मुलुक डेस्क,

वर्ष : ०३ | अंक : २१ | माघ २०७७,

पौडीकी गौरिका सिंह र कराँतेका मण्डेकाजी श्रेष्ठ ‘१७ औं संस्करणको’ एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्। २०७६ साल मै नेपालगञ्जमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमा गौरिकाले १२ स्वर्ण जित्दै कीर्तिमानमाथि कीर्तिमान कायम गरेकी थिइन्। पुरुषतर्फ मण्डेकाजीले १३ औं सागमा दुई स्वर्ण जितेका थिए। आठौं राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण पदक जितेका उनी टिम कातातर्फ भने रजतमै सीमित भएका थिए। यसैगरि गत वर्ष बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा भने मण्डेकाजीले एकल कातातर्फ कास्य र टिम कातामा स्वर्ण पदक जितेका थिए।

भलिबलकी कप्तान २७ वर्षिया अरुणा शाहीले पिपल्स च्वाइज अवार्ड जितेकी छिन्। कप्तान अरुणाले पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदिना श्रेष्ठलाई उछिन्दै अवार्ड जितेकी हुन्। अरुणाकै कप्तानीमा नेपालले एक सेट पनि नगुमाई एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियसिपमा स्वर्ण जितेको थियो। उनकै कप्तानीमा नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक फाइनलमा पुग्दै भारतसँग ३–२ को सेटमा पराजित भई रजत पदकमै सीमित भएको थियो।

गल्फका सुवास तामाङले वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भए। सुवासले तेक्वान्दोका भूपेन्द्र श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी र तेक्वान्दोकी सिना लिम्बु मादेनलाई पछि पार्दै अवार्ड जितेका जिते। सुवासले १३ औं साग प्रतियोगितामा दुई वटा स्वर्ण जितेका थिए। तेक्वान्दोका प्रशिक्षक नवीन कुमार श्रेष्ठले वर्षको उत्कृष्ट प्रशिक्षक अवार्ड पाएका छन्। १३औं सागमा तेक्वान्दोबाट नेपालले सर्वाधिक १२ स्वर्ण, ६ रजत र ११ कास्य पदक जित्दा नवीन प्रशिक्षक थिए। तेक्वान्दोमा नेपालका सबै २९ जना खेलाडीले पदक पाएका थिए। उनी चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप नेपालले खेल्दा टिमका प्रशिक्षक थिए। वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड पाएका नवीनले एक थान पल्सर मोटरसाइकल पाएका छन्।

तेक्वान्दोकी आयशा शाक्य र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोट्र्स अवार्ड’ अन्तर्गत स्पेशल अवार्ड पाएकी हुन्। आयशा र सन्तोषीले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय जगतमा स्वर्ण पदक जितेका थिए। २०७६ सालमा नेपालमा सम्पन्न १३ औं सागमा तेक्वान्दोकी आयशाले दुई वटा स्वर्ण पदक जितेकी थिइन्। त्यस्तै, उनले आठौं राष्ट्रिय खेलकुदमा भने कास्य पदक जितेकी थिइन्। एथ्लेटिक्सकी सन्तोषीले १३ औं सागमा १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन्। सन्तोषी १३ औं सागमा एथ्लेटिक्समा स्वर्ण जित्ने एक मात्र महिला खेलाडी हुन्।

महिला भलिबल टिमले टिम अफ द इयरको अवार्ड पाउन सफल भयो। पूर्व टेबलटेनिस खेलाडी सिजरिन शाह र गीता क्षेत्रीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। अस्सीको दशकमा गीता र सिजरिनले यस्तै बाधा मात्र तोडेनन्, नेपाली खेलकुद इतिहासकै एक सर्वकालीन गौरवको उपलब्धी पनि हात पारे। सन् १९९१ को पाँचौं दक्षिण एसियाली खेलकुदमा नेपालले दुई स्वर्ण पदक जितेकोमा यी दुवै महिला खेलाडीको नाममा रह्यो। श्रीलंकाको कोलम्बोमा गीता र सिजरिनले आत्मसात गरेको त्यो उपलब्धी दक्षिण एसियाली खेलकुदमा महिलाले नेपालका लागि जितेको पहिलो स्वर्णका रूपमा रहेको छ।

दिगमसिंहलाई पारा एथलिट अवार्ड प्रदान गरिएको भने एसियन स्पोट्र्स जर्नालिष्ट अवार्डबाट भने अहमद खवारी इशालाई दिइएको छ। हरेक विधाका विजेताले ५० हजार नगद र उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइज अवार्डका विजेताले पल्सर स्पोट्र्स मोटरसाइकल पाएका छन्। पल्सर स्पोट्र्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि रहेको छ। डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य हुने अवार्डमा सूर्य नेपाल प्रा.लि, रुस्लान फुटबल, इ–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंगी होटल, इमेजिङ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटीको प्रायोजन रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *