संजीव सिंह,
वर्ष :०३ |अंक : २२ | फाल्गुण २०७७,
माया/प्रेम भाव र वहावको समिश्रण हो । त्याग र तपस्याको परिणाम हो । स्पन्दन हो । आभाष हो । भनिन्छ , सच्चा अभिव्यक्ति र आशाको कहिल्यै नमर्ने अजम्बरी आफ्नोपनको नाता हो । प्रेम गर्नका लागि कुनै दिन, समय वा ठाँउको सीमा र बन्देज हुँदैन । यसका नियम र परिधी हुँदैन ? यो स्वस्फूर्त हुन्छ । जहाँसुकै, जुनैबेला र जोसंग पनि माया पिरती बस्न सक्छ वा हुन सक्छ ! यद्यपी १४ फ्रेबुअरी अर्थात भ्यालेन्टनइन डे लाई फरक र विशेष दिनका रुपमा लिने गरिन्छ । मायाले ओतप्रोत मानव समुदायमा पनि विशेषतः युवायुवतीका लागि उत्सवमय दिन । प्रेम दिवस !
एक अर्कामा आ–आफ्नो अभिव्यक्ति र चाहना साटासाट् गर्ने मुख्य दिन । वर्षौको पर्खाइमा रहेको उपयुक्त दिन वा दिवस । चञ्चल मनको गहिरो भाव र तरंंगित चाहनालाई समर्पित वा साट्ने अवसर । नितान्त रंगिन र रसपूर्ण स्पन्दनको अनुभवलाई साकार पार्ने विशेष दिवस । प्रेमीजोडीको उत्सवमय दिवस । लव बर्डसको खुल्ला आकाशमा शयर गर्ने शुरुवात वा यस्तै यस्तै अन्य प्रहर । परिवर्तन मानविय चाहना हो र प्रयास यसको कर्म । समय फेरिएको छ, युग परिवर्तन भएको छ । प्रेम उही हो तर पथ परिवर्तन भएको छ ।
भ्यालेन्टाइनको इतिहास

ई.सं. २७० ताका रोमन सम्राट क्लाउडियसले आफ्ना सैनिकलाई चिन्तामुक्त राख्न एवं शारीरिक मानसिक दुर्वलताबाट टाढा राख्नका लागि उनीहरुलाई प्रेम वा विवाह वाट वंचित राख्ने नियम बनाएका थिए । प्रेम, विवाह र सेक्सले कमजोर वा भावनात्मक बनाउछ भन्ने ठहर क्लाउडियसको थियो । तर प्रकृती वा सृष्टीको नियमअनुसार यो नितान्त र अपिहार्य हुन आँउछ । यसै सन्र्दभमा एक जना पादरी सेन्ट भ्यालेन्टाइनले आपसमा प्रेम गर्ने जोडीलाई भित्र भित्रै मिलन गराउने कार्य गर्दथे ।
अत्यन्तै कठोर र निर्दयी सम्राट क्याउडियसले यो खबर सुन्नसाथ पादरीलाई जेलमा कैद गर्न लगाए र फाँसीको सजाय सुनाए । संयोग अन्य प्रेमी जोडीलाई आपसमा मिलान गराउने पादरी आफै प्रेममा पर्न पुगे, त्यो पनि जेलर ऐसटेरियसकी छोरीसंग । तत्पश्चात पादरीलाई मृत्युदंड अर्थात फाँसीमा झुण्डयाइयो । झुण्डयाएर मारिएको दिन उनले आफ्नी प्रेमिकालाई एउटा पत्र लेखेका थिए । जसमा ‘म तिमीलाई असाध्यै माया गर्छु’ भनेर लेखेका थिए । र त्यो दिन थियो – १४ फ्रेबुअरी । फलस्वरुप पादरीलाई फाँसी दिइएको दिनको सम्झनामा वा स्मरणस्वरुप प्रेमको शुरुवात एवं प्रेम दिवसको रुपमा मनाउन थालियो । उनकै सम्मानस्वरुप भ्लालेन्टाइन डे !
कार्ड, फूल वा चकलेट

मन भित्रका भावना चाहना र लगावलाई उजागर गर्ने अनेकौं विधिमध्ये शब्दले सार्थकता र दीर्घता पाउन थाल्यो । चिठ्ठीपत्रमा मनभित्रका अलापलाई शब्दमार्फत संयोजन गरेर एक अर्कामा प्रेषित गर्न थालियो । पछि कार्डमा यसको भाव र सन्देशले लोकप्रियता पाउन थालेको देखियो । कार्डको इतिहास खोत्लदा सन् १४१५ तिर फर्किनु पर्ने हुन्छ । टावर अफ लण्डनमा कैद रहेको अर्लिन्सका ड्युक चार्ल्सले आफ्नी श्रीमतीलाई सर्वप्रमथम कार्ड दिएको बृतान्त भेटिन्छ । बेलायती संग्राहलयमा अझ पनि यो सुरक्षित छ । सन् १७८० मा यूरोपमा कार्डको प्रचलन अत्याधिक बढेको पाइन्छ । मित्रताको नामले समेत परिचित कार्ड आजभोली प्रेमको प्रतिक बनेको छ । पोष्टकार्ड हुँदै बेलकार्ड, म्याजिकल कार्ड लगायत डिजिटलकार्डले आज संसारभरी साम्राज्य खडा गरेको छ । आर्चिज, हालमार्क कम्पनीले अर्बोको व्यापारसंगै प्रेमीप्रेमिकाको ब्राण्ड कम्पनी बनेको छ । यसका साथै फूल वा विशेषगरी गुलाफले प्रेमीबीच सौहादर्य र पहिचान स्थापित गराएको छ । र चकलेटले थप मिठास थपेको छ । आपसमा प्रेमलाई प्रगाढ र दह्रो बनाएको छ ।
प्रेमको रंग–रुप

आ–आफ्नै रंग रुपमा प्रेमको रुवरुप भेटिन्छ । महत्व र गरिमासंगै बिकृती र बिध्वंश पनि भित्रिने गरेको छ । प्रेम निराकार हो, शुन्य हो, समर्पण हो । प्रेमकै अर्को रुप विध्वंश पनि हो । वर्बाद हुनु वा वर्वाद पार्नु पनि हो । बन्ने र बिग्रने प्रेमको दुई पाटो संसारमा देखिन्छ । पौराणिककालिन राधा–कृष्णको रासलीला, मीरा–कृष्णको रागलीला, सीतारामको मधुरम र आर्दश प्रेम, मेनका–विश्वमित्रको अदम्य प्रेमलाप, दृश्यन्त–शकुन्तलाको अन्धो प्रेम विश्वसामु उदाहरणीय छ । ऐतिहासिक सम्राट नेपोलियन– जोसेफिनाको रंगीन प्रेम, क्यालोपेट्राको वासनात्मक प्रेम, सम्राट पृथ्वीराज चौहान र संयोगिताको अनौठो प्रेम, लैला–मजनुको पागल प्रेम, हिर–राँझाको सच्चाप्रेम, रोमियो–जुलियट, मुनामदन, मालतीमंगले, मुकुन्द–इन्दिराको चित्ताकर्षक एवं सुन्दर र मादक प्रेम समाजका लागि अनुकरणीय छ । प्रेमकै लागि राजगद्दी त्यागेर गेरुवावस्त्र धारणगरी निर्वासित जीवन विताउन वाध्य गिर्वाणयुद्ध देखि युवराज दिपेन्द्रले प्रेमिकाको लागि गरेको राजपरिवारै नाश हुने गरि गरेको नरसंहार विध्वंशकै उपज हो ।
ईश्क, मोहब्बत, प्रेम वा माया आफैमा सुन्दर हो, स्वतन्त्र हो । प्रेम न त सम्झौता हो, न त यसमा तुलना हुन्छ । प्रेमलाई तौल्न वा जोख्न मिल्दैन ? यो त आभाष वा मनमनै सपर्श गरिने हो । प्रेममा मितव्यी हुनु पर्दछ । मनले, ममत्वको भावना जरुरी छ । तन र मन एक हुनु नै वास्तविक उद्ववेगना हो । प्रेममा अध्ययन र अनुसन्धान होइन् मर्मको खोज वा सोध हुनुपर्दछ । फूलको रस चुस्दै हिँडने भँवरा होस् वा मनको बाँध बाध्ने मानव सबैको आ–आफ्नै प्रेमलाई उजागर गर्ने उपाय र तरिका छन् । प्रेमीजोडीको विचरण गर्ने आफ्नै अन्दाज र ढंग छ । प्रेम आफैमा पवित्र हो । प्रेम हरेक पल, हरेक समयमा जायज छ । समय, काल, परिस्थितीमा प्रेम बाँधिन्न यद्यपी एक विशेष दिनले प्रेममा निखार, ख्याती र चर्चा जरुर भएको पाइन्छ, त्यो नै हो – भ्यालेन्टाइन डे !