वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १७ | श्रावण २०७७

सुजीतकुमार‌ झा,

मिथिल महिलाहरुको प्रमुख पर्व मधुश्रावणी अहिले चलिरहेको छ। १३ दिनसम्म चल्ने सो पर्वमा नवविवाहित महिलाहरु भगवान शिव र विषहर अर्थात नाग देवताको पूजा गर्छन्। यो विशेष अनुष्ठानमा नवविवाहित महिलाहरु भगवानसंग आफ्नो भावी सुखी जीवनको मंगल कामना गर्ने गर्छन्।

मधुश्रावणी पूजाको समयमा नवविवाहित महिलाहरु लोकगीत गाउँदै आफ्ना साथीहरुको समूह बनाएर साँझको समयमा बगैँचाबाट फूल पात तोडेर ल्याउँछन्। तोडिएका सोही फूल पातले भोली पल्ट बिहान भगवानको पूजा गर्ने गर्छन्। यस अवधिमा महिलाहरुले पूजा र अनुष्ठान गर्दै देवी पार्वती (गौरी), सूर्य, चंद्र, नवग्रह, नागको विधिवत पूजा गर्छन्। पूजा पश्चात कथा सुनाइन्छ। सोही समयमा महिलारु भजन र लोकगीत समेत गाउँछन्। मधुश्रावणीको अन्तिम दिन नव विवाहिता व्रती महिलाको ससुरालीबाट पूजन सामग्रीका साथै पकवान र नव वस्त्र उपहार आउँछ, सोही पूजन सामग्रीबाट पूजा समापन गरिन्छ। पूजाको प्रारम्भ र अन्त्यमा महिलाहरुलाई प्रसाद स्वरुप गुलियो खाना दिइने गरिन्छ। साउनको महिना आए लगत्तै मिथिलांचलमा संस्कृतिले भरिएका मधुश्रावणीका गीतहरु समेत गूजिन थालेको छ। यो महिना आउनुभन्दा अगावै नवविवाहित महिलाहरु यस पर्वको तयारीमा लागि सकेका हुन्छन्।

श्रीमानको दिर्घायुको कामनाका साथ मनाइने यो पर्व मिथिलामा मात्रै हुन्छ। मैथिल संस्कृतिको अनुसार विवाह भएको पहिलो वर्षको साउन महिनामा नव विवाहिताहरु मधुश्रावणीको व्रत गर्छन्। साउन महिनाको कृष्ण पक्षको पञ्चमी तिथिबाट यो व्रत शुरु हुन्छ।
मैथिल समाजको नवविवाहित महिलाहरुको घरमा मधुश्रावणी पर्व विधि विधान पूर्वक गरिन्छ। यो पर्वमा माटोको मूर्ति, विषहर, गौर बनाइन्छ। मधुश्रावणी पर्व महिलाहरुलाई जीवनमा एक पटक मात्रै विवाह भएको पहिलो वर्षमा गर्नु पर्ने परम्परा रहेको छ।

ञनवविवाहिता महिलाहरु मधुश्रावणी अवधिमा सात्विक भोजन ग्रहण गर्छिन्। यो पूजा लगातार १३ दिनसम्म साउन महिनाको शुक्लपक्षको तृतीया तिथिमा विशेष पूजा अर्चना गर्दै समापन हुन्छ। यो अवधिमा नवविवाहिताहरु व्रत बसी गणेश, माटो र गोबरबाट बनाइएका विषहर एवं गौरी–शंकरको विशेष पूजा गरी महिला पुरोहितबाट कथा सुन्ने गर्छिन्। कथाको प्रारम्भ विषहरको जन्म एवं राजा श्रीकरबाट हुन्छ। यो व्रतको माध्यमले महिलाहरु अखण्ड सौभाग्यवतीका साथै श्रीमानको दीर्घायुको कामना गर्छन्। व्रतको प्रारम्भिक दिनमा नवविवाहिताहरुको ससुरालीबाट १३ दिनको व्रत सामाग्री तथा सूर्यास्त हुनु अगाडी प्रतिदिन हुने भोजन सामग्री पनि त्यहीँबाट आउँछ।

व्रतको शुरु र अन्तिम दिनमा व्रतिहरुद्वारा समाज र परिवारका सदस्यहरुलाई बदाम बाँट्ने परम्परा समेत रहेको छ। व्रती महिलाहरु पूजाको समयमा भगवती गीत तथा पर्वसंग सम्बन्धित गीतहरु गाउँछन्। र साँझको समयमा कोहबर गीत तथा साँझ गीत गाउने परम्परा रहेको छ। पर्वको अन्तिम दिन टेमी दाग्ने (नवविवाहित महिलाको घुँडामा दियोको टुपीले दाग्ने) परम्परा रहेको छ। जुन व्रतीको घुँडामा सो टुपीले दाग आउँछ उसको पतीको आयू त्यती नै लामो हुने जनविश्वास समेत रहेको छ। धार्मिक दृष्टिले मधश्रावणी पर्व शैव धर्मसित सम्बन्धित बुझिन्छ। शिव आशुतोष र मनोवाञ्छित फल प्रदान गर्ने देवताका रूपमा रहेका छन्। यसका साथै यस पूजामा तन्त्रको पनि प्रभाव रहेको देखिन्छ। तान्त्रिक दृष्टिले शिवको महत्वपूर्ण मानिन्छ। तन्त्रशास्त्रलाई शिवप्रणीत भनिन्छ। गौरीलाई शिवकी शक्तिका रूपमा मिथिलामा स्वीकार गरिएको छ। प्रत्येक सधवा महिलाले गौरपुज्न गर्दा शिवसहित गौर्ये नमः जस्ता मन्त्र उच्चारण गर्ने गर्दछिन। गौरीलाई सौभाग्यप्रदायिनी देवी मानिएको छ।

गौरीलाई दाम्पत्य जीवनको संरक्षिका र नागलाई नारीको पतिका रूपमा वंशलाई सामाप्त पार्ने प्रवृत्तिको जीव मानिएकाले यस पर्वमा गौरी तथा नाग–नागिनको विशेष पूजा आराधना गर्ने गरिएको पाइन्छ। वैदिक भावनानुकूल र सांस्कृतिक परम्परामा आधारित यो पर्वको उद्देश्य सुखी एवं दीर्घ दाम्पत्य जीवनका लागि गौरीका दाम्पत्य जीवनका प्रसङ्गका माध्यमले जीवनलाई सुखी बनाउने र मनकामना पूर्णका लागि उत्पे्ररित गर्नु हो।

मधुश्रावणी व्रतको प्रारम्भ

गौरीलाई दाम्पत्य जीवनको संरक्षिका र नागलाई नारीको पतिका रूपमा वंशलाई समाप्त पार्ने प्रवृत्तिको जीव मानिएकोले यस पर्वमा गौरी तथा नाग–नागिनको विशेष पूजा आराधना गर्ने गरिएको संस्कृतिविद् चन्द्रमोहन झा पंडवाले बताए। गौरी दाम्पत्य जीवनलाई सुखी बनाउने मात्र होइन मनकामना पूर्ण गर्ने देवी पनि हुन्। मिथिलाकी राजकुमारी सीताद्वारा गौरी पूजन गरिएकाले नै भगवान् श्रीरामजस्ता पति पाइन् भन्ने धार्मिक विश्वास रहेको पाइन्छ। वाल्मीकि रामायणका अनुसार गौरी पूजनका लागि सीताले फूल टिप्ने क्रममा रामसँग पहिलो भेट भएको थियो। पर्वमा कतिपय कथा शिव पार्वतीको वैवाहिक, रोमाञ्चक प्रसङ्ग एवं ठट्यौली भरिएका कारण नारी जीवनमा पति प्रतिको स्नेह, सौहार्दतालाई प्रगाढ बनाउन प्रेरित गर्दछ भने सर्पकी आमा विसहरा र उनको वंशका बारेमा चर्चित कथाहरूले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जनविश्वास समेत पाइन्छ। यो पर्व कहिलेदेखि शुरु गरिएको हो भन्न सकिने तथ्य नरहे पनि शिव पुराणको प्रसङ्गअनुसार मधुश्रावणी नामक नवविवाहिताले शिवलाई आफ्नो पतिलाई कुष्ठरोग भएको व्यथा सुनाउँदा शिवले तिनलाई यस प्रकारको व्रत गर्न सुझाव दिए। उहाँको सुझावअनुसार उनले व्रत गरेपछि पति निको भई स्वस्थ भए। त्यसै दिनदेखि प्रत्येक नवविवाहिताले यसलाई वैधव्य रक्षार्थ अनुपालन गर्दे परम्परागत रूपमा मनाउँदै आएको बुझिन्छ।

मधुश्रावणीमा विषहरको किन पूजा गरिन्छ ?

यो पर्वमा प्रत्येक दिन अलग अलग कथाहरु सुनाइन्छ। जसमा मैना पंचमी, विषहरी, बिहुला, मनसा, मंगला गौरी, पृथ्वी जन्म, समुद्र मंथन, सतीको कथा व्रती महिलाहरुलाई सुनाइन्छ। भगवान शिव र माता पार्वतीसंग सम्बन्धित कयो पर्वहरु मनाइने गरिन्छ। साउन महिनामा मधुश्रावणी नामको पर्व मनाइने गरिन्छ। यो पर्वका दिन भगवान शिव र माता पार्वतीको पूजा गरिन्छ। मधुश्रावणी पर्वको एक कथा अनुसार एक पटक भगवान शिव, माता पार्वतीसंगै जल क्रीडा गरिरहेका थिए।

सोही समयमा भगवान शिवको वीर्य स्खलन भयो। भगवान शिवले सो विर्यलाई एउटा रुखको पातमा राखे। सोही वीर्यबाट पछी पांच कन्याहरुको जन्म भयो। ती पाँच कन्याहरुको नाम जया, विषहर, शामिलबारी, देव र दोतलि राखियो। यी कन्याहरुको जन्म भएपछि भगवान शिव त्यहाँबाट गईहाले। तर समय समयमा आफ्ना छोरीहरुलाई भेट्नका लागि आई रहे। यो क्रम धेरै दिनसम्म चलि रह्यो त्यस पछि माता पार्वतीलाई शंका लाग्यो। उनले एक दिन भगवान शिवको पछी पछी लागे। भगवान शिव फेरी सोही तलाउमा आफ्ना छोरीहरुलाई भेट्न आए।

शिवजी तलाउमा सर्परुपी आफ्ना छोरीहरुसंग खेली रहेका थिए। भगवान शिवलाई उनीहरुसंग खेलिरहेको देखेर माता पार्वती क्रोधित भइन्। उनले ती सर्पहरुलाई मार्ने प्रयास पनि गरिन्। त्यसपछी भगवान शिवले माता पार्वतीलाई ती सर्पहरुको कथा सुनाए। उनीहरुको कथा सुनेपछि माता पार्वती हाँस्न थालिन।

शिवजीको यो कथा सुनेर माता पार्वती सर्प रूपी छोरीहरुलाई मारिनन्। त्यसपछि महादेवल भने ‘साउन महिनामा जो कोही सर्पको पूजा गर्छ, उसलाई सर्पबाट भय हुँदैन।’ यही कारण हो मधुश्रावणी पर्वमा विषहरको पूजा गर्ने गरिन्छ। वर्षा ऋतुमा सर्पको भूमिमा आगमगन र विचरणले मानव जीवन त्रस्त हुनुले नाग–नागिन र प्रकृतिका प्रतीकका रुपमा मुख्यतः शिव, पार्वती तथा नाग–नागिनको पूजा गरी मनाइन्छ