वीरेश राई,

वर्ष‌‌‌‌‌‌ : ०३ | अङ्कः २० | मंसिर/पौष २०७७,

‘ जिन्दगी संघर्ष हो र जिन्दगी आशा ‘ हो। यो वाक्य प्रा.डा. टङ्कप्रसाद न्यौपानको एक मात्र गुरु मन्त्र हो। यिनले यही गुरुमन्त्रलाई आत्मासात गरेर टोमप्रसादलाई टङ्कप्रसादमा रुपान्तर गरे ।

प्रदेश नं. १ को पहाडी जिल्ला धनकुटाको चुङमाङमा जन्मिएका टङ्कप्रसादको न्वारानको नाम टोमप्रसाद हो। वि.सं. २००५ माघ ६ गते जन्मिएका न्यौपाने ११ महिनाको उमेरमा टुहुरा भए। आमा हर्कमाया न्यौपाने (बराल) को मृत्यु भएपछि हजुरआमा पर्ने मायादेवी दाहालको दुग्धपानबाट न्यौपानेको प्राण–रक्षा हुन्छ।

न्यौपानेको पिताको नाम हरिप्रसाद न्यौपाने हो। पत्नीको मृत्युपश्चात टाइफाइडले ग्रसित हरिप्रसाद प्यारालाइसिसले लङ्गडा भए। ‘ओरालो लागेको हरिणलाई बाछोले पनि खेदाउँछ’ भनेझैं हरिप्रसादलाई टोलछिमेकका सबैले ‘लङ्गडा पण्डित’ भन्न थाल्छन्। श्रीमतीको मृत्यृ भएपछि उनको जीवन निर्वाहको समस्या दिनानुदिन चुलिदै जान्छ। त्यही कारण सात वर्षको छोरा टङ्कलाई लिएर सदाका लागि चुङमाङबाट विदा लिई जोखिम मोल्दै धरान आइपुग्छन्। संयोगले चुङमाङकै पुष्पलाल घिमिरेको घरमा आश्रय लिन पुग्छन् र त्यहाँबाट बजारका घर घर गएर, पाती पढेर माग्दै हिँड्छन्। बालक टङ्कप्रसाद पनि बुवासँग हुन्छन्। यसरी नयाँ ठाउँमा मानो जुटाउँछन्।

यही क्रममा हरिप्रसाद न्यौपानेलाई पिण्डेश्वर मन्दिर र बालक टङ्कप्रसादलाई पिण्डेश्वर संस्कृत महाविद्यालयको हण्डी खानु पाउने व्यवस्था हुन्छ। यही संस्कृत महाविद्यालयबाट आठ वर्षको उमेरदेखि औपचारीक शिक्षा आरम्भ गरेका न्यौपानेले वि.सं. २०२३ मा शास्त्री उत्तीर्ण गर्छन् त्यसपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं लाग्छन्। तर आर्थिक अभावका कारण नियमितरुपमा अध्ययन गर्न सक्दैनन्। यद्यपी उनी आफ्नो लक्ष्यबाट पछि हट्दैनन्। कहिले पढाउँदै र कहिले पढ्दै गर्दै वि.सं. २०२८ सालमा एम.ए. उत्तीर्ण गर्छन् र वि.सं. २०५८ सालमा धनकुटाका किरात आठपरिया राईको भाषिक अध्ययन शीर्षकमा विद्ययावारिधी गर्छन्। संस्कृतमा नब्यब्याकरणमा आचार्यसम्मको अध्ययन गरेका न्यौपानेले बि.सं. २०५३ सालदेखि सङ्खुवासभाका किरात लोहरुङ राईको भाषिक अध्ययन गर्दै आइरहेका छन्।

पेशाले प्राध्यापक टङ्कप्रसाद न्यौपाने कवि पनि हुन्। ‘नेपाल’ पत्रिकामा वि.सं. २०१९ सालमा ‘पूmलबारी’ शीर्षकको कविता प्रकाशित गरेर कविमा दरिएका न्यौपानेका साहित्यको रुपरेखा, अनिवार्य नेपाली शिक्षण निर्देशिका, व्यावहारि नेपाली व्याकरण लगायत ११ वटा पुस्तक प्रकाशित छन्। वि.सं. २०२८ सालमा डा. गोविन्द पोखरेलकी छोरी मीनासंग विवाह बन्धनमा बांधिएका न्यौपाने बि.सं. २०३२ सालदेखि प्राध्यापन पेशामा लागेका हुन्। न्यौपाने दम्पत्तिका दुई पुत्र र एक पुत्रीगरी तीन सन्तान छन्।

धरान, विजयपुरमा स्थायीरुपमा बस्दै आएका प्रा.डा. टङ्कप्रसाद न्यौपाने महेन्द्र बहुमुखी क्याम्पस धरानका पूर्व क्याम्पस प्रमुख हुन्। त्रि.वि. बाट सेवा निवृत्त न्यौपानेसंग ४० वर्ष लामो प्राध्यापनको अनुभव छ। आफूले आरम्भ गरेको काम सम्पन्न गरेर छाड्ने विशेषताका धनी उनी भन्छन् – ‘‘जिन्दगी संघर्ष हो र जिन्दगी आशा हो, निराशा होइन।’’ यसरी एउटा सामान्य टुहुरो अबोध बालक अनेकौं संर्घष पश्चात विद्यावारिधीसम्मको यात्रा तय गर्दै हजारौं नेपालीका लागि प्रेरक व्यक्तित्व तथा प्रेरणाका स्रोत बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *