संजीव सिंह,
वर्ष: ०३ | अकंः २० | मंसिर/पौष २०७७,
म्याराडोना – विश्व खेलजगतका नामुद हस्ती। फुटबलका शताब्दीकै महान खेलाडी। युगान्तकारी, ओजस्वी र ऐतिहासिक फुटबलर तथा विश्वकै चार्चित र लोकप्रिय प्लेयर डिएगो अर्मान्डो म्याराडोना भौतिकरुपमा संसारबाट सधैकालागि बिदा भएका छन्। मंसिर १० गते (नोभेम्बर २५) म्याराडोनाले संसारलाई अलबिदा गरेका छन्। बाबजुद उनको खेलकला, कारनामा र अद्वतिय किर्तिमान सधैभरी अजर अमर रहनेछ। ६० वर्षकै आयुमा उनको निधन भएको छ। फुटबललाई केन्द्रमा राखेर सधैभरी आफ्नो जीवन बाँच्ने ख्यातीप्राप्त खेलाडी थिए – म्याराडोना। खेलाडी, प्रशिक्षक वा सेलिब्रेटीको रुपमा उनी र फुटबल समानान्तर बनि रहे। चमत्कारी खेल कौशल र फ्री स्टाइल जीवलशैली बाँच्ने उनको मृत्युको खबरले पनि संसारभरी तहल्का र तरंग फैलाएको छ।
अर्जेन्टिनाको ब्युनस आयर्सको एक गरिब बस्तीमा जन्मेका म्याराडोना १० वर्षको उमेरमा रोजा एस्ट्रेला क्लबका लागि पहिलोपल्ट खेले। १५ वर्षको उमेरमा अर्जेन्टिनोस जुनियर्सबाट व्यवसायिक खेल जीवनको शुरुवात गरेका थिए। सन् १९८१ मा बोका जुनियर्सबाट खेल्दै एक वर्ष पछि पहिलो उपाधि जिते। सन् १९८२ मा स्पेनीस क्लब बार्सिलोनाबाट त्यतिबेला कीर्तिमानी ७३ लाख अमेरिकी डलरमा अनुबन्धित भएका थिए। बार्सिलोनाका लागि तीन उपाधि जितेका म्याराडोना त्यसपश्चात इटालीको नापोलीमा आवद्ध भए। सन् १९८७ र ९० मा इटालियन सिरी ‘ए’ जित्दै आफ्नै नेतृत्वमा नापोलीका लागि यूईएफए कपसमेत जितेका थिए।
म्याराडोना सन् १९७७ मा राष्ट्रिय टिममा सामेल चए। अर्जेन्टिना १९७८ मा विश्वकप जित्यो र सानो उमेर भएकोले त्यस विश्वकपमा म्याराडोनालाई अवसर दिइएन्। १९८२ विश्वकपमा म्याराडोना खेल्ने अवसर पाए र हंगेरी विरुद्ध दुई गोल गरे। सन् १९८६ को विश्वकपमा अर्जेन्टिना म्याराडोनाको नेतृत्वमा मैदानमा उत्रियो र विश्वकप उपाधि उचाल्यो। क्वाटरफाइनलमा इङ्ल्यान्डविरुद्धको पहिलो गोल म्याराडोनाले गरे जुन ‘ह्यान्ड अफ गड’ को नामले विश्वभर चर्चित बन्यो भने दोस्रो गोल नौं जना खेलाडीलाई छलाएर सेन्टरबाट बल लगेर सिधै गोल गरेका थिए। यो गोल शताब्दीकै उत्कृष्ट गोलमध्ये एक हो।
सोही विश्वकपमा पाँचगोल गर्दै उनी सर्वोत्कृष्ट खेलाडी र गोल्डेन बल अवार्ड पनि जित्न सफल भएका थिए। सन् १९९० विश्वकप फाइलनसम्मको यात्रा तय गरेका अर्जेन्टिनी टिममा म्याराडोनाले उत्कृष्ट भुमिका खेलेका थिए। सन् १९९४ विश्वकपमा उनी सहभागी भए पनि प्रतिबन्धित औषिध सेवन गरेवापत प्रतिबन्धमा परे। म्याराडोनाको व्यक्तिगत जीवन र खेल जीवनमाथि कयौं डकुमेन्ट्री र फिल्म समेत बनेको छ। फिडेल क्यस्ट्रोबाट प्रभावित म्याराडोना सार्वजनिक स्थलमै सिगार पनि पिउँदथे। उनी दुवै हातमा विश्व प्रसिद्ध महंगो हबोल्ट घडी लगाउँदथे। सौकिन र रङ्गीन जीवनशैली जिउने म्याराडोना संसारभरिका युवाका लागि आइकोनीक र लिजेन्ड्स हुन।
३७ वर्षकै उमेरमा खेल जीवनबाट सन्यास लिएका म्याराडोना राष्ट्रिय टोलीबाट ९१ खेल खेल्दै ३४ गोल गरेका थिए। सन् २०१० विश्वकपमा अर्जेन्टिनी प्रशिक्षक भएर समेत म्याराडोनाले खेल जीवनको दोस्रो इनिङ खेले यद्यपी सफलता हात लागेन्। ह्यान्ड अफ गड, १९८६ विश्वकप उपाधि, गोल अफ द सेन्चुरी र फिफा प्लेयर अफ द सेन्चुरी लगायत अनेकौं उपाधि र सम्मान पाएका हस्ती म्याराडोनालाई फुटबलका जादुगर ब्राजिलियन पेलेसंगै तुलना गरिन्छ।
२० औं शताब्दीको सर्वश्रेष्ठ फुटबाल खेलाडीकै ट्रफी पेले र म्याराडोनाले संयुक्तरुपमा हासिल गरेपनि यी दुईबीचको सम्बन्ध कहिल्यै सुमधुर रहेन्। मोजमस्ती लागुऔषध लत (ड्रग्स), असमाजिक हर्कत, बिन्दास प्रेम र डेटिङ, विवादस्पद अभिव्यक्ति र राजनीतिक साँठगाँठले सधैभरी लाइमलाइटमा रहेका जुझारु खेलाडी र व्यक्तित्व हुन् – म्याराडोना। वावजुद यी आरोपका उनको खेल कौशल, रणनीति र गोल गर्ने स्मार्ट कला मानवजाति रहुनजेल चर्चा र प्रसंगको विषय रहनेछ। अन्त्यमा महान खेलाडीलाई श्रद्धाञ्जली !