उपेन्द्र खनाल,
वर्ष: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७
गतवर्ष स्वदेशी तथा बिदेशी गरी डेढ लाख पर्यटकले अवलोकन गरेका थिए बन्दीपुर। यस वर्ष पनि सरकारले ‘भिजिट नेपाल २०२०’ मनाउने तयारी गरिरहँदा बन्दीपुरमा पर्यटक आउनेको जमात ठुलै थियो। तर, अकस्मात विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड– १९ का कारण भ्रमण वर्ष स्थगित भयो। जसको प्रत्यक्ष असर तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पनि पर्यो। जसले गर्दा यहाँको पर्यटन क्षेत्र नराम्ररी प्रभावित बन्यो। बन्दीपुर पर्यटन विकास समितिका पुर्व अध्यक्ष बैस गुरुङ भन्छन्, यहाँ पर्यटकको चाप बढ्दै गएको थियो। ‘यहाँका व्यवसायीले पर्यटकलाई आकर्षित र सेवा सुविधामा कुनै कमि नदिनका लागि ठुलाठुला होटेलहरु निर्माण पनि गरेका थिए। मैले पनि झण्डै आठ करोड खर्च गरी सुविधासम्पन्न होटेल निर्माण गरेको छु तर कोरोनाका कारण आज बन्दीपुरको पर्यटन क्षेत्र नै धारासायी बनेको छ।’ लकडाउन अघि दैनिकजसो आन्तरिक भन्दा बाह्य पर्यटकको चहलपहल हुने बन्दीपुर अहिले सुनसान छ।
यहाँका होटेल व्यवसायी सबैभन्दा बढी मारमा परेका छन्। विसेषगरी भाडामा बस्नेहरुको अवस्था दयनीय छ। एकातिर घरबेटीले भाडा मात्रै मागिरहेका छैनन् बैकको पनि बारम्वार फोन आइरहन्छ। अर्कोतिर आफुहरुले परिवारका सदस्यलाई खानको जोहो कसरी गर्ने हो भन्ने चिन्ताले उनीहरुलाई पिरोलिरहेको छ। हुनत केही घरबेटीले व्यवसायीलाई घरभाडामा छुट दिएका पनि छन् तर केहीले भने छुट त परको कुरा जहिलेनी भाडा मात्रै मागिरहन्छन्। यता बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा भने व्यवसायीलाई समस्या परेकाले बजार क्षेत्रका घरबेटीलाई भाडामा छुट दिनको लागि आग्रह गर्ने बताउँछन्। व्यवसायीहरु समस्या पर्यो भनेर गाउँपालिका आउनुभयो। आफुहरुलाई परेको समस्याहरु बताउनुभयो। प्रायको समस्या एउटै थियो घरबेटीले भाडा माग्नु भएको छ। तर हामीसँग पैसा छैन। बन्दाबन्दी अघि त हामीले समयमै पैसा बुझाउँथ्यौ तर यतिखेर बन्द छ परिवार त कसरी पाल्ने हो चिन्ता छ कसरी भाडा तिर्ने वहाँहरुको प्रस्न थियो। अध्यक्ष थापाले भने यो समय सबैलाई समस्या परेको छ। तपाइहरुको समस्यालाई म घरबेटीसँग जस्ताको तस्तै राख्नेछु। मैले घरबेटीलाई भाडावालालाई यतिखेर समस्या परेकाले केही छुट गरिदिनको लागि आग्रह गर्दछु। त्यति नै हो मैले गर्न सक्ने उनले भने।
बन्दाबन्दी नहुँदा यहाँका व्यवसायीलाई पाहुना भित्र्याउन भ्याइनभ्याई हुन्थ्यो। परम्परागत सस्कृतिका घरहरु भएकाले पनि यहाँ आउने पर्यटकको संख्यामा बर्सेनी उल्लेख्य वृद्धि हुने गरेको छ। धेरै पर्यटकको भ्रमण हुने भएकाले यहाँ करोडौका सुबिधासम्पन्न होटेलहरुसमेत निर्माण भैरहेका छन। त्यतिमात्र नभई गाउँपालिकाले एघार करोडको लागतमा मिनि ग्रेटवालसमेत निर्माण गरिरहेको छ। यो ठाउँ गण्डकी प्रदेशको पोखरा पछिको दोस्रो धेरै पर्य्टक आउने पर्यटकीय क्षेत्र हो। पर्यटकको चहलपहल बढेपछि यहाँ धेरै व्यवसायीले राम्रा सुविधासम्पन्न होटेलहरु निर्माण थालेका थिए। तर पछिल्लो समय देखिएको कोरोना संक्रमणको कारण यो ठाउँ धारासायी बन्दै गयो।
पर्यटकलाई आकर्षित गर्न डुम्रेदेखि बन्दीपुरसम्म केवलकार निर्माणको कामसमेत भैरहेको छ। बन्दीपुर बजार क्षेत्र सानो भएपनि ६० भन्दा बढी होटेलहरु यहाँ संचालित छन् तर यतीखेर बजार सुनसान छ। व्यवसायीहरु पाहुना कुरेर बसिरहेका छन्। पाहुना आउनेमा उनिहरुको झिनो आसा भने अझै मरेको छैन। कहिले कोरोनाको संक्रमण निर्मूल होला र फेरी पुरानै ढाँचामा बन्दीपुरको मुहार फेरिएला भन्दै पर्यटन व्यवसायीहरु प्रतिक्षा गरिरहेका छन्। पर्यटन क्षेत्रमा असर गरेपछि यहाँका व्यवसायीहरु मारमा परेका छन्। बाह्य पर्यटकको चहलपहल नभएपनि विस्तारै आन्तरिक पर्यटकको भने चहलपहल बढ्ने गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत महेस सुवेदी बताउँछन्। बिस्तारै लकडाउन खुकुलो बन्दै गएको छ। मानिसहरु पनि घरभित्रै बस्दाबस्दा आतिएका छन् उनीहरुले विस्तारै रमणीय र आनन्दित ठाउँ खोजीरहेका छन्। ‘उनीहरुको रोजाइमा फेरी पनि बन्दीपुर पर्न सक्छ। तर, बन्दीपुरका व्यवसायीले भने केही समय कुर्नुनै पर्छ।’
प्राचीन शैलीका मन्दिर, कलात्मक घर, बजारमा बिच्छ्याइएको बुटेदार ढुंगाले समेत बन्दीपुरको सौन्दर्य बढाएकाले पर्यटकको चहलपहल बढ्दै गएको थियो। तर, कोभिड १९ ले हरेक क्षेत्र प्रभावित बनायो। होटेलमात्र नभई बन्दीपुरका होमस्टेहरु पनि प्रभाबित बनेको छ। होटेलहरुमा बिदेसी पाहुनाको खचाखच हुन्थ्यो भने होमस्टे स्वदेसी पाहुनाले भरिभराउ हुन्थे। बन्दीपुरका फुर्सदिला महिलाहरु होमस्टे चलाएर जिविकोपार्जन गर्दै आइरहेका थिए। अब कहिले फेरी फर्किन्छ ती पुराना दिनहरु भनेर बन्दीपुरबासी पाहुनाको प्रतीक्षा गरिरहेका छन्।