२८ बैशाख २०७८ | मुलुक डेस्क
पर्साको जगरनाथपुर गाँउपालिकाको एउटै गाउँमा १० दिनको अवधिमा ११ जनाको मृत्यु भएपछि गाउँलेहरु त्रसित बनेका छन् । मङगलवार ११ जनाको एन्टसजोन विधिबाट कोभिड १९ परीक्षण गर्दा तीमध्ये ७ जनामा संक्रमण भेटिएको छ ।
मृतक ११ मध्ये ६ जनाको कोरोना संक्रमणका कारणले मृत्यु भएको गाँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमेन्द्र साहले बताए । अरु ५ जनाको पनि उच्च ज्वरो, श्वासप्रश्वास सम्बन्धी समस्याले मृत्यु भएका कारणले गाँउभर नै कोरोना संक्रमण फैलिसकेको आशंका गरिएको छ ।
साहका अनुसार मृत्यु भएका ११ मध्ये ७ जना एउटै टोलका अर्थात् वडा नम्बर ५ चिलझप्टी टोलका हुन् । १० दिनमै ६ संक्रमित सहित ११ जनाको मृत्यु भएको र गाउँमा सयौँको संख्यामा ज्वरो र श्वासप्रश्वासको बिरामी भएपछि गाँउपालिकाले स्वास्थ्य कार्यालय पर्सा र नारायणी अस्पताललाई सोमबार पत्र लेखेर विज्ञ सहितको स्वास्थ्यकर्मी टोली पठाइदिन आग्रह गरेको थियो ।
सोही अनुरुप मङगलवार स्वास्थ्य कार्यालयबाट गएको १२ जना स्वास्थ्यकर्मीको टोलीले जगरनाथपुर ५ चिलझप्टीमा ज्वरोले सिकिस्त ११ जनाको एन्टिजोन विधिबाट परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण भेटिएको हो ।
त्यही टोलमा मङगलवार शंकास्पद २५ जना बिरामीको स्वाब संकलन गरी, पीसीआर परीक्षणका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको साहले जानकारी दिए ।
साहका अनुसार चिलझप्टी गाउँमा मङगलवार पुगेको स्वास्थ्यकर्मीको टोलीले घरघरमा पुगेर शंकास्पद बिरामीको ज्वरो नापेको थियो । तीमध्ये कोरोनाको शंका लागेका ११ जनाको स्वाब संकलन गरी गाउँमै एन्टिजोन विधिबाट परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण भेटिएको हो ।
अन्य शंकास्पद २५ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको साहले बताए । साहले भने ,‘हामीले घरघरमा गएर ज्वरो नाप्यौँ, त्यस क्रममा १७६ जनामा कोरोनाकै जस्तै सामान्य लक्षण देखेपछि कोरोनाको जाँचका लागि स्वाब लिन खोज्यौँ तर अधिकांशले घरको चुकुल लगाएर बसे, अनि हामीले जबरजस्ती गर्न सकेनौँ ।’
मङगलवार संकलन गरिएको २५ स्वाबको रिपोर्ट नारायणी अस्पतालको प्रयोगशालाबाट आएपछि स्थानीय प्रशासनको निर्देशनमा कसरी अगाडि बढ्ने तय गरिने पनि उनले बताए ।
साहले भने,‘जति पनि ज्वरो र श्वासप्रश्वास समस्याका बिरामी छन्, अधिकांशमा कोरोनाकै जस्तो लक्षण देखिन्छ तर उनीहरुले स्वाब दिन नमानेपछि हाम्रो केही जोडबल चलेन ।’
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले जिल्लाका १४ वटै पालिकालाई आ आफनो पालिकामा कम्तिमा १५ शैय्याको आइशोलेसन सेन्टर बनाएर सन्चालनमा ल्याउन २ हप्ता पहिले नै भनेको थियो । तर जगरनाथपुर गाउँपालिकाले हालसम्म आइसोलेसन सेन्टर पनि बनाएको छैन ।