प्रमोदकुमार साह,
वर्षः ०३ | अङ्कः १७ | श्रावण २०७७
सीमा नाकासँग जोडिएको धनुषाका किसानले प्रत्येक वर्ष भारतीय बजारबाट मल ल्याउने गरेका छन्। यद्यपि यस वर्ष कोरोना महामारीले त्यो पनि सम्भव भने देखिएन गतवर्ष धानको सिजनमा डीएपी मल नपाएका किसानले यस वर्ष पनि अभाव भएपछि भारतीय बजारबाट ल्याउने मनसाय बनाउन थालेका छन्। ‘केही दिन अझै कुर्छौं, पाइएन भने भारतीय बजारमै जानुपर्ला, ‘मलका लागि भौतारिएका स्थानीय किसान अरविन्द यादवले भने।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–४ का किसान उपेन्द्र साहले असार पहिलो साता १८ कठ्ठा जग्गामा रोपाइँ गरे। बाँकी १२ कठ्ठा जग्गामा रोपाइँका लागि उनले खेतको तयारी गरिरहेका छन्। तर उनलाई अहिले एउटै चिन्ता छ, खेत त जसोतसो रोपिएला, मलचाहिँ कहाँबाट ल्याउने? धान रोपाइँकै तयारी स्वरूप जेठ अन्तिम साता उनी रासायनिक मलका लागि साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीमा पुगे।
कर्मचारीले उनलाई स्थानीय सहकारी संस्थाबाट मल लिन सुझाए। तर उनले गाउँको सहकारी संस्थामा पनि मल पाएनन्। उनी पुनः जनकपुरस्थित साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी पुगे। कर्मचारीलाई जति आग्रह गरे पनि अहिले मल नरहेको बताउँदै असार दोस्रो साता आउन भने। तर असार दोस्रो साता पनि आफूले मल नपाएको गुनासो उनको छ। असार तेस्रो साता बित्न लाग्दा समेत मल नपाउँदा उपेन्द्र निकै चिन्तित देखिन्छन्। चालू सिजनमा डीएपी मलकै लागि उनी ६ पटकसम्म कृषि सामग्री कम्पनी पुगे।
तर जहिले जाँदा पनि रित्तै फर्किनुपरेको उनको गुनासो छ। ‘अहिले त त्यहाँका कर्मचारीले साउन मसान्तसम्ममा मात्र आउँछ भनेर फर्काउन थालेका छन्,’ उनले भने, ‘कृषि सामग्री कम्पनीका कर्मचारी आश्वासन मात्र बाँढ्छन्। ’मलका लागि बारम्बार कृषि सामग्री कम्पनी धाउँदै आएका अर्का किसान रमेश यादव पनि मल अभावको मारमा छन्।
आपूर्तिको ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनीको र ३० प्रतिशत साल्ट ट्रेडिङको रहे पनि कुनै वर्ष पनि सहजै मल नपाउने गरेको किसानको गुनासो छ। कृषि सामग्री कम्पनी लिमिटेड धनुषाका निमित्त शाखा प्रमुख रविकुमार केसरीले डीएपी र युरिया गरी जिल्लामा प्रत्येक वर्ष ६ हजार मेट्रिक टन (मेटन) मलको आवश्यकता रहेको जानकारी दिए। तर, दुवैगरी हजार मेट्रिक टन मात्र जिल्लामा आउने गरेको उनले बताए। हरेक सिजनमा कम्तीमा ३ हजार मेट्रिकटन डीएपी र ३ हजार मेट्रिक टन युरिया मलको माग रहे पनि कार्यालयले अहिलेसम्म ६९९ मेट्रिकटन टन युरिया र ३ टन डीएपी मात्र आपूर्ति गर्न गरको छ।