मुलुक डेस्क,
वर्ष : ०३ | अङ्क २० | मंसिर /पौष २०७७,
जनकपुरधाममा प्रथम ‘महिला शहिद उमा सिंहको स्मृतिमा विभिन्न संघ संस्थाहरुले १२औँ स्मृति दिवस भनाएका छन् । वि.स. २०६५ साल पुस २७ गते राती करिब ७ः३० बजेको समयमा अहिलेको जनकपुरधाम उप महानगरपालिका वडा १४ रजौल स्थित गोविन्द कार्कीको घरमा डेरा लिई बसेकी उनलाई एक समूहले आक्रमण गरेको थियो । सिंहलाई खुकुरी प्रहार गर्दै कपाल समातेर घिसार्दै वारदलीमा ल्याउँदै जताततै खुकुरी प्रहार गरी सख्त घाईते बनाएका थिए । आक्रमण लगत्तै उपचारको लागि जनकपुरधाम १ मिल्स एरियास्थित केयर मेडिकलमा उपचारको लागी ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि काठमाडौ लगिरहेको अवस्थामा बाटोमै मृत्यु भएको थियो ।
रेडियो टुडेमा कार्यरत सिंहलाई उनकै भाउजू ललिता सिंहले धनको लोभमा हत्या गराएको ठहर भईसकेको छ । यता, धनुषा जिल्ला अदालतले पत्रकार उमा सिंह हत्या प्रकरणका मुख्य अभियुक्त स्वामीजी भनिने उमेश यादवलाई जन्मकैदको सजाय सुनाइ सकेको छ । यादवले उमाकी भाउजू ललिता सिंहसँग मिलेर हत्याको योजना बनाएका थिए ।
उमा सिंह हत्याको अभियोगमा उमाकी भाउजू ललिता सिंह, ललिताको छोरा अभिषेक सिंह, सिरहा रामपुरको श्रवण कुमार यादव, धनुषा लक्कडका नेमलाल पासमान, बल्हासघाराका स्वामीजी भनिने उमेश यादव, सिरहा महेशपुरका चन्देश्वर साह, सिरहा सिमराका धनेश्वर साह, सिरहा सितापुरका विजय यादव, विन्दु यादव, भारत सीतामढीको नरहा कटरहियाका वैद्यनाथ सिंह कुमर र उनको छोराहरू धनञ्जय सिंह र अजय सिंह, राजपुरका सुभाष यादव भन्ने सुमेश्वर यादव, महोत्तरी खुट्टा पिपराढीका विमलेश झा भनिने विमलेश विमलविरुद्ध धनुषा जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो । तर अदालतको ठहर अुनसार २०६८ जेष्ठ २६ मा धनुषा जिल्ला अदालतका न्यायाधीश विमलप्रसाद ढुङ्गेलले उमा सिंहकी भाउजू ललिता सिंहलाई जन्म कैद र नेमलाल पासमानलाई सर्वस्वसहित जन्म कैद सजायको फैसला गरेको थियो । ती दुवै जना अहिले जलेश्वर कारागारमा छन् । त्यसैगरी न्यायाधीश ढुङ्गेलको इजलासले प्रतिवादी भनिएका श्रवण कुमार यादवलाई सफाई दिई जलेश्वर कारागारबाट थुना मुक्त गरिदिनु भनी फैसला गरेका थिए ।
हत्याको कारण
उमा कुमारी सिंह हत्या हुनुभन्दा अगाडि करिब डेढ वर्ष अगाडि देखि जनकपुरको रेडियो टुडेमा रिपोर्टरबाट काम सुरु गरि समाचार बाचन गर्दै आएकी थिइन् ।
उमाको आमा सुशिला सिंहले केही जग्गा उमाकै नाउँमा गरिदिने र विहे गरिदिने भन्ने कुरा उठाउँदा उमाकी भाउजू ललिता सिंहले उमाको नाउँमा जग्गा नर्गनु भन्दै विरोध गरेकी थिईन् । ललिता सिंहले सम्पूर्ण सम्पति एकलौटी पाउनको लागि स्वामीजी यादव भन्ने उमेश यादव, नेमलाल पासमान, ललिता सिंह, चन्देश्वर साह, धनेश्वर साह, विजय यादव, विन्दु यादव समेतको मिलिमतोमा उमाको हत्या गरिएको तत्कालीन अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक राम कृष्ण कार्कीको प्रतिवेदनमा उल्लेख छ । श्रवण यादवको समूहले उमा कुमारी सिंहलाई १ महिना अगाडि अपहरण गर्ने प्रयास गरेको थियो । स्वामीजी यादव भन्ने उमेश यादव, उमालाई सम्पूर्ण जग्गा ललिता सिंहको नाउँमा जग्गा दर्ता गरि दिनको लागि धम्कीसमेत दिँदै आएको थियो ।
२०६३ भदौ १५ मा सिरहाको रामनगर मिर्चैया वडा नं. ३ स्थित आफ्नै होटेलबाट माओवादीहरूको समूहले उमाको बुवा रंजित सिंह र दाइ संजय सिंहलाई अपहरण गरी बेपत्ता बनाएको थियो । उमाको हत्या माओवादीको मिलेमतोमा परिवारका सदस्य भाउजुले गराएको जगजाहेर छ ।
जगगाको नाममा १० कठ्ठा जग्गा उमाको बुवाले उमाको नाउँमा पास गरेका थिए । त्यसपछि उमाको आमाले धुरमी बजारको दुई कठ्ठा जग्गासमेत उमाकै नाममा पास गरेकी थिइन् ।
उमेश यादव तराई एकता परिषदको केन्द्रीय अध्यक्ष थिए । उनले आफ्नो पार्टीको केन्द्रीय सदस्य प्रसान्त भनिने नेमलाल पासमानलाई उमाको हत्या हुनुभन्दा १५ दिन अगाडि भेटेर उमालाई हत्या गर्न १ लाख ५० हजारको सुपारी लिएको बताएका थिए । हत्या भएपछि विमलेश झा भनिने विमलेश विमलले हत्याको जिम्मा लिएको विज्ञप्ति फ्याक्स गरेको थियो।
उमा सिंहको परिचय
‘उमा सिंह’ लाई जनकपुरधाममा मात्रै नभई पूरै नेपालमा पत्रकारिता जगतमा साहसको प्रतीकका रुपमा चिनिन्छ । उमा सिंह नेपालको पहिलो शहीद महिला पत्रकार हुन् । पत्रिका र एफएममा समाचार संकलन गर्ने, सम्पादन गर्ने, अन्तर्वार्ता गर्ने, कार्यक्रम चलाउने तथा राजनीतिक भ्रष्टाचार, महिला हिंसाजस्ता विषयमा समेत टिप्पणी गर्न सक्ने क्षमता रहेको उमाले मधेशमा पत्रकारिता क्षेत्रमा लाग्ने नवप्रवेशीहरुको लागि एउटा उदाहरण प्रस्तुत गरेर यो संसारबाट विदा भइन् ।
रेडियो टुडे, हिमालिनि पत्रिका, नेपाली सरोकार मासिह, कान्तिपुर सहितका मिडियामा प्रायः महिला हिंसा र अन्यायमा परेकाबारे लेख्ने पत्रकार उमा सिंह सिरहा महेशपुर गाउँकी उमाले लहानस्थित दृष्टिकोण टाइम्स साप्ताहिकबाट पत्रकारिता सुरु गरेकी थिइन् । सिरहाकै पहिलो महिला पत्रकार समेत बन्न पुगेकी उनी जनकपुरधाम आउनु पूर्व लहानमा पत्रकारिता गरेकी थिइन् । पूर्वी तराईमा पत्रकारितामा महिला दुर्लभ हुँदा उनको साहसी छवि बन्दै थियो । पछि मिर्चैयामा हत्याको धम्की दिइएपछि असुरक्षाका कारण उनी जनकपुरधाम पुगेकी थिइन् ।
जनकपुरधामस्थित क्याम्पसमा नेपाली विषय लिई स्नातकोत्तर गरिरहेकी उनले मैथिली र नेपालीमा बरोबर आफूलाई प्रस्तुत गरिरहिन् र छोटै समयमा मधेशकी एक ससक्त महिला पत्रकारको पहिचान बनाउन सफल भइन । तर नियति लाई यो सब सम्भवतः मन्जुर थिएन । सत्यलाई दबाउन चाह्ने उच्छृंखल एक समूहले निर्ममता पूर्वक उनको हत्या गर्यो । उनी यो संसारमा नभए पनि निश्पक्ष पत्रकारिता कसरी गर्ने भन्ने सिकाएर पक्कै गइन् । मधेशमा कयौें व्यक्तिले उनीबाटै प्रेरित भएर पत्रकारिता सुरु गरे । पत्रकारिता गर्नेहरुलाई उमा सधैँ याद आइ रहने छिन् । उमा सिंको नाममा कयौं पुरस्कार र कोष खडा गरिएको छ । यद्यपी पहिलो शहीद महिला पत्रकार प्रति स्थानिय देखि केन्द्रसम्मका संस्था र सरकारले केही उल्लेख्य र प्रशंसनिय कार्य हुन् सकेको छैन् । उनको नामको पुस्तकालय वा प्रतिमा बनाउने काम पनि अझै अधुरो छ । आउने पिढीको लागि उनको साहसि कार्य र प्रगतिको कहानिका लागि र सम्मान तथा सम्झनाका लागि पनि उक्त अधुरा कार्य सम्बन्धित संघसंस्था वा सरकार मार्फत हुन् नितान्त जरुरी देखिन्छ ।