उपेन्द्र खनाल,

वर्षः ०२ | अङ्कः १५ | माघ २०७६

व्यास नगरपालिका–१३ आपस्वाँरा स्थित दलित होमस्टेका महिलालाई यतिखेर पाहुना भित्र्याउन भ्याइनभ्याई छ । २०७३ सालमा १८ घर मिलेर होमस्टे सञ्चालन गरेका त्यहाँका महिलाहरु अहिले सक्षम मात्र बनेका छैनन् उनीहरुको आयस्तरमा समेत वृद्धि भएको छ । गाउँका महिलालाई आर्थिक रूपमा सक्षम बनाउन नेपालकै पहिलो दलित होमस्टे दर्ता गरि संचालनमा ल्याएको आपस्वाँरा सामुदायिक दलित होमस्टेका अध्यक्ष रेशम विकले बताए । उनका अनुसार पर्यटन कार्यालय पोखरामा दर्ता गरी नेपालकै पहिलो दलित होमस्टे सञ्चालन गरिएको हो । ‘सुरुका वर्षहरुमा होमस्टेको प्रचारप्रसार गर्न नसक्दा असहज भयो । कतिपयलाई यहाँ होमस्टे छ भनेर थाहा दिन पनि सकेनौ । तर दलित होमस्टे सञ्चालनमा आएको छ भन्ने कुरा विस्तारै सञ्चारमाध्यमले प्रचारप्रसार गरिदियो ।’ त्यसपछि कस्तो रहेछ भनेर एकचोटी मात्रै अनुभव बटुल्नुपर्छ भन्ने सोचले पनि मानिसहरु आउन थाले जसले गर्दा अहिले यहाँका महिला दिदिबहिनीको पनि व्यवहारमा परिवर्तन ल्याएको छ ।

होमस्टेमा बस्न दलित, जनजाती मात्र नभई ब्राह्मण, क्षेत्री समुदायका मानिसहरु पनि आउने गरेका छन् । ब्राह्मण–क्षेत्री समुदायका पाहुनाहरू समूह बनाएरै वास बस्न आउने गरेपछि जिल्लामा दलित होमस्टेले प्रशंसा पनि कमाएको छ । समाजले उपेक्षित तरिकाले हेर्ने भए पनि होमस्टेले उनीहरूलाई सरसफाइ र सभ्यताको पहिचान दिलाएको आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले बताए । ‘उनीहरुले होमस्टे सुरु गरी उदाहरणीय कार्य गरेका छन् । हामीहरु समुह नै बनाएर दलित होमस्टेमा गयौ र त्यही बस्यौ । त्यहाँको रहनसहन मात्र बुझेनौ वहाँहरुले गर्नुभएको स्वागत सत्कार पनि अत्यन्तै सराहनीय छ ।’ एक पटक जो कोही पनि गएर दलित होमस्टेमा बसी त्यहाँको संस्कार र संस्कृतिसँग रमाउन आवस्यक रहेको उनको भनाइ छ । पछिल्लो समय लोपोन्मुख दलितको आरन, हँसिया, माटोको गहना, खुकुरी लगायतका सामग्री सम्झनास्वरूप त्यहाँ आएका पर्यटकले लाने गरेका छन् । होमस्टेमा नेपाली मात्र नभई विदेशीको समेत आकर्षण बढेको छ ।

मेलापात गएर ल्याएको पैसाले परिवारको जीवन निर्वाह गर्नुृपर्ने अवस्थाको अहिले होमस्टे सञ्चालनमा ल्याइएपछि अन्त्य भएको छ । त्यतिमात्र नभई जनमानसले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको छ । होमस्टेमा पाहुनाहरु आउँदैछन् भन्ने थाहा पाउने वित्तिकै उनीहरु एउटै पहिरनमा सजिएर फुलमालाले स्वागत गर्ने गर्छन् । जसले गर्दा पाहुनालाई स्वागतले नै पछि फेरी आइराखम बन्ने बातावरण सिर्जना गरुन भन्ने उनीहरुको मनसाय छ । उनीहरुको सबैभन्दा राम्रो पक्ष चाहिँ समुह मिलाएरै काम गर्छन् । कोही स्वागत गर्ने, कोही मनोरन्जन दिने तथा कोही खानाका परिकार बनाउने । सामुहिक रुपमा कामको विभाजन गरी कामलाई पुरा गर्न उनीहरु जिम्मेवारीपुर्वक लाग्छन् । होमस्टेले अर्गानिक उत्पादनलाई प्राथमिकतामा राखेको कोषाध्यक्ष मधुमाया विकले बताइन् । ‘यहाँ आएका पाहुनालाई मकै र गुन्दु्रकको अचारले स्वागत गर्छाैत्यसपछि भने पाहुनाको इच्छा अनुसार खानासँग हरियो सागपात, लोकल कुखुरा, सुँगुर र खसिको मासुको परिकारको स्वाद दिने गर्छौ,’ उनले भनिन् ।

होमस्टेमा खानेपानीको समस्या

होमस्टे घरहरुमा खानेपानीको धारा नभएकाले अलि परबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ । तर, होमस्टेमा आएका पाहुनालाई पानी खुवाउने जिम्मा भने युवाहरुले लिएका छन् । उनीहरु गाग्री लिएरै सामुहिक रुपमा पानी लिन जान्छन् । उनीहरुले गाग्रीमा पानी ल्याएको दृश्य देखेर शहरबजारबाट गएका नयाँ पिँढीका लागि भने सकारात्मक सन्देश जानेछ । जुन उनीहरुले शहरबजारमा बसेर अनुभव गर्न सकेका हुँदैनन् । त्यहाँको खानेपानीको समस्या समाधानका लागि यता व्यास नगरपालिका भने छिटै नै घरघरमा धारा जडान गर्ने तयारी गरिरहेको छ ।

स्वदेशी भन्दा विदेशी बढी

स्वदेशी भन्दा विदेशी पर्यटक होमस्टेमा आउने गरेका छन् । अस्ट्रेलिया, न्युजिल्यान्ड, चीन, स्विट्जरल्यान्ड, अमेरिका, न्युजिल्यान्ड लगायतका देशबाट अहिलेसम्म एक हजार भन्दा बढीले अवलोकन गरिसकेका छन् । चुलोचौकोमा सीमित स्थानीय दलित महिलाले होमस्टे सञ्चालन गरेर आम्दानीको स्रोत त बढाएका छन् नै त्यो भन्दा बढी सकारात्मक सन्देस दिएका छन् । सहरी कोलाहलबाट दिक्क लाग्नेहरु होमस्टेलाई रोज्छन् । जहाँबाट मनोरम दृश्य र हिमशृंखलाको दृश्यावलोकन गर्न पाइयोस् । त्यतिमात्र नभई स्थानीय कला, संस्कृति, स्वच्छ वातावरण तथा आनन्द लिन पाइने भएकाले पनि पर्यटकहरू होमस्टेप्रति आकर्षित बन्दै गएका हुन् । पछिल्लो समय नेपालकै पहिलो बनेर ख्याति कमाएको आपस्वाँरा सामुदायिक दलित होमस्टेमा पाहुनाहरुको भिड बढेको छ ।सूर्योदय सुर्यास्त हेर्न पाइने होमस्टेबाट सूर्योदय, सूर्यास्त, माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमशृंखलाको अवलोकन गर्न पाइनुका साथै मादी र सेतीको पवित्र संगमस्थल समेत सजिलै नियाल्न सकिन्छ ।