राजेश झा,

वर्ष : ०३ | अंक : २१ | माघ २०७७,

नेपाल सरकारद्वारा स्थानीय तहको घोषणा पश्चात तिलाठी कोईलाडी गाउँपालिकाको गठन भएको हो। सरकारद्धारा २७ फागुन २०७३ मा साबिकका ७ गा.बि.स. (तिलाठि, लौनिया, सकरपुरा, कोईलाडी, कोईलाडी–बर्साइन, कोईलाडी–मधेपुरा वडा १–३/८–९, बभनगामा कट्टी ५ देखि ९ तथा १ देखि ४) मिलेर यस गाउँपालिकाको स्थापना भएको हो।

तिलाठी कोईलाडीको पुरानो ऐतिहासिक पृष्ठभुमि रहेको छ। राजनीतिक, शैक्षिक चेतना तथा कला संस्कृतिको पुरानो इतिहास बोकेको गाउँपालिका हो यो। राजधानि काठमाडौं लगायतका केहि सिमित क्षेत्रमा शैक्षिक गतिविधि संचालन भईरहँदा समेत यहाँ औपचारिक शिक्षा प्रदान गर्न सक्ने शैक्षिक संरचनाको विकास भईसकेको वताईन्छ। यस गाउँपालिकाको वडा नम्बर १ तिलाठी स्थित ‘चौपाईढ’ र ‘पाठशाला’ ती ऐतिहासिकतालाई दर्साई राखेका छन्। हाल गाउँपालिकाको कार्यालय पनि त्यसै शैक्षिक ऐतिहासिक पृष्ठभुमिको ‘पाठशाला’मा सञ्चालित छ।

प्राचिन दरभंगा महराजका राजपुरोहित समेत रहेका यहाँका ज्योतषि स्व. परमेश्वरी दत्त मिश्रले ‘चौपाईढ’ को स्थापना गरि नेपाल र भारत दुई तिरकै इच्छुक विद्यार्थीहरुलाई निःशुल्क आवास र भोजन सहितको शिक्षा प्रदान गर्ने गरेका थिए। त्यहि ‘चौपाईढ’ कालान्तरमा ‘पाठशाला’ मा परिणत भएको थियो। विक्रम सम्बत १९८९ मा राणा तथा दरवारका राजपुरोहित समेत रहेका यहाँका बासिन्दा ज्योतषि स्व. यदुनन्दन मिश्रको पहलमा त्रि–चन्द्र संस्कृत स्कुलको स्थापना गरिएको थियो।

शैक्षिक चेतना मात्रै नभई नेपाली राजनीतिक क्षितिजमा पनि तिलाठी–कोईलाडी चिरपरिचित नाम हो। प्रतिबन्धीत क्रुर पञ्चायत काल जतिवेला गणतन्त्र अर्थात राजा विहिन शासनका वारेमा मन मनै सोच्नु पनि दण्डनिय अपराध मानिन्थ्यो त्यति वेला मुलुकमै पहिलो पटक गणतन्त्रको नारा गुञ्जिने ठाउँ तिलाठी कोईलाडी नै हुन। ‘गणतन्त्रका प्रणेता’ भनेर चिनिने मुलुककै पहिलो गणतन्त्रबादी नेता स्व. रामराजा प्रसाद सिंहको जन्म यसै गाउँपालिका अन्तर्गत वडा नम्बर ४ स्थित कोईलाडी गाउँमा हो। स्व. रामराजा प्रसाद सिंह, लक्ष्मण प्रसाद सिंह, वडा नम्बर १ तिलाठीका युवा साकेत चन्द्र मिश्र लगायतकाहरुले दशकौ अघि थालेको अभियान तथा गरेको त्याग र बलिदान मुलुकमा गणतन्त्र ल्याउन निकै सहायक सिद्ध भएको छ।

‘मधेशवाद’ र ‘संघियता’को नारामा पनि पहिलो पटक तिलाठी–कोईलाडी गाउँपालिकावाटै गुञ्जायमान भएको ऐतिहासिकतालाई समग्र मुलुकले नै स्विकारेको अवस्था छ। कोईलाडी निवासी स्व. गजेन्द्रनारायण सिंहले दशकौ अघि ‘मधेशवाद’ को ‘जनक’ का रुपमा बिद्रोह नथालेको भए मुलुकमा संघियता आउन अझै कयौ दशक कुर्नु पर्ने थियो। मुलुकको प्रजातान्त्रिक आन्दोलनमा पनि उत्तिकै सहयोगि भुमिका निर्वाह गरेको इतिहास बोकेको ठाउँ हो – तिलाठी कोईलाडी। प्रतिबन्धीत कालमा यो गाउँपालिका काँग्रेसका नेताहरुको भूमिगत बास स्थल (सेल्टर) नै हुने गथ्र्यो। विपि कोईराला, गणेमान सिंह, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई जस्ता अग्रज काँग्रेसी नेताहरु महिनौ आएर तिलाठी – कोईलाडीमा बास बसेको इतिहास छ।

त्यतिवेला काँग्रेसको रणनीति निर्माण देखि कार्यकर्ता परिचालन सम्मको कार्य यहाँ वाटै हुने गरेको थियो। स्थानिय नेताहरु कुशेश्वर पाठक, जयमंगल प्रसाद सिंह, महेन्द्र राय, गजेन्द्र नारायण सिंह, विजयानन्द मिश्र, कमानन्द मिश्र लगायतकाहरुले आफ्नो जीउधन दुवैको परवाह नगरि काँग्रेसको आन्दोलनलाई फरक उचाँईमा पुर्याएको इतिहास छ।

नेपाली प्रजातान्त्रीक आन्दोलन मात्रै नभई काँग्रेस शासक विरुद्धको भारतीय स्वतन्त्रतता संग्रामलाई पनि तिलाठी–कोईलाडीले उत्तिकै सघाएको इतिहास छ। प्रतिबन्धित कालमा भारतीय स्वतन्त्रता संग्रामका महानायकहरु स्व. जयप्रकाश नारायण, जेपी लोहियाहरु पनि महिनौ आएर तिलाठी–कोईलाडी क्षेत्रमा बसोबास गर्ने गर्थे। तत्कालिन राणा शासकहरुले ती भारतीय नेताहरुलाई पक्राउ गरी हनुमाननगर जेलमा बन्द गरेका वेला उक्त जेल तोडेर उनीहरुलाई मुक्त गराई सशकुशल भारत पु¥याउने काममा पनि यहाँका बासिन्दाहरुले निकै ठूलो भुमिका निर्वाह गरेको बताईन्छ। हनुमाननगर जेल काण्डमा कोइलाडीका रामेश्वर प्रसाद सिंह समेतको महत्वपूर्ण भूमिका रहेको थियो। नेपालको सर्वोच्च अदालतका प्रधानन्यायाधीश भगवतीप्रसाद सिंह समेत कोइलाडीकै हुनुहुन्छ।

कोइलाडीमा अवस्थित भगवतीको मन्दिरमा झण्डै दुई शताब्दी देखि बलि प्रदानको प्रथा रहेको छ। यो ऐतिहासिक मन्दिरमा वरिपरिका करिब २० गाउँका श्रद्धालु झक्तजनहरुले आस्था र विश्वासका साथ पुजाआजा गर्दै बलि चडाउँढैं आएका छन्। दशैंमा यहाँ हजारौंको संख्यामा श्रद्धालुको घंइचो र मेला लाग्ने गर्दछ। यहाँ तान्त्रिक विधिद्वारा पुजा गरिन्छ।

यस गाउँपालिकाको भौगोलिक, साँस्कृतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा देखिएका विभिन्न समस्याहरुको उल्लेख्य निदान भईरहेको छ। बाढीबाट अत्यधिक प्रभावित रहँदै आएको हुँदा बाढी प्रभावित जनतालाई प्रत्येक बर्ष राहत वितरण भन्दा पनि ठोस काम तर्फ गाउँपालिकाले पहल गरेको पालिका अध्यक्ष सतिश कुमार सिंहले जनाएका छन्। गाउँपालिका खाँडो, महुली, जिता र कोशी नदीबाट प्रभावित बन्दै आएको छ। एकातिर बाढीको समस्या अर्कोतिर चट्याङ, शितलहर, आगलागी, सर्पदंश जस्ता प्रकोपले बारम्बार प्रभावमा र चपेटमा पार्दै आएको छ। सबैभन्दा बढी बाढीबाट समस्या उत्पन्न हुने गरेको छ। खाँडो खोलाको बाढीको कारण तीन वटा वडा प्रभावित हुँदै आएको छ। पूर्वमा कोशी नदीको कारण पनि हरेक बर्ष सयौं घर डुबानमा पर्दै आएको छ। बाढीको समस्या समाधान गर्न पालिकाले खाँडो खोलामा बाँध बनाउने काम सुरु गरेको छ। यसैगरी खाँडो खोलाको बाढीको सूचना समयमै प्राप्त गर्न समुदायमा आधारित बाढी पूर्व सूचना प्रणाली जडान गरिएको छ। यसकालागि युनिसेफको आर्थिक तथा ईसिमोड र सबल नेपालको प्राविधिक सहयोग प्राप्त छ।

युनिसेफको सहयोगमा बाल केन्द्रीत विपद् जोखिम न्युनीकरण कार्यक्रम अन्तर्गत स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र समेत सञ्चालित छ। विभिन्न वडाहरुमा उँचो ट्यूबेल जडान, इनारहरुको मर्मत सम्भार तालिम सञ्चालन जस्ता कार्यहरु भईरहेको छ। बालबालिकाहरुलाई बाढीबाट जोगिन खोज तथा उद्धार कार्यको तालिम, प्राथमिक उपचारको तालिमहरु प्रदान हुदैं आएको छ। विपद् व्यवस्थापन सम्बन्धी विभिन्न ऐन, कार्यविधि तथा निर्देशिकाहरु जनहितमा जारी छ। विपद् ब्यवस्थापन कोष सञ्चालन कार्यविधि बनाई रु. २५ लाखको विपद् ब्यवस्थापन कोष पनि स्थापना गरिएको छ। मौसम सूचना केन्द्र (वेदर फोरकास्ट स्टेशन) स्थापना गर्ने आगमी सोच रहेको छ। वातावरणीय हिसाबले वृक्षारोपण गरि नर्सरी समेतको ब्यवस्थापनमा पालिकाले पाइला चाल्दै छ।

अध्यक्ष सिंहका अनुसार, ‘म चुनाव जितेर आएकै बर्ष हाम्रो गाउँपालिकाको लागि टाउको दुखाईको बिषय बनेको खाँडो खोलामा बाँध बाँध्ने काम गर्यौं। जसले गर्दा तिलाठी र सकरपुरालाई जोगाउन सकिएको हो। हुनत केही सानोतिनो कारणले गर्दा बाँध करिब सय मिटर अझै बनाउन बाँकी नै छ। सकरपुरामा बाढीबाट जोगाउन चर्पी सहितको सेल्टर, वडा नंं ५ को. बर्साइनमा सेल्टर होम निर्माण गरिएको छ।’

सिंह थप्छन् – पचास प्रतिशत अनुदानमा धान, गहुँ, मकैको बीऊ किसानलाई उपलब्ध गराउने जस्ता कामहरु गरेको छु। हिंड्ने अवस्थामा नरहेका सडकहरुमा माटो र ग्राभेलको काम गरी ढलान गराएको छु। बर्षौंदेखि अतिक्रमको चपेटमा परेको सार्वजनिक बाटोहरु खोलेर सडक सञ्जालमा जोड्ने काम भएको छ। वडा नं. ५ मा किसानहरुलाई सिंचाई सुविधाका लागि जिता नदीमा सुलिस गेट निर्माण गराएको छु। तिलाठी र तोपास्थित माध्यमिक विद्यालयमा कम्प्युटर ल्याबको व्यवस्थापन गराएको छु।

कोरोना महामारीको रोकथाम र नियन्त्रणमा प्रदेश नं. २ मा तिलाठी कोइलाडी गाउँपालिका नै पहिलो हो जसले सीमा क्षेत्रमा हेल्थ डेस्क स्थापना, क्वारेन्टीन स्थापना र आइसोलेशन स्थापना गरी सञ्चालन गरेको हो। २०७६ सालको माघ २५ गतेदेखि हामीले हाम्रो सिमाक्षेत्र बेल्ही भन्सारमा हेल्थ डेस्क स्थापना ग¥यौं र चैत्र ११ गतेसम्म निरन्तरता दियौं। चैत्र ११ गतेदेखि नै हामीले वडा नंं. ७ स्थित लक्ष्मीबल्लभ नरसिंह माविमा तत्कालै २५ वेड र वडा नं. १ तिलाठीमा १५ बेडको क्वारेन्टीन सञ्चालन ग¥यौं र पछि दुवै ठाउँको क्षमता बढाउँदै २५० बेडमा अपग्रेड गरेका छौं। नेपाल सरकारले नेपाल प्रवेश गर्ने नाकाहरु तोकेपछि सप्तरीको नाका बेल्ही भन्सारमा भारतबाट आउनेहरुको लागि होल्डिङ सेन्टर समेत सञ्चालन गर्यौं। जिल्लामा सञ्चालित आइसोलेशनमा संक्रमितहरुको संख्या बढ्दै जाँदा हामीले हाम्रो गाउँपालिकाका कोरोना संक्रमित ब्यक्तिहरुको लागि वडा नं. १ तिलाठीमा ५० बेडको आइसोलेशन कक्ष सञ्चालन गर्यौं। आफ्नो आइसोलेशन सञ्चालन गर्ने स्थानीय तहमा हाम्रो तिलाठी कोइलाडी गाउँपालिका पहिलो स्थानीय तह हो। हामीले अहिले पनि क्वारेन्टीन र आइसोलेशन कायमै राखेका छौं। ५ बेडको कोभिड अस्पताल समेत सञ्चालनमा ल्याएका छौं।

यस बाहेक हामीले आम जनमानसमा सचेतता ल्याउन प्रचार प्रसार गर्नुका साथै डिस्इन्फेक्टेन्ट छर्किने, लामखुट्टे तथा अन्य किराहरु मार्न फोगिङ गर्ने कामहरु निरन्तर गरिरहेका छौं। लकडाउनको अवधिमा जनताको सहुलियतलाई ध्यानमा राख्दै दैनिक उपभोग्यको सामग्री खरिद गर्न बाहिर जानु नपरोस् भनेर हामीले सुपथ मूल्यको धुम्ती किराना पसल सञ्चालन ग¥यौं। एकातिर लकडाउनको समयमा घरबाहिर जाने अवस्था थिएन र अर्कोतिर किसानले मिहनेत गरेर लगाएको गहुँबाली खेतमै खेर जाने अवस्थामा रहेको थियो।

त्यसका लागि हामीले किसानको गहुँ निःशुल्क रुपमा काट्ने काम गरिदियौं।
बैदेशिक रोजगारीबाट फर्किएका ब्यक्तिहरुलाई तथा युवालाई खासगरी कृषि तथा पशुपालन कार्यमा आकर्षिक गर्न हामीले बिना ब्याजमा ऋण दिने कार्यक्रम ल्याएका छौं। सामूहिक तरकारी खेतीमा सहुलियत दिने, मल खाद तथा खेतमै प्राविधिक उपलब्ध गराउने जस्ता नीति लिएका छौं। पशुपालन गर्न चाहने युवालाई बिना ब्याजको ५० प्रतिशत ऋण दिने नीति अघि सारेका छौं। धान, गहुँ, मक्कै तथा सर्सोंको खेतीमा ५० प्रतिशत अनुदान दिने ब्यवस्था मिलाएका छौं। युवालाई आत्म निर्भर बनाउन विभिन्न सीपमूलक तथा आयमूलक तालिमको ब्यवस्था गरेका छौं। साथै लघुउद्यम गर्न चाहनेहरुका लागि समेत सहुलियतको ब्यवस्था गरेका छौं। यसका साथै प्रधानमन्त्री रोजगार कार्यक्रममा समेत युवाहरुको सहभागितालाई सुनिश्चित गरेका छौं।

तिलाठी कोइलाडी गाउँपालिका बाढीजन्य प्रकोपबाट अत्यधिक प्रभावित गाउँपालिका हो। २०७४ सालको साउन महिनामा आएको बाढीले यस गाउँपालिकाको ८५ प्रतिशत भूभाग जल मग्न भएको थियो। बाढीकै कारण एक जनाबालकको मृत्यु भएको थियो। बाढीबाट २२७१ घर पूर्ण रुपमा क्षति भएको थियो भने साढे ६ हजार भन्दा बढी घरमा क्षति पुगेको थियो। खाँडो खोलाको बाढीले तिलाठी कोइलाडी गाउँपालिकाको सम्पूर्ण भूभाग मात्र होइन, रुपनी गाउँपालिकाको दुई वटा वडा र राजविराज नगरपालिकाको चार वटा वडाहरु बर्सेनी प्रभावित हुँदै आएको छ।

तिलाठी कोइलाडी गाउँपालिकाका बासिन्दालाई खाँडो खोलाले सबैभन्दा बढी दुःख दिने गरेको छ भने जीता, महुली र कोशी नदीबाट समेत बर्सेनी डुबान हुँदै आएको छ। गाउँपालिकामा युनिसेफको आर्थिक तथा प्राविधिक सहयोगमा बाल केन्द्रीत विपद् जोखिम न्युनीकरण कार्यक्रम (सिसिडिआरआर) सञ्चालन गरिएको छ। जस अन्तर्गत बाढी लगायत अन्य प्रकोपको पूर्व तयारीका लागि ८ वटै वडामा स्थानीय विपद् व्यवस्थापन समिति गठन गरी अभिमुखीकरण समेत गरिएको छ।

बाढीबाट अत्यधिक प्रभावित गाउँपालिका भएकोले खाँडो नदीमा बाढीपूर्व सूचना प्रणाली जडान गरिएको छ। युनिसेफको आर्थिक तथा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड) को प्राविधिक सहयोग र सबल नेपालको संयोजनमा गाउँपालिकाले खाँडोे खोलामा समुदायमा आधारित बाढी पूर्व सूचना प्रणाली मनसुन अगाडि नै जडान भइसकेको छ। नेपाली प्राविधिकहरुको कम्पनी सस्टनेवलइको इन्जिनियरिङ्गले बाढी पूर्व सूचना प्रणाली निर्माण गरेको हो। ईसिमोडले बाढीको सम्बन्धमा विभिन्न अनुसन्धान गर्छन् र उपकरणमा केही सुधार गर्नुपर्ने भयो भने हामी त्यसरी नै सुधार गरेर विकसित उपकरण उत्पादन गर्ने गरेको छौं”, कम्पनीका प्रबन्ध निर्देशक महेन्द्रमान शाक्यको कथन छ। “बाढी पूर्व सूचना प्रणालीले बाढीको उच्च जोखिममा रहेका समुदायलाई कम्तिमा केही समय मात्र अगाडि पनि बाढी आउँदै छ है भनेर सूचनादिन सकियो भने ठूलो क्षति हुनबाट जोगाउन सक्छौं” ईसिमोडका बाढी विश्लेषक विजय खड्गी बताउँछन्।

तिलाठी कोइलाडी गाउँपालिका, सबल नेपाल र ईसिमोडको संयुक्त पहलमा बैशाख २७गते सम्पन्न राजविराज नगरपालिका र रुपनी गाउँपालिकासँग त्रिपक्षिय संयुक्त समन्वय बैठकले तीन वटै पालिकाले सहकार्य गर्ने निर्णय नै गरेको छ। समुदायमा आधारित बाढी पूर्व सूचना प्रणालीको दिगोपनका लागि तीन वटै पालिकाबीच सहकार्य गर्ने निर्णयले थप बल पु¥याएको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवको कथन छ। बाढी पूर्व सूचना प्रणालीको दिर्घकालिन ब्यवस्थापनको लागि तीन वटै पालिकाको संयुक्त लगानीमा कोष समेत खडा गर्ने सहमति भएको छ।

पूर्व पश्चिम राजमार्गको रुपनी गाउँपालिका स्थित खाँडो खोलाको पुलमा पूर्व सूचना प्रणालीको उपकरण जडान गरिएको छ भने खोला किनारमा रहेको केयर टेकरको घरमा डाटा अपलोडिङ्ग युनिट जडान गरिएको छ। खोलामा खतराको अवस्थासम्म बाढी आएमा केयर टेकरको घरमा रहेको डाटा अपलोडिङ्ग युनिटमा साइरन बज्ने र केयर टेकरले सम्बन्धित सरोकारवाला लाई खबर गर्ने प्रणालीको विकास गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाको कथन छ।

गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत गरी २४ वटै विद्यालयमा बाढीबाट जोगिन अपनाउनु पर्ने सावधानी र गर्नुपर्ने पूर्व तयारीका बारेमा फ्लेक्समा सन्देश छपाई वितरण गरिएको छ। विद्यालयमा हरेक दिन प्रार्थना पछि उक्त सन्देश विद्यार्थीहरुलाई सुनाउने गरिएको छ। यसैगरी गाउँपालिका भित्रका मठ मन्दिर तथा मस्जिदमा रहेका माइकबाट तथा रिक्सामा माइक राखेर बाढीबाट जोगिने उपायहरुका बारेमा सन्देश समेत प्रवाह गर्ने गरिएको छ। तिलाठी कोइलाडी गाउँपालिकाले केन्द्रको लागि आवश्यक कार्यविधि कार्यपालिकाबाट पारित गराई केन्द्र स्थापनाको कार्य भईरहेको गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले बताए। आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्नमा पनि बाल केन्द्रीत विपद् जोखिम न्युनीकरण कार्यक्रम मार्फत युनिसेफको सहयोग रहेको अध्यक्ष सिंहले बताए।

प्राकृतिक तथा गैर प्राकृतिक प्रकोप वा विपद्बाट सर्वसाधारणको जीउ ज्यान तथा सार्वजनिक निजी तथा व्यक्तिगत सम्पत्ति, प्राकृतिक एवं साँस्कृतिक सम्पदा र भौतिक संरचनाको संरक्षण गर्दै आपत्कालिन समयमा नागरिकको तत्कालै खोज तथा उद्धार गरी सहयोगको सुनिश्चितताका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १७ को उपदफा २ (ट) वमोजिम गाउँपालिकाले आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्न प्रकृया अगाडि बढाईसकेको अध्यक्ष सिंहले जानकारी दिए।

गाउँपालिका उत्पातै मच्चाउने तीन वटा खोलाबाट घेरिएको हुँदा आपतकालीन कार्य सञ्चालन केन्द्र आवश्यक रहेको ठानेर स्थापना गरिएको सिंहको कथन छ। केन्द्रमा बाढीको समयमा उद्धारका लागि चाहिने लाइफ ज्याकेट लगायतको आवश्यक सामग्रीहरुको समेत ब्यवस्थापन गरिएको छ
“बाढी पूर्व सूचना प्रणाली जडान गरेर बाढी सम्बन्धी सूसुचित हुने जनतालाई अधिकारको प्रत्याभूति गराउने तर्फ हामी अब सशक्त भएका छौं”, अध्यक्ष सिंहले भने।

सप्तरीमा स्थानीय चुनाव हुनु भन्दा दुई महिना अगाडि आएको बाढीले नगरपालिकाको चार वटा वडालाई नराम्ररी प्रभावित गरेको थियो। २०७४ सालको साउनमा आएको बाढीले सबैभन्दा बढी राजविराज नगरपालिकामा क्षति पु¥याएको नगर प्रमुख शम्भु यादवको कथन छ। जिल्ला विपद् ब्यवस्थापन समितिको अनुसार करिब २८ करोड २७ लाख ५९ हजारको धनमा लक्षति भएको थियो भने दुई जनाको मृत्यु समेत भएकोथियो।

समुदायमा आधारित बाढी पूर्व सूचना प्रणाली जडान गर्न अग्रणी भूमिका निर्वाह गरेका तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार अध्यक्ष सिंह भन्छन्, “हामीत चाहन्छौं विपद् नै नआओस् र त्यसका लागि गर्नुपर्ने पूर्व तयारीहरु गरेका छौं र अझै पनि गरिरहेका छौं तर कथंकचादित विपद आई नै हाल्यो भने हामी त्यसको सामना गर्न तयारी अवस्थामा छौं।” यसका साथै आउँदो वर्षमा आर्कषक योजना ल्याउने तयारीमा गाउँपालिका रहेको छ।

राजेश झा
लेखक

Leave a Reply

Your email address will not be published. Required fields are marked *