आर.डी. श्रेष्ठ,

वर्षः ०३ | अङ्कः १७ | श्रावण २०७७

केही समय यता छिमेकी मुलुक भारतबाट प्रसारण हुने केही समाचार मुलक प्रसारण बन्द भएका छन्। अर्थात् भारतीय समाचार मुलुक टेलिभिजन च्यानल नेपाली दर्शकले हेर्न पाइरहेका छैनन्। च्यानल प्रशारणको रोकावट भारतका तर्फबाट नभई आफ्नै मुलुक नेपालका निजी क्षेत्रका च्यानल वितरक कम्पनीका तर्फबाट घोषणाका साथ भएका हुन्। जसलाई नेपाल सरकारले प्रशारण बन्द गरेकोमा धन्यवाद समेत दिएको छ। कारण थियो भारतीय संचार माध्यम (टेलिभिजन)ले एकोहोरो रुपमा नियतवस, नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओली र नेपालका लागि चिनीया राजदूत यान्छीको पटक पटकको भेटका सन्दर्भमा चारित्रिक रुपमा निम्न स्तरमा, छाडा रुपले दिएको प्रस्तुतिकरण।

लिपुलेक,कालापानी, लिम्पियाधुरा नेपालकै भुभाग हो भन्ने दावाका साथ नेपालले ती क्षेत्रहरु समेत समेटेर नयाँ नक्सा सार्वजनिक गरेसँगै विक्षिप्त भारतका मुख्य संचार माध्यमहरुबाट उक्त कार्यको व्यापक विरोध हुनुका साथै निम्न स्तरका लाञ्छना सहितको प्रम ओली र चिनियाँ राजदूत यान्छीलाई जोडेर अतिरंजित किसिमले टेलिभिजन प्रशारणमा व्यापकता दिइएको थियो। त्यतिमात्र नभएर नेपाल चीनको इशारामा नाचेको, भारतकै सहारामा बाँचेको, भारतको सहयोग विना नेपालको कुनै अस्तित्व नभएको भन्दै नेपाल र नेपालीको संप्रभुतामा नै चोट पुग्ने गरी अतिरंजित किसिमले लाञ्छना सहित समाचार प्रशारण, प्रकाशन गरियो। जसको प्रत्यक्ष असर स्वाभिमान आम नेपालीमा पर्यो। जसका कारण आम सर्वसाधारण फेसवुक, ट्वीटर हुँदै विभिन्न नारा र विरोधका साथ सडकसम्म आइपुगे।

यहाँ प्रश्न भारतीय संचारमाध्यममा भएका प्रस्तुती मात्र नभएर नेपालको आन्तरिक राजनीतिमा भारत, चीनको स्वार्थ प्रतिस्पर्धा र हस्तक्षेपको सीमा रेखाको पनि उठिरहेको छ। साथै हस्तक्षेपको सीमा विस्तार गर्नमा स्वयं हाम्रो राजनीतिक नेतृत्व र उनीहरुको दलगत अनि व्यक्तिगत स्वार्थको पनि प्रश्न उठिरहेको छ अहिले। मुलुक भित्रका कुनै पनि राजनीतिक गतिविधिमा छिमेक मुलुकको चासो हुनु केही हदसम्म सही हुन सक्ला तर प्रत्यक्ष रुपमै हस्तक्षेप गर्नु, प्रभाव पार्नु र चलखेल गर्नु कुनै पनि स्वाभिमान सम्प्रभु राष्ट्रका लागि स्विकार्य हुने त प्रश्न नै उठ्दैन। नेपालीको आन्तरिक गतिविधिमा छिमेकको अत्याधिक चासो र हस्तक्षेपकै विरोधमा नागरिक सडकसम्म आइपुगेका हुन्।

जहाँसम्म भारतीय संचार माध्यममा जसरी नेपाल चीन बीचको सम्बन्ध र राजनीतिक नेतृत्वको मानमर्दन हुने शैलीको प्रस्तुती छ त्यो उनीहरुको अन्धो राष्ट्रवाद सोचको परिणाम पनि हो। त्यतिमात्र नभएर अत्याधिक संचार माध्यममा भएको भाजपा स्कुलिङ्गको प्रभाव पनि हो भन्न सकिन्छ। र, विना तथ्य प्रभाव कुनै पनि विषयलाई हाउगुजी वनाएर प्रस्तुत गर्ने तल्लो मानसिकताको रुपमा पनि यसलाई लिन सकिन्छ। त्यसमाथि हेपाहा प्रवृत्ति त छँदैछ। यसो भन्दैमा हामीले आफ्नो तर्फको कमजोरीलाई पनि विर्सन भने मिल्दैन। मुलुकको आन्तरिक राजनीतिको समाधानमा अन्यको मुख ताकेर, लाचार वनिरहनु अनि वाहिरी हस्तक्षेपमा समाधान खोज्नु नेतृत्व वर्गको नालायकीपन हो भने त्यस्ता विदेशी संचारमाध्यमबाट “त्यो” किसिमको निर्लज्ज प्रस्तुतीको एउटा कारण पनि हो। यस्ता घटनाले नेपाल र नेपालीको स्वाभिमान प्रति भारतीय दृष्टिकोण कति हदसम्म गिर्न सकेको रहेछ भन्ने पनि संकेत गरेको छ। एउटा च्यानलको मात्र नभएर करिब करिब सबै च्यानलको प्रस्तुती र दृष्टिकोणमा पनि समानता हुनुले त्यस्ता प्रस्तुती प्रति स्वयं भारत सरकारको कतिको साथ र सहयोग थियो होला, अन्दाज लगाउन सकिन्छ। यस तर्फ विशेषतः नेपालको नेतृत्व वर्ग निष्प्रभावी हुनु विलकुलै पाच्य कुरा होइन।

दलगत खिचलो भित्र छिमेकी राष्ट्रले प्रवेश पाउनु र क्रियाशीलता देखाउनुमा पक्कै पनि ती दलका नेतृत्वको मर्दानगी देखिन्न। पुच्छर हल्लाउँदै कुदे जस्तो महसुस हुने गरी विदेशी दूतको पछाडि कुद्नु र तिनीहरुलाई टाउकोमा राखी संकेतको पर्खाई गर्ने मानसिकता हुन्जेल मुलुकको स्वाभिमान, अस्तित्व र संप्रभुतासँधै छायाँमा नै धुमिल भई रहेको हुन्छ।