डा. सनतकुमार वस्ती,
वर्ष: ०३ | अङ्कः १८ | भाद्र २०७७
ॐ
कुर्वन्नेवेह कर्माणि जिजीविषेत् शतं समाः ।
एवं त्वयिनान्यथेतोऽस्ति न कर्म लिप्यते नरे ।।
( ईशावास्योपनिषद् : २)
यस जगत्मा सत्कर्म गर्दै, सक्रिय बनेर शय वर्षसम्म बाँच्ने आकांक्षा गर। ती सत्कर्मले नै तिमीलाई बन्धन मुक्त गराउँछ, मानव मात्रका निम्ति सर्वोत्तम जीवन पद्धति यो भन्दा अर्को छैन।
भरखरै शतायुमा पाइला हाल्नु भएको थियो उहाँले, उहाँ अर्थात् श्रद्धेय कविवर माधव घिमिरेले। उपनिषद्ले प्रवर्तन गरेको जीवन दर्शनलाई चरितार्थ तुल्याउने ऋषितुल्य मानवको दर्शन गर्न भनेर पुगेँ उहाँको निवास स्थान अलका बस्तीमा म सनतकुमार वस्ती। काष्ठमण्डपको उत्तरवर्ती लैनचौर स्थित त्यो एकान्त, शीतल स्निग्ध एवम् समुन्नत भूभागमा, आत्मीय शान्तिको अनुभूतिमा यकायक हृदयका तारतन्तुहरू सौम्य तरंगमा झंकृत हुनपुगे। दक्षिणाभिमुख कविमन्दिरको मूलद्वारमा दुई सोपान उक्लिएर प्रवेश गर्न लाग्दा अनायास आँखाहरू बायाँतिर आकर्षित हुन्छन्, प…र देखिन्छ :
स्वयम्भू चैत्यमा परम करुणामय मुद्रामा आफूतिरै नियालि रहेका सिद्धार्थका सम्मोहक आँखाहरू! त्यसै सम्मोहनले हृदयको अनाहत नादमय महासागरमा डुबिरहँदा, मुसुमुसु हाँस्दै प्रकट भएका, पूरापूर सय वर्षको काव्यमय लोकयात्रा सम्पन्न गरेका, कृतार्थजीवन राष्ट्रकविसँग साक्षात्कार हुन्छ।
मेरो मस्तक स्वतः नत बन्दछ। अनि, चिटिक्क परेको एकान्त आगन्तुक कक्षमा उहाँसँगै आनन्दासनमा बस्दा यस्तो लाग्दछ – भरखरै चौबीस पुगेर पच्चीस मात्रै टेकेको नवयुवकसँग बसेको छु। फेरि लाग्दछ – भरखरै नवतरुणीको पियारमा आकण्ठ डुबेको कुनै लक्का जवान, त्यस वृद्धत्वको आवरणमा भित्र कतै लुकेर बसेको छ। गहन विस्मयबोधले मुस्काउँदै बोल्छु : हजुरले त उपनिषद्का मन्त्रद्रष्टा ऋषिले बोलेको आदर्श जीवनबाँचेर चरितार्थ तुल्याउनु भयो। यो ऊर्जाशील शतायुको रहस्य के हो ?
अनि, यशस्वी कविवर श्रीघिमिरे गहन भावमय मुद्रामा बताउनुहुन्छ : सत्कर्मशील शतवर्षीय जीवनका तीन सूत्र :
१. सकारात्मक चिन्तन
२. नियमित योगसाधना
३. सिर्जनशील जीवनशैली
१. सकारात्मक चिन्तन :
कविवरको मधुमय वाणी मुखरित हुन्छ – सकारात्मक चिन्तनको पहिलो परिचय हो वाणीमा मधुरता। परमेश्वरले हरेक मानिसका हृदयमा सुमधुर संगीत भरिदिएका छन्। कसैप्रति पनि दुर्भाव नराख्नु, कसैको पनि चित्त नदुखाउनु अनि सत्यको अनुगामी हुनु मधुर वाणीका गुण हुन् :
गाली गर्दैन सारंगी, झूठो बोल्दैन वाँशुरी ।
छ संगीत तिमीभित्र, मीठो बोल सधैँभरि ।।
दोस्रो परिचय हो : उत्साह र साहसले भरिएको हृदय। हरेक अवस्थामा धैर्यशील हुनु, कदापि विचलित नहुनु सकारात्मक चिन्तनकै अभिव्यक्ति हुन् :
तारा राती निदाउन्नन्, झरीमा रुन्न इन्द्रिनी ।
छ साहस तिमीभित्र, चम्क आपत्तिमा पनि ।।
तेस्रो कुरा हो : जीवन्तता। जीवन रसमय छ , सुवासमय छ , मधुमय छ, रंगमय छ, यिनै जीवनगुणको बोधले मानिस जीवन्त बन्दछ :
कुहिन्न फूलको रंग, सुक्दैन महको रस
छ जीवन तिमीभित्र, बन जीवन्त मानिस।
अनि, सकारात्मक चिन्तनको चौथो अभिव्यक्ति हो – आफनै हृदयकाशमा वास गर्ने ईश्वरत्वको बोध। घटघटमा बस्ने ईश्वरलाई चिनेर सबैप्रति प्रेम, करुणा र सद्भाव राख्नु अनि स्वयं देववत् बन्नु जीवनको सर्वोत्कर्ष हो :
को भन्दछ नराम्रो हुँ, नजाती कुन बन्छ र ?
छ ईश्वर तिमीभित्र, बन रे शिव, सुन्दर।
(गाली गर्दैन सारंगी कविताबाट)
२. नियमित योगसाधना
१०० वर्षको वयोऽवस्थामा पनि युवकोचित उमंग, जीवन्तता र निश्चिन्तता कविवरको नियमित योग साधनाको लब्धि थियो। स्वास्थ्य सम्मत आहारविहार, आफ्नो क्षमतानुकूल सत्कर्मानुष्ठान, सुषुप्तिमय निद्रा एवम् उल्लासशील जागरण यी सबै योगीका जीवन साधना हुन्। यो साधना पक्षलाई कविवरले आजीवन साध्नु भएको देखिन्छ। उहाँको जीवन पद्धति हेर्दा योगेश्वर श्रीकृष्णको सरल एवम् सारवान् वचनको अनायास स्मरण हुन्छ :
युक्ताहारविहारस्य युक्तचेष्टस्य कर्मसु ।
युक्तस्वप्नाऽवबोधस्य योगो भवति दुःखहा ।।
(श्रीमद्भगवद्गीता, अध्याय ६, श्लोक १७)
योग भनेको जोड्नु हो। जीवात्मालाई परमात्मासँग, स्थूल भौतिक सत्तालाई आध्यात्मिक सूक्ष्मताको आयामसँग जोड्ने कला नै वास्तवमा योग हो। कविवरको दृष्टि त्यस्तै गहन भाव बोधले सम्पन्न रहेको देखिन्छ :
माटी फूलबन्यो र फूल पनिभो कान्तिच्छटा कोमल।
तप्कूँ झैँ त्यस कान्तिको तरलता त्यै कान्तिमै रल्मल।।
सारा आकृति विम्ब भो र रस भो पग्लेर विम्बै पनि।
यो सौन्दर्यसुधा पिऊँ कि अथवा हेरूँ अचम्मै बनी।।
(घामपानी कविताबाट)
एकान्त काननमा प्रफुल्लित एउटा दिव्य फूल हामी पनि देख्छौँ, कविपनि देख्दछ। हामी फूललाई फगत् फूल देख्दछौँ तर कवि त्यही फूलभित्र समस्त सृष्टिको रहस्य देख्दछ। फूल, फूलहुनु भन्दा पहिले एउटा ससानो बीज, माटोमै एकीभूत हुन्छ। धरतीको पियार, आकाशको सह्यार, हावाको वयार र पानीको संस्कार सबैले परिपुष्ट बनेर फूल बन्दछ, द्रष्टाको एकान्त धारणामा त्यो कोमल एवम् तरलित कान्तिच्छटामा रूपान्तरित बन्दछ, हेर्दा हेर्दै ध्यानावस्थामा त्यो कान्तिच्छटा पनि एक सौन्दर्य विम्ब बन्दछ अनि अन्तमा त्यसै फूलमा समाधि अवस्थामा रसमय परमेश्वरकै प्रतीति हुन्छ। उपनिषद्को वचन छ : रसो वै सः, रसो ह्येवायं लब्ध्वानन्दीभवति ।
आखिरमा विस्मयापन्न कविमन जिज्ञासा व्यक्त गर्दछ :
यो सौन्दर्यसुधापिऊँ कि अथवा हेरूँ अचम्मै बनी ?
यसरी कविवर घिमिरेका काव्यमा उच्च योगसाधनाका सोपानहरू : धारणा, ध्यान र समाधिको स्वर यत्र तत्र ध्वनित – प्रतिध्वनित भएको पाउँछौँ।
३. सिर्जनशील जीवनशैली
मन्त्रद्रष्टा ऋषिकै भाषामा कविवर भन्नुहुन्छ ः मानिसभित्र सिर्जनाका यस्ता गुप्त दिव्य एवं अमूर्त तारतन्तुहरू छन् जसलाई कुशलतापूर्वक बजाएपछि त्यसबाट अनौठा रंग र रूपका मूर्तिहरु अभिव्यक्त हुन्छन् जसमा ऊ स्वयं मन्त्र फुकेर प्राणसञ्चार गराउँदछ। समस्त सौन्दर्य र सुखको सर्जक ऊ स्वयं हो। अनि त्यही सर्जन कलामा नै जीवनको सार सञ्चित भएको हुन्छ :
मान्छे! तेरै हृदयमनि छन् गुप्त अज्ञाततन्त्री।
ब्यूँझन्छन् रे विविध रंगका मूर्ति तैंबाट मन्त्री।।
सारा शोभा, सकल सुखको एउटा मूल तैंहोस्।
मूच्र्छा तेरै हृदय छ भने सृष्टिको भूल तैंहोस्।।
(कालीगण्डकी कविताबाट)
हृत्केन्द्रमा विराजमान सत् चित् आनन्दमय ऊर्जाको आलोक नै सिर्जनाका आकार प्रकारमा अभिव्यञ्जित हुन्छ। जीवनको लब्धि पनि त्यही सृजनशीलता हो। सिर्जन कर्मले मानव जीवन सन्तृप्ति, सार्थकता र उल्लासमय अहोभावको नितनूतन तरंगले तरंगायित बन्दछ। शान्ति र प्रसन्नताले उद्भासित समुज्ज्वल मुहार सिर्जनशील मानवको परिचय हो, राष्ट्रकवि यसका जीवन्त प्रतिमान हुनुहुन्थ्यो। उहाँले स्पष्ट उद्घोष गर्नुभएको छ :
मेरो सच्चा सुख छ दिनहूँक्यै नयाँसिर्जनामा।
आफैँलाई पनि सृजनको शोखमा बिर्सनामा।।
आफनै छातीमनि स्वरसको मूल भेट्दैन जस्ले।
तिर्खा कैल्यै पनि हृदयको हेर ! मेट्दैन त्यस्ले।।
(कालीगण्डकी कविताबाट)
९९ वर्षको वयोवस्थामा आफ्नै कालजयी रचना अश्वत्थामाको हिन्दीमा समश्लोकी अनुवाद गर्नु, १०० वर्षको परिपूर्ण वेलामा पनि नवसृजनाका स्वरहरू प्रतिध्वनित गर्नु, १०१ वर्षको परमावधिमा पनि ऋतम्भरा महाकाव्यको परिष्कारमय काव्यकर्ममा संलग्न रहीरहनु जस्ता सक्रिय जीवनविधिले नै उहाँलाई ऋषितुल्य गरिमा प्रदान गरेको छ, कुर्वन्नेवेह कर्माणि जिजीविषेत् शतं समाः को दृष्टान्त बनाएको छ। उहाँको सन्देश छ :
छ जिन्दगीमा हरियोपना क्यै
छन् स्वप्न मीठा नवसिर्जना क्यै
पलापला छन् यदि प्राणवन्त
भने यहीजीवनहो अनन्त।
(यही जीवन हो : अनन्त कविताबाट)
यस्ता आदर्श एवं परिपूर्ण जीवनका प्रतिमूर्ति ऋषितुल्य श्रद्धेय राष्ट्रकवि माधव घिमिरे प्रति अन्तर्हृदयको प्रीतिमय श्रद्धाञ्जलि कविवरकै भाकामा :
हे ज्योतिर्मय! ज्योति एक पतला झल्कोस् हृदाकाशमा।
भित्री भाव छचल्किएर कविता निस्कून् अनायासमा।।
प्यारा! त्यो क्षणको अपूर्व रसको धारा तिमीलाइहोस्।
कालिन्दी गहमा बहून्, हृदयले उर्लेर गाईरहोस्।।
(आत्मनिवेदन कविताबाट)