संजीव सिंह,

वर्ष :०३ | अङ्कः १८ | भाद्र २०७७

व्यक्तिको व्यक्तित्व निर्धारणमा उसको उपलब्धि र जिन्दगानीले महत्वपूर्ण योगदान गरेको हुन्छ । साभ्रान्त र मर्यादित जीवन, त्यो पनि जीवनभर उच्च ओहदामा बसेर राष्ट्रसेवा गर्ने अवसर विरलै व्यक्तित्वलाई जुर्ने गर्दछ । कुनै पनि राष्ट्रको नागरिकले राजासंग प्रत्यक्ष संवाद र सहकार्य जीवनभर गर्न पाउनु मान सम्मान, उच्च पद र प्रतिष्ठामा आसिन भइ रहनु राजयोग सरह नै मान्नु पर्छ । झन आयुको दृष्टिकोणले शतायुसम्म बाँच्न पाउनु अलौकिक र अदभुत संयोग नै हो । हो, यस्तै एक उदाहरणिय र ऐतिहासिक महान व्यक्तित्व थिए – अनिरुद्र प्रसाद सिंह । उनी २१ औं शताब्दीको उत्कृष्ट व्यक्तित्व पुरस्कार (महारानी एलिजावेथद्वारा) बाट सम्मानित समेत हुन ।

न्यायमुर्तिकोरुपमा राष्ट्रसेवा गर्ने राष्ट्रकै पहिलो एवं कम उमेरमै सो अवसर सिंहले नै पाएका थिए । उनी ३४ वर्षकै उमेरमा प्रधान न्यायाधीश जस्तो गरिमामय र सम्मान्ति पदमा आसिन भएका थिए । सप्तरीको राजगढमा वि.सं १९७६ माघ २० मा जन्मेका सिंह राजा महेन्द्रका अति निकटस्थ र विश्वास पात्र मानिन्थ्यो । सिंहको १ सय १ वर्षको उमेरमा उहाँकै निवास बत्तिसपुतलिमा भाद्र ३०, मंगलबार साँझ ७ः३० मा निधन भएको छ । निधनका कारण चिकित्सकका अनुसार निमोनिया भएको बताइएको छ ।

वि.सं. २००३ सालमा झापा गोश्वारको हाकिमको रुपमा जागिरे जीवनको शुरुवात गरेका उनी पछि त्यँही बडा हाकिमको रुपमा कार्यरत रहे । सिंह २००४ देखि २०११ सालमा झापा, दाङ, तौलिहवा र पाल्पाको बडा हाकिम भएर सरकारी कार्य सम्पादन गरे । उनी २०१२ सालमा शाही सल्लाहकारमा मोनिनत भए । त्यसबेलासम्म प्रधाान न्यायालयको रुपमा न्याय क्षेत्रको कार्य हुदैं थियो । जब २०१३ सालमा सर्वोच्च अदालत ऐन जारी भई सर्वोच्च अदालत गठन गरियो त्यसको पहिलो प्रधान न्यायाधीसका रुपमा अनिरुद्र प्रसाद सिंहले न्यायालयको नेतृत्व गरेका थिए । उनको कार्यकाल ३ वर्ष अर्थात (२०१३ जेष्ठ – २०१६ अषाढ) सम्म रहेको थियो । न्यायालयमा रहँदा उनकाद्वारा लिइएका फैसलाहरुले नेपालको न्याय जगतको विकासमा विशेष महत्व राख्दछन् । उनको चर्चित फैसलामध्ये बि.पि. कोइरालाविरुद्धको मुद्दामा लिइएको निर्णय न्याय जगतमा एउटा नजिर नै स्थापना गरेको छ । चारपासे न्यायाधीशहरुको तत्कालीन बाहुल्यतालाई हतोत्साहित गर्दै ‘ल’ ग्रयाजुएटलाई वकालतमा प्रवेश गर्ने हौसला र अवसर प्रदान गरेका थिए । निरन्तर कानुनी राज्य र विधिको शासन पक्षका वकालत गर्ने सिंहले न्यायालयलाई कार्यकारिणीबाट स्वतन्त्र बनाउने प्रयासमा निरन्तर लागि परेको थिए । सिंह प्रधान न्यायाधिश रहँदा अदालतका नजिरहरुको अभिलेखिकरणका लागि २०१५ सालबाट नेपाल कानुन पत्रिका (नेकाप) को प्रकाशन आरम्भ गरेका थिए ।

‘‘ कार्यकारिणी भनेको चील हो,
अदालत भनेको कुखुराको माउ,
र नागरिक भनेका चल्ला हुन् । ’’

सिंहको यो कथन आजको वर्तमान अवस्थामा चरितार्थ देखिन्छ । यद्यपी न्यायालय स्वतन्त्र र निष्पक्ष हुनु पर्दछ । उनको यो भनाई उनको फैसलामै उल्लेख गरिएको भनिए पनि कत्तै कत्तै पूर्व प्रधान न्यायाधीश हरि प्रसाद प्रधानको यो भनाई हो भन्ने पनि गरिन्छ । सिंह २०१६ सालमा लोकसेवा आयोगका अध्यक्ष समेत भएका थिए । उनी २०१७ सालमा कानुन मन्त्री, वन मन्त्रीलगायत अन्य मन्त्रालयको जिम्मेवारी पनि सकुशल निर्वाह गरेका थिए । राजा महेन्द्रले २०१८ सालमा नारायणहिटी राजदरबारमा विशेष जाहेरी विभागका प्रमुखमा सिंहलाई नियुक्त गरेका थिए । यसैगरी २०३२ सालमा संविधान सुधार आयोगको अध्यक्ष, २०३५ सालमा अख्तियार दुरुपयोग निवारण आयोगका प्रमुख आयुक्त नियुक्त भएका थिए । ७ वर्षसम्म प्रमुख आयुक्त रहेका सिंहलाई २०४२ सालमा राजसभा स्थायी समितिको सभापतिमा नियुक्त गरियो । निरन्तर गठन हुने दर्जनौं अति उच्च समितिहरु तथा छानबिन समितिहरुको प्रमुखमा उनको नियुक्ति बारम्बार भई नै रहन्थ्यो । राजदुतदेखि राजप्रसादका हरेक पदमा जसो सिंहको नियुक्ति हुने गर्दथ्यो । राजा महेन्द्र र बीरेन्द्र संगको साइनो नै उनको व्यक्तित्वको अर्को पर्यायवाची शब्द र महत्व थियो । एउटा व्यक्ति यति धेरै पद र जिम्मेवारीले गर्दा उनी ‘लार्जर देन लाइफ’ बाँचेका थिए । बहु आयमिक व्यक्तिवका धनि सिंह धर्म र कर्ममा अति नै आशावादी थिए । समाज सुधारकको उपमा पाएका उनी जीवनको उत्तरार्धमा अध्ययन, योग र पुजामा बढी व्यस्त देखिन्थे । सिंहको योगदान र कदरलाई नमन गर्दौ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *