मुलुक डेस्क, बाँके । २०७८ साउन ५, मंगलबार
नेपालका विकट क्षेत्रहरुलाई चिनाउन ‘कर्णाली’को उपमा दिइन्छ । स्थानीय तहको निर्वाचनअघि बाँके जिल्लाको राप्ती नदी पूर्वको भेगलाई पनि ‘बाँकेको कर्णाली’ उपनामले चिनिन्थ्यो । कारण लामो समयसम्म राप्ती नदीमा सडक पुल बन्न सकेको थिएन । यो क्षेत्र बघौडा भनेर पनि चिनिन्छ । अति बिकट यो क्षेत्रमा स्थानीयबासीले नेपाली भाषा नबुझ्ने, नेपाली पैसा नचल्ने, बर्षायाममा सदरमुकामसम्म आउन भारतीय भूमि प्रयोग गर्नुपर्ने आदि बाध्यता छ ।
हुलाकी सडक बने लगत्तै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको यस नेरैनापुर क्षेत्रमा चहलपहल बढ्दै गएको छ । कोरोना कहरको थकान र तराईको चर्को गर्मी छल्न यतिबेला नरैनापुरस्थित सन्तानेश्वर मन्दिरमा पनि चहलपहल बढेको छ । पर्यटन प्रवर्द्धन गर्न ‘भिजिट नरैनापुर–२०२१’ सञ्चालन नीतिसमेत ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।
यसै नीतिअनुरूप पहिलो चरणको कार्यक्रममा सन्तानेश्वर महादेव मन्दिरसम्म पैदल यात्रा सुरु गरिएको हो । नेपालगन्जदेखि लालपुरसम्म २५ किलोमिटर पक्की सडक छ । त्यहाँबाट ८ किलोमिटर पैदल हिँडेपछि सन्तानेश्वर मन्दिरमा पुगिन्छ । नरैनापुर गाउँपालिकाको कोहला गाउँको जंगलमाथि पहाडको चुचुरोमा रहेको यो शिव मन्दिर हो । गत शनिबारमात्रै ५ हजार भन्दा बढी पैदल यात्रुले मन्दिरको दर्शन गरेका छन् । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह आफैं पनि पैदल यात्रामा सहभागी भई पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा सरिक भएका छन् ।
पछिल्लो समय सन्तानेश्वर मन्दिरमात्रै होइन, नरैनापुरलाई चिनाउने अन्य ठाउँहरू पनि विस्तारै मान्छेको नजरमा पर्दै छन् । मन्दिरका महन्त ८६ वर्षीय योगानन्द गिरी उर्फ पहाडी बाबाले यो ठाउँमा विसं. १९३५ मै झन्डा गाडिएको बताए । मटेहियाका यादव थरका व्यक्तिले यहाँ झन्डा गाडेको उनले सुनाए । अहिले पनि उनका सन्तानले वर्षमा एकपटक गुरुपूर्णिमाका दिन यहाँ भण्डारा अर्थात् निःशुल्क खाना खुवाउँछन् ।
०७० सालमा यहाँ व्यवस्थित ढंगले मन्दिर बनाइएको थियो । सन्तानेश्वरमा शिवरात्रि, तीजजस्ता पर्वमा विशेष भीड लाग्ने गर्छ । साउन र शिवरात्रिमा रुद्रीपाठ हुने गर्छ । सन्तानविहीनले यस मन्दिरको दर्शन गरी सच्चा मनले पूजापाठ र व्रत गरे सन्तान प्राप्ति हुने धार्मिक विश्वास छ । यहाँ ड्रोन क्यामेरा प्रयोग गरेर हेर्दा पहाड नै पहाडले बनेको ॐ र त्रिशूल देख्न सकिन्छ । यहाँ तीनवटा पहाडका चुचुरोमुनिबाट तीनवटा मूल फुटेका छन् ।
पछिल्लो समयमा स्वतःस्फूर्त ढङ्गले नेपालगन्जबाट दैनिक सयौँ दर्शनार्थी दर्शनका लागि जान थालेका छन् । चुरेको टाकुरामा रहेको सन्तानेश्वरको मन्दिरमा पुगेर सन्तान नभएकाहरूले दर्शन गर्दा सन्तान लाभ हुने धार्मिक विश्वास रहेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार प्रचारप्रसार भएमक भारतबाट समेत यहाँ पर्यटक आउन सक्ने बताए ।