कसरी बने त्यसको छानवीन हुनुपर्छ ।
बैदेशिक भ्रमणमा दैनिक रु.५० लाखसम्मको खर्च र एक भ्रमणमा मात्रै रु.५ करोडसम्म खर्च गर्छन । पुष्पकमल दहाल “प्रचण्ड” सपरिवार निजी खर्चमा युएई, दुबई जाँदा विश्वकै सबैभन्दा महंगो एवं सुविधासम्पन्न होटेलको खर्च होस वा खडगप्रसाद शर्मा ओलीको निजी खर्च मै सिंगापुरमा उपचार ? खर्च कसरी र कहाँ बाट भयो ? पार्टी र दल संचालनमा हुने खर्च ब्यवस्थापन ? चुनाव खर्च ? लगायत अन्य थुप्रै थुप्रै प्रश्न र प्रश्नचिह्नहरु छन जुन हामीले हिसाबकिताब गर्नसक्नु पर्छ ।
अन्त्यमा, कोरोना माहामारिमा सचेत होऊँ र सचेत रहौं ! बर्तमान नेपाली राजनीतिक परिपाटी र नेतृत्वका कारण कुनै दिन बिहान सुतेर उठदा हामी अर्कै देशको नागरिक हुन नपरोस् ?
( लेखक जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष हुन् )