डा. सनतकुमार वस्ती,
वर्ष: ०३ | अङ्कः २०| मंसिर/पौष २०७७,
एउटी सानी बालिका थिइन् पुलोमा। सारै राम्री। रहरलाग्दी शिशु। दिव्यताले ओतप्रोत। हेरिरहूँ खेलीरहूँ र माया गरिरहूँ जस्ती। खेल्थिन्, खान्थिन्, रुन्थिन् , हाँस्थिन्, अनि चकचक पनि गर्थिन् छुनुमुने शिशु। भोक लागेपछि रुन्थिन्। गीत गाए जस्तो मीठो रुन्थिन् अनि आफ्नै गीतमा लठ्ठ परेर फेरि रुन्थिन् अनि आनन्दित भएर झनै रोइ रहन्थिन्। बाबु रोएको सुनेर आजित हुन्थे र भन्थेः न रो केटी। नत्र पुलोमाले लैजाला है। आमा झर्किएर भन्थिन् : न रो केटी। अहिले पुलोमालाई लगेर दिन्छु, अनि खालिस्। कुरो यत्ति हो।
तर, संयोग कस्तो भने पुलोमा नामभएको एउटा दानव पनि थियो, त्यो त्यसै घरमा लुकेर पहिले देखि नै बस्थ्यो। कतै अदृश्य भएर घरको एक कुनामा डेरा जमाएर बसेको थियो।
सधैँ यस्तो सुन्दा सुन्दा उसको मनमा के कुराले डेरा जमाएर बस्यो भनेः यो राम्री केटी पुलोमा त मेरै हो। अहिले यति राम्री छ। पछि ठूली भएपछि झन् कति राम्री होली। आहा ,यस्ती राम्री केटी यिनीहरुले मलाई दिने भए। कस्तो मज्जा। अनि पुलोमा त मेरै हो भन्ने कुरा मनको अन्र्तआत्मामा जमेर बस्यो।
तर, बाबुआमालाई यो कुरा के थाहा?
विचरी पुलोमालाई यो कुरा झन् के थाहा?
नभन्दै पुलोमा चाँडै हुर्किई , जतिजति ठूली हुँदै गई तेति तेति राम्री झन्
झन् राम्री हुँदै गई। तरुनी भएपछि बाबुआमाले बिहा गरिदिने सुर कसे। त्यसबेला एकजना सुविख्यात महर्षि थिए : भृगु। सारै तेजस्वी, महान् तपस्वी, सारै ठूला विद्वान् र परमज्ञानी। स्वयं विश्वस्रष्टा ब्रह्माजीले एकपटक वरुणको यज्ञमा महर्षि भृगुलाई अग्निबाट उत्पन्न गराएका थिए।
ती भन्दा उत्तम वर अरु को पो हुन सक्थ्यो र? पितामाताले प्रस्ताव गरे, महर्षिले सहर्ष स्वीकार गरे। हुन पनि तेति राम्री कन्याको वर हुन पाउनु सौभाग्यकै कुरा हो। तिनीहरुको विवाह भयो, अर्थात् पुलोमाको भृगुसँग बिहा भयो। आफ्नी सारै राम्री दुलहीलाई भृगु सारै माया गर्थे। चाँडै नै पुलोमा गर्भवती पनि भइन्।
एक दिन ती महर्षि भृगु बिहानै स्नान गर्न नदीतिर गएका थिए। त्यसै बेला एउटा नराम्रो घटना घट्यो। भृगुपत्नी पुलोमा आश्रममा एक्लै थिइन्। तेसै बेला दानव पुलोमा त्यहाँ आइपुग्यो। अनि ती परमसुन्दरी पुलोमालाई देखेर मुग्ध भयो, कामाशक्तिले आक्रान्त बनेर आफ्नो होश हवास सबै गुमायो।
तर, विचरी पतिव्रता पुलोमालाई यो सबै के थाहा? उनले त आफ्नो उत्तम संस्कार अनुकूल अभ्यागतको स्वागत गरिन्, सत्कार गरिन्, आसनपाद्य अर्पित गरिन् अनि आश्रममा रहेका अमृतमय स्वादु फलफूल समर्पित गरेर अतिथि देवको अभिनन्दन गरिन्।
गर्योउता त्यो दानव चाहिँ उनको दिव्य रुपराशि र मुस्कानमय स्वागत पाएर झनै मक्ख परयो। उनी एक्लै भएको देखेर हर्षले गद्गद् भयो। अनि अब यिनलाई हरण गरेर लैजानु प¥यो भनेर मसक्क आँट पनि गर्यो। आफूलाई नै दिने भनेर पहिले नै बाबुआमाले भनिसकेकाले त्यो दानव पुलोमा मेरै हो भन्ने मन बनाएर बसेको थियो। अनि फेरि पछि उनको बिहा भृगुसँग गरिदिएकाले उसलाई आफू ठगाइमा परेको बोध भएको थियो। मनमनै ती बाबुआमासँग उसलाई रीस पनि उठिरहेको थियो। आज बल्ल फेला परेकाले, त्यो पनि एकान्तमा, उ खुशी भएको थियो। यति राम्री भइछे यो केटी भनेर गजब मान्दै ऊ मक्खपनि परेको थियो।
अब पुलोमालाई उठाउनुपर्यो भनेर अठोट गरेकै बेला उसले के देख्यो भने अग्निशालामा अग्निदेव प्रज्वलित छन्। अनि उसले कुराको रामरी छिनोफानो नै गरुँन त, भनेर अग्निका सामुन्नो गएर भन्न लाग्योः हे पावक, तिमी त देवगणका मुख हौ। अतः म जे सोध्छु त्यसको साँचो साँचो जवाफ देउ है।
पहिले नै यी सुन्दरीलाई मनमनै पत्नीका रुपमा वरण गरिसकेको हुँ, तर अहिले आएर यिनका पिताले यिनको विवाह यो अर्कै मानिस भृगुसँग गरिदिए। अहिले म यिनलाई हरण गरेर लैजान लागेको छु। यो मेरो भाग भृगुले हडपेको देखेर रीसले मेरा कन्सिरी ताती रहेका छन्। अब हे पावक तिमी भन त : वास्तवमा यो केटी कसकी पत्नी हो? हे सर्वज्ञ अग्नि, अनि त्यो बिहेमा तिमी यज्ञ बनेर अगाडि विद्यमान थियौ नि, होइन त। नढाँटी कन भन त यो वास्तवमा कसकी पत्नी हो? त्यस राक्षसको कुरा सुनेर अग्निदेव एकदमै दुःखी भए। के भनूँभनूँ भयो। उनी एकातिर असत्यदेखि एकदमै डराउँथे र अर्कातिर क्रोधमूर्ति भृगुको शापदेखि पनि।
उनले अल्याङ्टल्याङ् गर्दै मसीनो स्वरमा यसो भनेः हे राक्षस पुलोमा, हुन त यिनलाई पहिले तिमीले नै वरेका थियौ, यिनका बाबुआमाले पनि तिमीलाई नै दिन्छु भनेका थिए नि। तर पछि तिमी भन्दा असल केटा यी भृगुलाई पाएपछि मन्त्रोच्चारणमय विधिपूर्वक मलाई साक्षी राखेर वैदिक क्रियापूर्वक यिनै भृगुसँग बिहे गराइदिएका हुन्, मैले जानेको यही हो।
अग्निको कुरा सुनेपछि मेरी केटी यही रहिछे भन्ने पक्का भएकाले त्यस राक्षस पुलोमाले वराहको रुप धारण गरेर भृगुपत्नी पुलोमालाई अपहरण गर्यो। पुलोमाको पेटमा निवास गर्ने भृगुको छोरो, त्यो शिशु अत्यन्त तेजस्वी थियो। यो जबर्जस्ती देखेर असह्य क्रोधले युक्त भएर योगबलद्वारा माताको गर्भबाट च्युतभएर बाहिर आयो। यसरी च्युतभएर आएकाले नै त्यस बालकको नाम च्यवनप्रख्यात भयो। आमाका गर्भबाट प्रकट भएको त्यो तेजस्वी बालकलाई देख्नासाथ त्यो राक्षस, पुलोमालाई छोडेर तल खस्यो र तत्काल डढेर खरानीभयो।
यो आपाधापीले मूर्छित भएकी पुलोमा केहीबेरमा होशमा आएपछि आफ्नो छोरालाई छातीमा टाँसेर रुँदै ससुरा ब्रह्माजीकहाँ पुगिन्। आफ्नी बुहारी, भृगुकी पतिव्रता पत्नी यसरी रोएको देखेर उहाँले सान्त्वना दिएर चूप लगाउनु भयो। तिनका आँसूका धाराले एक नदीबन्यो, त्यसको नाम रह्यो वधूसरा। त्यो कालान्तरसम्म पनि ऋषिच्यवनको आश्रमका छेउबाट बगिरहन्थ्यो। यसपछि च्यवनका पिता महर्षि भृगुले यो सबै कुरा थाहा पाएर क्रुद्ध भएर पत्नी पुलोमालाई सोधेः त्यो फटाहा राक्षस पुलोमाले तिमीलाई त चिन्दैनथ्यो। उसलाई कसले तिम्रो परिचय दिएछ।
पुलोमाका मुखबाट अग्निदेवले त्यो काम गरेको थाहा पाउनासाथ रीसले आगो भएका भृगुले अग्निदेवलाई जलभिषेकपूर्वक शाप दिइहाले :आज उपरान्त तँ सर्वभक्षी भएस्। पवित्र आहुतिमात्र ग्रहणगर्ने अग्निदेवले त्यसै बेलादेखि पवित्र अपवित्र जे पनि भक्षण गर्न थाले।