राजेश्वर डी. श्रेष्ठ,
वर्ष: ०३ | अङ्कः १८| भाद्र २०७७
धर्म, संस्कृति, सम्पदा र परम्परा प्रत्येक सामाजिक प्राणीको मन मसितष्कमा समाहित हुन्छ। त्यसको जगेर्ना एवं निरन्तरताका लागि उ जहिले सम्वेदनशिल हुन्छ भन्ने कुराको ताजा प्रमाण कोरोना महामारीका बीच रातो मच्छिन्द्रनाथ रथ यात्राको प्रयास र त्यसबाट निस्केको परिणामले देखाएको छ। रथयात्रा गर्ने पर्ने धार्मिक एवं सामाजिक दवाब र कोरोना महामारीका कारण घोषित निषेधित परिस्थितिका बीच रथ यात्राका क्रममा दुःखद परिणामले सरकार र जनता कसैको लाभ गरेको छैन।
नेपालीहरु यसै पनि धार्मिक, सांस्कृतिक र परम्पराका लागि प्रख्यात मात्र नभएर त्यस भित्रका विविधता र मन मस्तिष्क बाटै समर्पित हुने स्वभावका लागि पनि परिचित छन्। धार्मिक प्रवृत्ति, आस्थावान र संस्कृति प्रेमी भएकै कारण जोखिम मोलेरै भएपनि परम्परालाई निरन्तरता दिंदै जीवन्त बनाउन संधै तयार र तत्पर रहने स्वभाव छ नेपालीको। यसै स्वभाव र समर्पणको परिणाम थियो रातो मच्छिन्द्रनाथ रथयात्राको क्रममा देखिएको दृष्य।
कोरोना संत्रमणले तीब्रता पाईनै रहेको अवस्था यद्यपि छदैंछ। निषेधाज्ञा र कठिनाई पनि हटिसकेको छैन। नेपाल र नेपाली मात्र नभएर सारा विश्व अहिलेको कोरोना महामारीसंगै जुुध्दै छ। महामारीको सन्त्राश र परिणाम भवावहकै अवस्थामा छ। नागरिकको जीवन स्थिर छ, तनावपूर्ण छ र संकटपूर्ण छ। लामो समयको बन्दाबन्दीले नागरिकमा अब रोगले भन्दा भोकले मरिने डर पलाइ सकेको छ। अब कोरोना संग डराएर होइन हराएर अघि बढनुपर्छ भन्ने मानसिकता बनाइसकेका छन् नागरिकले। यो यथार्थ हो अहिलेको। रोग र भोक छदैछ। तर यी अवस्थाले धर्म संस्कृति एवं परम्परा समेत जोखिममा पर्दै गएको छ। संस्कृति, परम्पराले निरन्तरता पाइरहेको अवस्थामा मात्र, त्यो जीवन्त रहन सक्छ, अन्याथा लोप भएर जाने हुन्छ।
पटक पटकको तैयारी र पटक पटकको स्थगनले रथयात्रा अनिश्चित बन्दै गएपछि छोटो विधिबाट रथयात्रा संचालन गर्ने प्रयास भयो।मच्छिन्द्रनाथका पुजारी, मुल ज्योतिषि र रथयात्राका समूहले रथयात्रामा भिड नहुने गरी छोटो विधिबाट सम्पन्न गर्न जिप्रका, प्रधानमन्त्री, कोभिड–१९ संकट व्वस्थापन केन्द्र, गुठी संस्थान र राष्ट्रपति कार्यालय समेतमा पत्र बुझाउँदा कहिबाट पनि ठोस निर्णय नआउँदा स्थानिय रथयात्राका लागि अघि बढेका थिए। स्वस्फुर्त जम्मा भइ रथयात्राको तैयारी हुँदा भिडका कारण कोरोना संक्रमण फैलिन नदिन स्थानिय प्रशासन नियन्त्रण्णका लागि तैयार नै थियो। प्रशासनले रोक्न खोज्ने, रथयात्रा समूह रथ गुडाएर विधि पुरा गर्न खोज्ने। दुवै तर्फ बलपफुती हुँदा नागरिक र प्रहरीबीच झडप हुन पुग्यो भने आक्रोशित व्यक्तिको तारोमा केही प्रहरी परे, परिणम दुवै तर्फ सुखद रहेन। यो घटना नहुन समयमै यदि स्थानीयको अनुरोधलाई गम्भिरताका साथ लिई छोटो विधिबाट रथयात्रा गर्ने तर्फ सरकारको सोच भएको भए र आफैं विधि पु¥याएर छोटो रुपमा रथयात्रा गर्ने तर्फ लागे पनि परिणाम सुखद रहने, तनाव, झडप एवं दुःखद नै भयो।
कोरोना संकटमा समग्र सरकार ‘कोरोना….कोरोना’ मै सिमित देखियो। लकडाउन लगाउने, खुकुलो पार्ने अनुरोध गर्ने, तथ्याकं पेश गर्ने र सत्तारुढ शिर्षस्थ नेता, नेतृत्वको चित्तबुझाई, चित्त दुखाई भाग मिलान मै केन्द्रित रहेको जग जाहेर नै भयो। जनता भोकभोकै मर्ने परिस्थिति, रोगले छट्पटिदा पनि अस्पताल र स्वास्थ्य केन्द्रहरुमा उपचार नगर्ने परिस्थितिबाट सरकार चिन्ताहीन देखियो। रोगले ग्रसित र भोकले त्रशित जनताको अवस्थाको भन्दा सत्ताको अतृप्त भोक बोकेको नेतृत्वहरुको मृगतृष्णामा नै सत्ताशक्ति अलझीरहेको महसूस भयो जनमानसमा।
धर्म, संस्कृति र परम्पराको निरन्तरता, सम्र्वधन र संरक्षणको दायित्व मूलतः सरकारको हुन्छ। जनता सहभागी र सहयोगी हुन्छन्। नागरिकहरुलाई उत्साहित गराउने काम सरकारको हो। परम्पराको निरन्तरतालाई समय परिस्थिति अनुसार परिमार्जन र परिस्कृत गर्दे लानु पर्छ, यसमा दुईमत छैन। कडि कडाइले मात्र समस्याको समाधन भने हुदैंन। रातो मच्छिन्द्रनाथको रथयात्रा छोटो विधि बाट सुरिक्षत रुपमा सम्पन्न गर्ने भएको सहमतीले पूर्णतः निराश हुनुबाट जोगिएको छ, केही सन्तोषपद हो। यो घटना एउटा उदाहरणको घटना हो। यसबाट विशेषत सरकारले १४ सय वर्ष पुरानो परम्पराप्रतिको नागरिक भावना बुझेर त्यस्तो घटना दोहोरिन नदिनका लागि सरकार नागरिक साथ साथ हिडनु पर्ने देखिन्छ।