रितु गुप्ता,
वर्षः ०२ | अङ्कः १६ | फाल्गुण-चैत्र २०७६
उटा विद्यार्थीले खेल्ने, पढ्ने र मोबाइल फोन चलाइ रहनु बाहेक अरु के नै गर्दछ र ! भन्ने प्रायः सबैको अभिव्यक्ति हुन्छ । त्यसैले पनि होला विद्यार्थी जीवनलाई सुनौलो जीवन भनिएको । तर आधुनिक युगका विद्यार्थीहरुको जीवनशैली नै यस प्रकारको भइसकेको छ कि सुनौलो भनिने विद्यार्थी जीवन पनि तनाव रहित छैन । अचेल सानै उमेरदेखि विद्यार्थीहरुमा परिवार, सङ्गत समाज र सामाजिक सञ्जालमा प्रसिद्ध र प्रिय पात्रको छवि बनाउन आफ्नो हैसियत, क्षमता, रुचि र इच्छा भन्दा परका विषय पढ्ने र परीषाफल प्राप्त गर्ने होड चलेको छ ।
हेलचक्राई गरेर पढ्दा, कुनै कारणवश विषयवस्तु तयारी नहुँदा, रुपियाँ पैसाको अभाव वा कुनै अप्रिय घटनाले गर्दा होस्, परीषाकालागि पोख्त तयारी नहुँदा तनाव हुन्छ । जीवनमा शैक्षिक र क्यारियरको सफलता परीषाकै सफलतामा भर पर्ने हुनाले त्यस बेलामा हुने तनाव व्यवस्थापन गर्नु आवश्यक हुन्छ । मानिसहरु प्रायः ज्यादै महत्वाकांक्षी र असन्तुष्ट स्वभावका छन् तसर्थ परीषा विधीमा अरुभन्दा राम्रो गर्ने चक्करमा तनाव ग्रसित हुन्छन्।
ज्यादै न्यून वा अत्याधिक तनाव विद्यार्थीहरुका (परिक्षार्थीहरुका) शरीर, स्मरण शक्ति र आत्मविश्वासका साथै समष्टीगत व्यक्तित्व विकासका लागि हानिकारक हुन्छ । परीक्षाको समयमा परीषार्थी वर्गमा चिन्ता, त्रास, मानसिक द्वन्द्व र भ्रमा हुनु स्वभाविक कुरा हो । तर उक्त तनावका कारण परीक्षार्थीहरुको प्रदर्शन फिका हुनु, आत्मबल कमजोर हुनु, क्षमता र तयारी अनुसारको सफलता प्राप्त नहुनु, अधिक तनावका कारण परीक्षार्थी बिरामी हुनु वा अवसादमासम्म पुग्नु चाहिँ चिन्ताको विषय हो।
तनावको स्तर मापन गर्न कुनै विश्वव्यापी औपचारिक साधन छैन, यो व्यक्ति पिच्छे फरक हुन्छ र प्रायः परीक्षार्थी उच्च तनावबाट ग्रसित छन् । तनावले मानिसको शारिरीक, मानसिक र भावनात्मक स्वास्थ्यलाई समेत असर पार्दछ । एउटा स्तरसम्मको तनाव परीक्षार्थीलाई उत्साहित राख्न, उर्जा प्रदान गर्न र सफलता हासिल गर्न सकारात्मक प्रभाव पार्दछ । तनावको परीमाण र परिणाम धेरै हदसम्म निश्चित कुरामा भर पर्छ जस्तै :
शारीरीक स्वास्थ्य : शारीरीक रुपले कमजोर र अल्छी मान्छेलाई उच्च तनावको खतरा हुन्छ ।
तनावप्रतिको मनोवृत्ति : नकारात्मक सोच भएका व्यक्तिलाई तनाव कहिल्यै उभो लाग्न दिँदैन ।
पढाईप्रतिको प्रतिबद्धता : विषय वस्तु नबुझेका र परीक्षाका लागि पोख्त तयारी नभएकालाई डर, भ्रम र चिन्ताले बढी सताउँछ।
परीक्षाफलबाट अपेक्षा : परीक्षा सिकाइको माध्यम हो, पछिल्लो परीक्षामा भएको गल्ती सुधार, पढ्ने र लेख्ने तरिकामा सुधारगर्नुभन्दा प्राप्ताङ्क मात्र खोज्नेलाई बढी तनाव हुन्छ ।
मानसिक आघातका घटनाहरु : कुनै प्रिय मान्छे बिरामी हुनु, दुखी हुनु वा मृत्यु हुनु जस्ता घटनाले पनि परीक्षार्थीको ध्यान पढाइमा केन्द्रित हुन गाह्रो हुन्छ।
सामान्यतया परीक्षाको समयमा हुने तनाव व्यवस्थापन गर्न हाम्रो अभिभावक वा स्कुल कलेजहरुमा खासै चासो र जागरुकता छैन जसकारण सहजै न्यूनिकरण गर्न सकिने तनावले पनि परीक्षार्थीहरुलाई राम्रै नोक्सान पुर्याएको हुन्छ । तनावलाई पछारेर आफ्नो पूर्ण सामथ्र्यले परीक्षामा निर्धक्क प्रदर्शन गर्दा सफलताको सङ्ख्या र स्तर आफै बढ्छ।
तनाव कहिल्यै पनि एक्लै आउँदैन, यसले रोग, शोक, भय, चिन्ता, भ्रम, क्रोध, असफलता आदिलाई सँगै ल्याउँछ । तसर्थ परीक्षाका कारण हुने तनावका लक्षणहरु के–कस्ता छन्, के कति कारणले तनाव उत्पन्न हुन्छ र सोलाई व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुरा परीक्षार्थी, तिनका परीवार, गुरुवर्ग र शुभचिन्तकहरुले बुझ्नु जरुरी छ।
तनावपूर्ण रुपले रोक्न गाह्रो छ तर तनावका लक्षणहरु पहिचान गरी तिनको उपाय गर्न तुल्नात्मक रुपले सहज छ। परीक्षार्थीलाई तनाव हुँदा निम्न लक्षणहरु देखा पर्न सक्छन् :
- अनिद्राको समस्या मासंपेशीहरु दुख्ने
- टाउको दुख्ने
- पेट दुख्ने वा अपचको समस्या
- अवसाद
- झर्को लाग्ने
- उर्जा र उत्साह हराउने
- हत्तोत्साहित हुने
- मुख र घाँटी सुक्ने
- मुटुको घड्कन बढ्ने
- अलमलिने÷हडबडाहट हुने
- बढी पसीना आउने
- द्विविधा-भ्रम हुने
- चिन्तित हुने
परीक्षार्थीहरुमा माथिका मध्ये एक वा एक भन्दा बढी वा सबै लक्षणहरु देखा पर्न सक्छ । परीक्षाको समयमा वा अघि पछि तनाव हुनुको विभिन्न कारण छनसक्छ । जस्तै :
- परीक्षाका लागि कुनै कारणवश पोख्त तयारी नहुनु
- पछिल्लो परीक्षाहरुमा असफल भएको घटनाहरु
- नरुच्ने, इच्छा र मानसिक क्षमता विरुद्धका विषयको परीषाहरु
- आर्थिक अभाव वा पढ्ने सामग्री, कापी, कलम, किताब, क्यालकुलेटर, ल्यापटप, इन्टरनेट आदिको अभाव
- पारिवारिक,सामाजिक र साथीसङ्गतीको दवाव वा प्रतिकूल वातावरण
- परीक्षामा गरेको प्रदर्शनभन्दा उच्च नतिजाको अपेक्षा
- परीक्षामा अनावश्यक र अस्वस्थ होडबाजी
तनावलाई नियन्त्रण गर्नु जरुरी छ नत्र त तनावले हामीमाथि नियन्त्रण गर्नेछ । खुसीको खबर के छ भने निम्न सामान्य उपायहरु गरेर यसलाई आफ्नो हितमा काम गर्न लगाउन सकिन्छ ।
(१) शरीरलाई स्वस्थ राखेरः
- बिहान बेलुका ताजा हावा र शान्त वातावरण भएको ठाउँमा डुल्नु
- शारीरीक व्यायाम गर्नु, फुर्तिलो हुनु
- सरसफाइमा ध्यान दिने
- पढ्ने ठाउँ व्यवस्थीत राख्नु, ओछयानमा बसेर, सुतेर नपढ्नु
- खानपानमा ध्यान दिनु, खासगरी परीक्षा अवधिमा सहज पच्ने र शरीर तथा दिमागलाई उर्जा प्रदान गर्ने खानेकुरा खानु ।
- खानामा प्रोटिन, दूध, फलफूल, बदाम, हरियो सागसब्जीको सेवन गर्नु
- पर्याप्त पानी पिउनु, तनाव महसुस भएको बेला मनतातो पानी सिप सिप गरेर पिउनु
- समयमा सुत्नु र उठ्नु
- टेलिभिजन, मोबाइल फोन र सामाजिक सञ्जालमा अनावश्यक समय खेर नफाल्नु
(२) मन–मष्तिस्कलाई स्वस्थ राखेर :
- मनलाई शान्त राख्न, स्मरणशक्ति बढाउन ध्यान गर्नु
- तनावको बेला लामो स्वास फेर्नु
- समय तालिका बनाएर व्यवस्थित ढङ्गले पढ्नु
- निरुत्साहित गर्ने मान्छेहरु भन्दा टाढा रहनु
- अनावश्यक बढी नसोच्नु
- यो समय पनि बित्छ भनेर सोच्नु
- ट्राटक गर्नु
- हौसला थप्ने मानिसहरुसँग कुराकानी गर्नु
- अभिभावक, शिक्षक, साथीहरुसँग विषयवस्तु सम्बन्धी समस्या छलफल गर्नु
- आफ्नो समस्याबारे कुराकानी गर्नु
- आफ्नो समस्या वा मनका कुरालाई लेख्नु
- ज्ञानी र अनुभवी र विज्ञ व्यक्तिसँग कुरा गर्नु, समाधान खोज्नु
- आफूले सक्छु भन्ने विश्वास राख्नु र
- सचेत बस्नु पर्छ
तनाव व्यवस्थापनको हरेक फर्मूला हरेकलाई ठीक हुँदैन तसर्थ आफूलाई ठीक हुने उपाय अपनाउनु पर्छ । राम्रो निन्द्रा लिनु, राम्रो खानपान, विषय–वस्तुलाई ध्यान दिएर तालिका बनाएर पढ्नु, परीक्षाको दिन मात्र होइन, पहिलेदेखि पोख्न तयारी गर्नु पर्छ। तनावमुक्त मान्छे बढी उत्पादनशील हुन्छ । दिनमा २४ घण्टा मात्र हुन्छ, कसैको लागि २८ हुँदैन, त्यसैले समय व्यवस्थापन गर्न घण्टा जरुरी छ । तनावले विद्यार्थीको स्मरण शक्ति, तर्क क्षमता, आत्मविश्वास, शैक्षिक योग्यता र सफलता सबैलाई हानी पुर्याउँदछ । हामीले तनावलाई व्यवस्थापन गर्न सक्नु पर्छ नत्र त तनावले हामीलाई नियन्त्रणमा लिन्छ र नतिजा प्रतिकूल नै हुन्छ।