दीपक कुमार सिंह,

वर्ष : ३ | अङ्कः १९ | असोज २०७७

हुलाकी राजमार्ग सडकखण्ड अन्तर्गत पर्ने जलेश्वर हर्दी सडकको काम ८५% सम्पन्न भएको दाबी इन्जिनियर पंकजकुमार यादवले जनाएका छन् । जलेश्वर देखि एकडारा, मनरा, सम्सी, खकना हुँदै हर्दी खोलासम्मको उक्त सडकखण्डको कूल लम्बाई २७ किमि. र चौडाइ १४ मिटर रहेको छ । कुल १४ मिटर चौडाइमध्ये गाँउ र नगरवस्तीमा ११ मिटर कालोपत्रे र अन्य ठाँउमा ७ मिटर कालोपत्रे गरिएको छ ।

शर्मा–पप्पु–रोशन नामक कम्पनीद्वारा निर्माण भइरहेको उक्त सडकखण्डको लागत रु.७६ करोड छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७४ फाल्गुणमा उक्त कम्पनीले ठेक्का पाएको थियो । यद्यपी नेपालमा चलिआएको प्रथा बमोजिम वर्षातको कारण, मजदुर समस्या, गाँउले र सम्बन्धित निकायको यथोचित सहयोग आदिको अभावका कारण यसको अवधि थप गरि २०७७ पौषसम्म पुर्याइएको छ । साइट इन्चार्ज ई. यादवका अनुसार हर्दीदेखि मनरा नगरपालिकाको शुरुवात सिमासम्म लगभग १७ किमि. कालोपत्रे सम्पन्न भइसकेको छ र बाँकी मनरादेखि एकडारा, बर्खि हुँदै जलेश्वरसम्मको १० किमि सडकखण्डको काम पनि करिब करिब सम्पन्न हुने अवस्थामा रहेको छ ।

विशेषगरी मनराभित्र पर्ने सडकखण्डको काम दु्रतगतिमा नभएको गुनासो ई.यादव लगायत नगरवासीको रहेको छ । ई. यादवका अनुसार मनराका मेयरको पुर्णरुपमा सहयोग नभएको आरोप छ । साथै बिजुलीको पोल (खम्भा) सार्नमा जलेश्वर विद्युत प्राधिकरणबाट हालसम्म यस सडकमा असहयोगको व्यवहार हुँदैं आएको र वस्तीमा नगरवासीले नाला निर्माणमा सहयोग नगरेको गुनासो छ । अर्को तर्फ मनरावासी स्थानिय पत्रकार रामअधार साहका अनुसार नगरमा नाला निर्माण गर्दा नगरका मेयरले खासै चासो नदिएको तथा व्यक्तिको घरको मुआब्जा नदिएकाले यो समस्या बल्झेको हो । सडकको वास्तवकि आकार नलिई नेताको आसेपासे र कार्यकार्ताको दबाबमा बाँगो–टिङ्गो नालाको निर्माण ठेकेदारद्वारा भएको आरोप लगाउँछन् । कसैलाई काखा र कसैलाई पाखाको सिद्धान्तअनुरुप नगर क्षेत्रमा नालाको निर्माण भएको आरोप लगाउँछन् स्थानिय नगरका ई.प्रमोदकुमार सिंह । नेता र कार्यकर्ताको तथा ई.यादवकैकारण नालाको कारणले गर्दा आफु र आफ्नो जग्गामा जर्बदस्ति निर्माण गर्न खोजेको आरोप लगाउँछन् स्थानीय गंगाप्रसाद सिंह । उनको अनुसार उनकै घरदेखि सय मिटरसम्म मनरा बजारको बाटोको अवस्था जर्जर र दयनिय छ यद्यपी न नगरपालिका न ठेकेदार यसतर्फ ध्यान दिन्छन् । दिनहु यहाँ दुर्घटना हुने गर्दछ, मान्छे हिड्ने अवस्था छैन, स्थानिय डोमको घरको पानीको निकास बाटैमा हुन्छ, टिपर र जेसिबी यही बाटोमा ग्ड्छ, ३/४ फिट गहिरो खाल्डाखुलडी छन् तर सुधार कँहीबाट छैन् । बाटो बन्दै छ, पिच बन्दैछ भनेर मेयर र साइट ई. एक अर्कामा दोष थुपार्न व्यस्त देखिन्छ ।

उत्तर–दक्षिण २७ किमिको उक्त सडक अन्र्तगतको कलर्भट, डाइभर्सन, पुलआदिको निर्माण लगभग सकिएको छ । नगरवासीको समन्वय र वर्षा नहुने हो भने आँउदो तीन महिनामा निर्माण सम्पन्न हुने जनाकारी ई.यादवले बताउँछन् । बाबजुद १३ किमि नाला निर्माण र ७२ मध्ये १ पूर्व–पश्चिम निकास हुने नालाको निर्माण अझै बाँकी रहेको छ । नेताहरुको दुर्दशिताको अभाव, भ्रष्टाचार र केहीहदसम्म नगरवासिको अवरोधका कारण पनि झण्डै आधा शताब्दी पुरानो यस सडकखण्डको निर्माणमा ढिलाई हुन गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *