२५ जेष्ठ, २०७८ | हेमलता सुवेदी (खनाल)
कोभिड १९ महामारीको संक्रमणका कारणले काठमाण्डौमा भएको लकडाउनले मानिसहरुलाई धेरै दुखः सास्ती पिडा दिएता पनि यहाँको प्रकृतिले केहि हदसम्म भए पनि श्वास फेर्न मौका पाए जस्तो लाग्छ । चारैै तिर स्वच्छ सुन्दर वातावरण न गाडीको घ्यार घुर्रको आवाज न मान्छेहरुको भीड भाड, धुवाँ धुलो रहित स्वच्छ आकास, डाँडा काँडाको स्थितिको स्पष्टता आदि कुराले साच्चै राजधानी शहर काठमाण्डौको सौन्दर्यलाई अझ बढाई दिएको छ ।अहिले गर्मीको मौसममा पनि यहाँको चिसो हावा पानीले केहि हदसम्म दुःखको भुमरीमा परेको बेला शीतलता प्रदान गर्ने काम गरि रहेको छ ।
माटो पानी जलवायु आदि कारणले स्वर्ग जस्तो ठाँउलाई राम्रो सग ब्यवस्थापन गर्नकोलागि शायद राज्यले भने जस्तो घ्यान दिन सकेको जस्तो लाग्दैन । राज्यबाट यस राजधानीशहरको स्थापना काल देखि नै ब्यवस्थित बसोबास घर निमार्णको कार्य शैली अपनाएर विकासका पूर्वाधारहरुलाई ब्यवस्थित गरि अगाडि बढाउन पर्ने थियो । अब्यवस्थित निर्माण शैलीले राजधानी शहरको सौन्दर्यलाई मलीन बनाउदै गएको छ । हुन त शहर भन्ने बित्तिकै उच्च जनघनत्व, यातायातको बढ्दो चाप, कलकारखाना, शिक्षा, स्वास्थ्य आदि संस्थाहरुको बाक्लो उपस्थिति हुनु स्वभाविक हो ।
तर पनि राज्यबाट केहि ध्यान गएर यस शहरलाई स्मार्ट सिटी बनाउन पहल शुरु गरे अवश्यनै हाम्रो राजधानी शहर कल्पना गरे अनुसार सुनमा सुगन्ध जस्तै अझ धेरै सुन्दर र आकर्षक देखिन्थ्यो । ट्राफिक सेन्सर,सेन्सरलाईट, वाटर ट्रीटमेन्ट फोहरको उचित ब्यवस्थापन वडाहरुमा विद्यालय, अस्पताल ,अफिस विभिन्न संघ संस्था हरुको निमार्ण सडक ढल निमार्णयोजनावद्ध आवासिय क्षेत्रहरु,ग्रीनरी बेल्ट आदि कुराहरु नै स्मार्ट सिटिका पूर्वाधार हुनाले अहिले देखि जनचेतनामुलक अभियानहरु चलाएर माथिकायि आधारभूत कुरा हरुको ब्यवस्थित निमार्ण गर्ने उेश्यले ठोस योजना बनाएर दृढताका साथ ब्यवस्थापन गर्न लागि परे अवश्य पनि हामा्रे राजधानी शहर लाई स्मार्ट सिटी बन्नमा धेरै समय लाग्दैन ।
कति सरकार आए गए सबैले आ—आफ्नो ढंगबाट विकास गर्न खोजे तापनि ठोस योजना ल्याएर राजधानी शहरलाई कसरी एक स्मार्ट सिटीको रुपमा विकास गर्ने कार्यमा कसैको ध्यान गएन सबै केवल आ—आफ्नो स्वार्थ लोलुपतामा डुबे । राजनितीक अस्थिरता र स्वार्थ भावनाले गर्दा आफ्नो मुलुकको मुहार फेर्नु भन्दा आफ्नो स्वार्थ अनुसार पैसा कमाउने मनसायले गर्दा सधै अब्यवस्थित निमार्ण कार्य मात्र भईराख्छ। एउटा योजनालेबाटो बनाउदै गयो भने अर्कोले ढल मंगलको निमार्णको लागि भत्काउदै जान्छ । यस्तो अब्यवस्थित कार्यशैली र निकायहरु बीचको आपसी समन्वयको अभावले योजना बन्नु र राज्यको ढुकुटी मात्र रित्याउने काम भएको छ जसले गर्दा सम्भव कार्य पनि असम्भव हुन जान्छ । शहर ब्यवस्थित भयो भने अवश्य पनि पर्यावरण संरक्षण हुन जान्छ अन्यथा पर्यावरण संरक्षणको अवधारणा फोस्रो नारामा मात्र सिमित हुनेछ ।
राजधानी शहर काठमाण्डौ (महानगर) हो भनेर राज्य सुस्ताएर बस्ने होइन वरु योजनाविद्हरुको ध्यान शहरलाई कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने दिशामा तदारुकताका साथ लाग्न जरुरी छ । स्मार्ट शहरको अवधारणा चुनौतीपूर्ण कार्य भएतापनि कार्यशैली र दीर्घकालिन योजनालाई निरन्तरता दिइयो भने अवश्य एक दिन नेपाल विश्व सामु समृद्घ नेपाल र सुखीनेपालीको रुपमा चिनाउन सफल हुनेछ भन्ने कुरामा दुईमत छैन ।