सुजीतकुमार झा,
वर्ष : ०२ | अंक : १६ | फाल्गुण/चैत्र २०७६,
होली धुमधामसँग मनाइएको छ। होलीमा रङसँगै जोडिएर आउने अर्को खाद्य पदार्थ हो– भाङ। होलीसंगै भाङको निकै चर्चा यसपाली रहयो। तराईका हरेक चोक होलीको रङमा रङ्गिएका थिए चोकचोकमा भाङ बनाउनेहरू निकै देखिए। होलीमा भाङको विशेष महत्व हुने जनकपुरधाम– ४ का कुशेश्वर झा बताउँछन्। होली र भाङको सम्बन्ध पुरानो रहेको उनको भनाइ छ। हरेक वर्षको होलीमा मिथिलावासी भन्छन– ‘होलीमा भाङ सेवन गर्नुभएन भने तपाईं होलीलाई अपमान गरिरहनुभएको छ। ’
भाङलाई हिन्दू संस्कृतिकै एउटा भाग मानिएको छ। यस कारण होलीका दिन मानिसहरू आफ्नो घरमा भाङको गोली र पकवान बनाउँछन् र लस्सीमा मिलाएर सेवन गर्छन्। होलीमा घरमा आउने जोकोहीलाई मालपुवा, मासु र भाङले स्वागत गर्ने गरेको समाजसेवी मरचन्द्र अनिल बताउँछन्। आफूपनि एक लिटर भाङ को लस्सी खाएको उनले वताए। घरघरमा गएर होली खेल्ने मिथिलामा परम्परा छ। रङ आदानप्रदान हुने र परिकार पनि खुवाउने परम्परा रहेको सांस्कृतिविद् पुनम झाले बताइन्।
अथर्व वेदमा पवित्र मानिएका ५ वटा बोट (पौधा)मध्ये भाङ पनि एक हो। भनिन्छ, भाङको पातमा देवताको निवास हुने गर्छ। अथर्व वेदमा यसलाई प्रसन्नता दिने र मुक्तिकारी पौधाको श्रेणीमा राखिएको छ। आयुर्वेदका अनुसार भाङको पौधामा औषधीय गुण छ। यसैकारण कुनै भोज होस वा उत्सव हामी भाङ खाने गरेको जनकपुरधाम ६ का महेश दासले वताए। होली बाहेकको बेलापनि जनकपुरधामको विद्यापति चोक, देवी चोक, विश्वकर्मा चोक, रामानन्द चोक लगायतको स्थानमा निकै भाङ को विक्री हुने गरेको छ। ग्रामीण क्षेत्रमा पनि यसको पसलहरु रहेका छन। कतिले आफ्नै घरमा पनि भाङ बनाएर खाने गर्छन।
शिवको प्रसाद
भाङ, धतुरो, गाँजालाई भगवान् शिवको प्रसाद मानिन्छ। यही कारणले शिवभक्तहरूले यी चिजको प्रयोग गर्ने गरेको तर्क गर्छन्। कथाअनुसार देवता र दैत्य मिलेर अमृतका लागि समुद्र मन्थन गरिरहेका थिए। उक्त समुद्र मन्थनमा अमृतका साथसाथ विष पनि निस्किइरहेको थियो। पवित्र अमृतलाई त भगवान् विष्णुले अत्यन्तै सुन्दर स्त्रीको रूप धारण गरेर लानुभयो। त्यसपछि बाँकी रह्यो विष। यो विष निकै घातक थियो। त्यसको १ थोपाले पनि पृथ्वीमा ठूलो हानि र्पुयाउन सक्थ्यो। सृष्टिका लागि विनाशकारी सावित हुन सक्थ्यो। त्यो विषलाई यत्तिकै छोड्न मिल्दैनथ्यो। अब समस्या पर्न गयो कि त्यो विष कसले पिउने? यसपछि सबै देवताले भगवान् शिवलाई अनुरोध गर्नुभयो।
सबै देवीदेवताले शिव भगवानलाई यो विष धारण गर्न आग्रह गरे किनकि भगवान् शिवले मात्र त्यो विषको प्रकोपलाई सहन गर्ने सामथ्र्य राख्नुहुन्थ्यो। सबै देवताको अनुरोध र संसारको कल्याणका लागि भगवान् शिवले उक्त विष पिउनुभयो। कथामा अगाडि भनिएको छ– शिव भगवानले विष पिउनासाथ उनको गलालाई शिवपत्नी पार्वतीले पक्रनुभयो। विष भगवान् शिवको शरीरभित्र पस्न पाएन। विष भगवान् शिवको गलामा रोकियो, जसका कारण शिव भगवानलाई नीलकण्ठ भन्ने गरिन्छ। विष पिउनाले भगवान् शिवको स्थिति बिग्रिन लाग्यो र भगवान् शिव अचेत हुन लाग्नुभयो, तब त्यसको प्रभाव शान्त गर्नका लागि भगवान् शिवलाई भाङ, धतुरो, गाँजा, दूध तथा जल अर्पण गरियो। भगवान् शिवलाई भाङ, धतुरो चढाउने परम्परा भगवान् शिवको पूजा तथा अभिषेकको एक हिस्सा बनेको हो। तर, अर्को अर्थमा भाङ र धतुरो नशायुक्त पदार्थ हुन्। भगवान् शिवलाई भाङ, धतुरो चढाउनुको अर्थ हो – आफ्नो खराबी भगवानलाई समर्पित गर्नु या आफ्ना नराम्रो बानी र खराबीलाई त्याग्नु। यसैलाई शिवको सही अर्थमा आराधना गरिएको मान्ने जानकारहरू बताउँछन्।
मिथिलामा भाङसँग जोडिएको अर्को कथा चर्चित रहेको छ। एक पटक भगवान् भोलेनाथले परिवारमा भएको झगडाका कारण घर छाडिदिए। रिसाएर एक दिन खुला आकाशमा एउटा खेतमा बिताए। बिहान उठ्दा उनलाई निकै भोक लागेको थियो। उनले खेतमै रहेको भाङको पातलाई चुँडेर खाइहाले। भाङको पात खाँदा भगवान शिवले आफूलाई चुस्त पाए। तरोताजा महसुस गर्न थाले। पछि पार्वतीले नै यो कुरो कैलाशमा धेरैलाई बताइन्। एक कान दुई कान हुँदै धेरै ठाउँमा पुग्यो यो कुरा। यसपछि भगवान भोलेनाथलाई भाङ चढाउन थालियो। हामी शिवको पूजा गर्दा धतुरो, भाङ र बेलपात चढाउँछौ नै धार्मिक जानकार पण्डित दिगम्वर झा दिनमणिले वताए।