डा. सनतकुमार वस्ती,
वर्षः ०३ | अकंः १७ | श्रावण २०७७
महाभारत यो समस्त ब्रह्माण्डकै बृहत्तम आर्ष महाकाव्य हो। यसको मूलनामजय काव्य हो। यसमा रहेका १८ पर्वहरुमा सवालाख श्लोक रहेका छन्। आजभन्दा लगभग पाँचहजार वर्ष पहिले यो विराट् ग्रन्थ महर्षि वेदव्यासले रचना गर्नुभएको हो। पूर्वीय संस्कृति, सभ्यता र परम्पराका जे जति सम्पदा र अभ्यास छन् ती सबैको स्रोत यही ग्रन्थ हो भनिन्छ। यो यति व्यापक छ कि यसमा सबकुछ छ। यस जगत्मा भएका र हुन सक्ने सबै घटना, चरित्र, विचार, भावना, अनुभूति र वस्तु प्रपञ्च यस सुमहत्तम ग्रन्थमा पाइन्छ भनिएको छ। संस्कृतको सुप्रसिद्ध सूक्ति बनेको यो बहुश्रुत श्लोकले महाभारतको महत्तालाई स्पष्ट उद्घोष गरेको छ :
धर्मे चार्थे च कामे च मोक्षे च भरतर्षभ ।
यदि हास्ति तदन्यत्रयन्ने हास्ति न तत् क्वचित् ।।
:महाभारत आदिपर्व : ६२ अध्याय, ५३ औँ श्लोक।
ऋषि वैशम्पायन राजा जनमेजयलाई सम्बोधन गरेर भन्नुहुन्छ :
हे भरतर्षभ राजन् , धर्म , अर्थ , काम र मोक्ष यीचारै पुरुषार्थका बारेमा जे जति तत्त्वहरु छन् ती सबै यसै महाभारतमा पाइन्छन्। यस महाभारतमा जे छ त्यहील अन्यत्र पनि छ ,यहाँ जे छैन त्यो कहीँ पनि छैन।
प्रारम्भ
महाभारत ग्रन्थको प्रारम्भ यसरी भएको मानिन्छ :
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम्।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्।।
नारायण श्रीकृष्ण र नरोत्तम श्रीअर्जुन, देवी सरस्वतीएवम् महर्षि व्यासलाई प्रणाम गरेर यो जय यद्वा महाभारत महाकाव्य पढ्नु पर्दछ। सबैलाई नमन गरेर यो ग्रन्थ श्रीगणेश गर्दैछु। सबै श्रद्धेय देवदेवीहरुको कृपा रहोस्। यो कथा प्रारम्भ हुन्छ : नैमिषारण्यमा। त्यहाँ लोमहर्षका पुत्रउग्रश्रवा आइपुग्नु भएको छ। किनभने त्यहाँ कुलपति शौनकले १२ वर्षे सत्र प्रारम्भ गर्नुभएको छ।
त्यसमा हजारौँ ऋषिगण सम्मिलित हुनुहुन्छ। कोतूहलवश उग्रश्रवा त्यहाँ आइपुग्नु भएको छ। उहाँको विधिपूर्वक स्वागत सत्कार गरेपछि ती ऋषिगणले उहाँ कहाँबाट आउँदै हुनुहुन्छ? प्रश्न राखेपछि उग्रश्रवाले आफू चक्रवर्ती राजा परीक्षितपुत्रज नमेजयले आयोजना गरेको सर्पयज्ञमा वैशम्पायनले उपदेश गरेको श्रीकृष्णद्वैपायन व्यास प्रणीत चमत्कारमय कथाले परिपूर्ण महाभारत सुनेर आनन्दित भएर आएको वृत्तान्त सुनाउनु हुन्छ। त्यसपछि पहिले कौरव पाण्डवको घमासान युद्ध भएको स्थान समन्तपञ्चकतिर घुमफिर गरेर आफू यता आइपुगेको बताउनुहुन्छ।
ऋषिहरुले त्यो कथा आफुहरुलाई पनि सुन्ने कौतूहल भएको भावना व्यक्त गरेपछि उग्रश्रवा सौतिले महाभारतको समग्र कथा भन्न थाल्नुहुन्छ : महाभारत तीनै लोकमा महत् ज्ञानको स्रोतका रुपमा प्रतिष्ठित छ। यो समस्त सृष्टि अन्धकारमय आदिकालमा कतैबाट प्रकट भएको एउटा अण्डबाट प्रारम्भ भएको हो, त्यसै अण्डबाट ब्रह्मा विष्णु महेशादि सकलदेवता र समस्त चराचर जगत् प्रकट भएको हो। कल्पान्तमा यो सबै फेरि त्यहीँ विलीन हुन्छ। समस्त देवताहरुको सृष्टि तेत्तीस हजार, तेत्तीस सय तेत्तीस संख्यामा रहेको छ। आदिकालमा रविका सन्तानहरु फैलिएर यो जगत् व्याप्त बनेको हो। रवि, देवभ्राट्, दशज्योति, शतज्योति र सहस्रज्योति क्रमशःभए। दशज्योतिका दशहजार, शतज्योतिका एकलाख र सहस्रज्योतिका दशलाख सन्तान भए। तिनैबाट कुरुवंश, यदुवंश, भरतवंश, ययाति र इक्ष्वाकुका वंश एवं अन्य राजर्षिहरु सबैको वंश विस्तार भयो।
श्रीगणेश
परापूर्वकालमा पराशरनन्दन ब्रह्मर्षि श्रीकृष्ण द्वैपायनले महाभारतको रचना गरि सकेपछि विचार गर्न लाग्नुभयो ः अब यो ग्रन्थ समग्र शिष्यमण्डलीलाई कसरी अध्ययन गराउने होला? यो कुरा अन्तर्मनले बुझेर लोकगुरु ब्रह्मा उहाँको आश्रममा आउनुभयो। व्यासजीले ससम्मान स्वागत र आदर सत्कार गरि सकेपछि व्यासजीले आफूले एउटा महाकाव्य रचना गरेको तर त्यसलाई लेखीदिने मानिस नभेटेको कुरा गर्नुभयो।
ब्रह्माले यो महाकाव्य लोक विख्यात हुनेछ , यसभन्दा ठूलो अर्को काव्य यस जगत्मा हुने छैन र बडे बडे कविहरुले पनि यसै काव्यलाई स्रोत बनाएर आफ्ना कृतिहरु तैयार गर्नेछन् भन्ने आशीर्वचन प्रदान गर्दै यो महाकाव्य लेख्नलाई गणाधिपति श्रीगणेशलाई स्मरण गर्ने सुझाव दिनुभयो र ब्रह्मलोक फर्किनुभयो। व्यासजीले स्मरण गर्नासाथ गणेशजी प्रकट हुनुभयो। उहाँको ससम्मान स्वागत सत्कार
गरेपछि व्यासले विन्ती बिसाउनु भयो :
लेखको भारतस्यास्यभवत्वं गणनायक ।
मयैव प्रोच्यमानस्यमनसाकल्पितस्य च ।।
श्रुत्वैतत् प्राहविघ्नेशो यदि मे लेखनी क्षणम् ।
लिखितो नावतिष्ठेततदा स्यां लेखको ह्यहम्। ।
व्यासोऽप्युवाच तं देवमबुद्ध्वामालिखक्वचित् ।
ओमित्युक्त्वा गणेशोऽपिबभूवकिल लेखकः ।।
ग्रन्थग्रन्थिं तदाचक्रे मुनिर्गूढं कुतूहलात् ।
यस्मिन् प्रतिज्ञया प्राहमुनिद्र्वैपायनस्त्विदम्। ।
अष्टौ श्लोकसहस्राणि अष्टौ श्लोकशतानि च ।
अहं वेत्ति, शुको वेत्ति, सञ्जयो वेत्तिवा न वा ।।
: महाभारत, आदिपर्व, प्रथमअध्याय७७ –८१
हे गणनायक, हजुर मैले रचना गरेको यस महाभारत ग्रन्थको लेखक बनिदिनुहोस्। म भन्दै जान्छु, तपाईँ लेख्दै जानुहोला। मैले मनैमन यस ग्रन्थको रचना गरिसकेको छु।
यो कुरा सुनेर गणनायकले भन्नुभयो : व्यासजी, लेख्दै जाँदा एकै छिन् पनि मेरो लेखनीले रोकिन नपरोस् है त , पहिले यो वचन दिनुहोस्, अनिमात्र म यो ग्रन्थको लेखक बनूँला।
व्यासजीले भन्नुभयो : हवस्, तर हजुरले अर्थ नबुझीकनचाहिँ एक अक्षर पनि नलेख्नुहोला है त, गणेशजीले ओम् भनेर यो कुरा स्वीकार्नुभयो। अनि व्यासजीले कौतूहलवश ग्रन्थमा विभिन्न ग्रन्थिहरू कूटपद्यहरू रच्नु भयो। प्रतिज्ञापूर्वक स्वयं व्यासले भन्नु भएको छ : यस ग्रन्थमा ८८००अर्थात् आठ हजार आठ सय यस्ता श्लोक छन् जसको अर्थ म बुझ्छु, शुकदेव बुझ्नुहुन्छ, तर सञ्जय बुझ्छन् बुझदैनन् म भन्न सक्दिनँ।
ती रहस्यमय श्लोकका बारेमा विचार गर्दागर्दै गणेशजीको लेखनी बेला बेला अडिने गर्दथ्यो। जब जब गणेशजी फटाफट लेखि सक्नुहुन्थ्यो अनि व्यास त्यस्ता श्लोक भन्नु हुन्थ्यो। त्यस्ता श्लोकमाथि गणेशजीले विचार गरुञ्जेलमा व्यासजीले अनेक श्लोक रचि सक्नु हुन्थ्यो। यसरी गणेशजीलाई दिएको वचन व्यासजीले पूरा गर्नुभयो र व्यासजीको वचन गणेशजीले पनि निर्वाह गर्नुभयो।
विशिष्टता
एक लाख श्लोक भएको यस उत्तम ग्रन्थलाई आद्य महाभारत भनिन्छ। पछि व्यासजीले उपाख्यान भाग छोडेर चौबीस हजार श्लोक भएको भारतसंहिता बनाउनु भयो। जसलाई विद्वान्हरू भारत भन्दछन्। एउटा अनुक्रमणिका पनि बनाउन ुभयो जसमा फगत् १५० श्लोक रहेका छन्। व्यासजीले सर्वप्रथम आफ्ना सुपुत्र शुकदेवजीलाई यो ग्रन्थ अध्ययन गराउनुभयो। त्यसपछि भगवान् व्यासले साठी लाख ६००००० श्लोक भएको एउटा अर्को संहिता तैयार गर्नुभयो। त्यसमध्ये तीस लाख श्लोक देवलोकमा समादृत भयो , पन्ध्र लाख श्लोक पितृलोकमा र चौध लाखश्लोक गन्धर्वलोकमा। यस मनुष्यलोकमा जम्मा एक लाख श्लोक भएको आद्यभारत प्रतिष्ठित भयो। मनुष्य लोकमा समस्त वेदहरुका वेत्ता व्यासशिष्य वैशम्पायनले यस ग्रन्थको प्रवचन गर्नुभयो।
महाभारतमा :
दुर्योधन एउटा क्रोधमय महावृक्ष हो। कर्ण त्यसको स्कन्ध हो, शकुनि शाखा हो, दुःशासन समृद्ध फलफूल हो, अज्ञानी राजा धृतराष्ट्र् नै यस वृक्षका मूल हुन्। उता, युधिष्ठिर एउटा धर्ममय विशाल वृक्ष हुन्। अर्जुन स्कन्ध, भीमसेन शाखा, माद्रीनन्दन नकुल सहदेव समृद्ध फलफूल हुन्। श्रीकृष्ण, वेद र ब्राह्मण नै यस वृक्षका मूल हुन्। ऐ ११०,१११ पद्य
इतिहासपुराणाभ्यां वेदं समुपबृंहयेत् ।
बिभेत्यल्पश्रुताद् वेदो मामयं प्रहरिष्यति ।।
: महाभारत, आदिपर्व, प्रथमअध्याय : २६८
महाभारतको गरिमा प्रकाशित गर्दै यहाँ के भनियो भने : इतिहास र पुराणको सहायताले वेदहरूको अर्थ विस्तार र विस्तार गर्नुपर्दछ। जो इतिहास र पुराणसँग अनभिज्ञ हुन्छ तेस्तासँग वेद डराउँदछ कहीँ यसले ममाथि नै प्रहार पो गर्ने हो कि?
एकतश्चतुरो वेदान् भारतं चैतदेकतः ।
पुरा किल सुरैः सर्वैः समेत्य तुलया धृतम् ।।
चतुभ्र्यः सरहस्येभ्यो वेदेभ्यो ह्यधिकं यदा ।
तदाप्रभृतिलोकेस्मिन् महाभारतमुच्यते ।।
महत्त्वे च गुरुत्त्वे च ध्रियमाणं यतोधिकम् ।
महत्त्वात् भारवत्त्वाच्चमहाभारतमुच्यते ।।
निरुक्तमस्य यो वेद सर्वपापैः प्रमुच्यते। महाभारत, आदिपर्व, प्रथमअध्यायः २७२–२७४ :
प्राचीनकालमा सबै देवताहरु एकत्र भएर तराजुको एक पल्लामा चारै वेद र अर्को पल्लामा महाभारत राखेछन्। तर सरहस्य चारै वेद भन्दा पनि महाभारत नै भारवान् भएछ। त्यसै वेलादेखि यो ग्रन्थ महाभारतका नामले प्रख्यात भयो। सत्यको तराजुमा तौलँदा यो ग्रन्थ महत्त्व, गौरव वागम्भीरताको दृष्टिले समेत वेदभन्दा बढी गरिमापूर्ण देखियो। अतएव महत्ता, भार वागम्भीरताका विशेषताहरुले गर्दा यसको नाम महाभारत रहन गएको हो। जो यस ग्रन्थको निर्वचनलाई जान्दछ त्यो समस्त पापबाट मुक्त हुन्छ।