मुलुक डेस्क,
वर्ष : ३ | अंङ्कः २० | मंसिर २०७७
मैथिली भाषाका महाकवि एवं कविकोकिल विद्यापतिको नाममा स्थापित विद्यापति पुरस्कार कोषले उनकै स्मृति दिवस सन्दर्भ अर्थात कार्तिक धवल त्रयोदशिका दिन प्रत्येक वर्ष झैं यस पटक पनि पाँचवटा विद्यामा पुरस्कार दिने भएको छ । मैथिली भाषाका लागि नेपालमा दिइने सार्वधिक ठूलो राशिको यो पुरस्कार नेपाल सरकारको संस्कृति मन्त्रालयद्वारा २०६८ सालमा स्थापना भएको हो । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार दुई लाख र अन्य पुरस्कार एक–एक लाखको रहेको छ ।
विद्यापति पुरस्कार छनौट समितिद्वारा नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार ‘मैथिली साहित्य परिषद राजविराज’ लाई तथा नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार कलाकारद्वय धनुषाका अजित कुमार साह र सप्तरीका सुनिताकुमारी साह, नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार धनुषाका पत्रकार सुजीतकुमार झा, नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार धनुषाका राजनीतिज्ञ वृषेशचन्द्र लाल तथा नेपाल विद्यापति मैथिली पाण्डुलिपी पुरस्कार सप्तरीका अमरेन्द्रकुमार यादवलाई दिइने निर्णय गरेको छ । मैथिली कला संस्कृति पुरस्कार यसपल्ट दुईजनालाई संयुक्त दिने भएकोले जनही पचास हजारको दरले दिइने छ । विशेष समारोह बीच घोषणा गरिएकालाई माघ महिनामा राष्ट्रपतिद्वारा पुरस्कार वितरण गर्ने कोषका सदस्य सचिव नविनकुमार मिश्रले जनाएका छन् ।
‘विद्यापति’
मैथिली भाषा साहित्यका महाकवि तथा कवि – कोकिल विद्यापति ठाकुर प्रसिद्ध कवि हुन् । विद्यापति भारतको बिहार राज्यको बिसपी, मधुबनीमा सन् १३६० मा जन्मेका हुन् । विद्यापतिले संस्कृत, अवहट्ट र मैथिली सहित तीन भाषामा अनेकौं रचना गरेका छन् ।
बहुआयमिक ब्यक्तित्वका धनि विद्यापति सौन्दर्य प्रेमी थिए । प्रकृती, मानविय संवेदना, ज्ञान–विज्ञान र ईश्वरीय आस्थामा अगाध स्नेह एवं विश्वास राख्ने महाकवि विद्यापतिलाई अझ पनि मिथिलाञ्चलमा भगवान् शिवको अनन्य भक्तका रुपमा हेर्ने गरिन्छ । विद्यापति पदावली, कीर्तिलता, कीर्तिपताका, पुरुष परीक्षा, भू–परिक्रमा, लिखनावली, पदावली, गोरक्ष विजय, वर्षकृत्य, विभागसार, दुर्गाभक्तितरंगिणी, दानवाक्यवली लगायत दर्जनौं गीत, भजन, नचारी र स्तोत्र उनका अमर गाथा हुन् । सन् १४४८ मा सदकालागि संसार छाडेका विद्यापतिका कीर्तिहरु आज पनि अमर र सान्र्दभिक छ । विद्यापति स्मृति दिवसमा उनीद्वारा रचित सर्वाधिक लोकप्रिय गीतका अंश –
‘जय जय भैरवि असुरभयावनि
पशुपतिभामिनि माया ।
सहज सुमतिवर दियहु गोसाइनि
अनुगतगति तुअ पाया ।।
घनघनघनन घँघरु कट बाजत
हनहन कर तुअ काटा ।
विद्यापति कवि तुअ पदसेवक
पुत्रविसरि जनि माता ।।’