रंजन झा,

वर्षः ०२ | अङ्कः १५ | माघ २०७६

जादा जाँदै सन २०१९ ले मानव सभ्यतालाई एउटा बोझ थपेर गयो । गत दिसेम्बर ३१ तारिखमा चीनको वुहान शहरमा एउटा अनौठो रोग देखा पर्‍यो र केही दिन मै यो रोग वुहान मात्रै नभई विश्वका २७ भन्दा बढी राष्ट्रमा फैलिन पुग्यो । रोगको नामाकरण नभएकाले शुरुमा यसलाई कोरोना नै भनियो । यो लेख तयार पार्दा सम्म कोरोनाले दुई हजार पाँच सय जनाको ज्यान लिइसकेको छ । ज्यान गुमाउने मध्ये २ हजार १ जना चीन कै रहेका छन । बाँकी चार जना अमेरिका, फ्रान्स, फिलिपिन्स र जापानका रहेका छन ।

रोगका कारण संक्रमित हुनेको संख्या ७५ हजार पुगिसकेको छ । चीनले कोरोना भाइरस संबन्धि सही तथ्य सार्वजनिक नगरेको भनिएकोले मृत्यु र रोगीको संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ । नेपालमा वुहानबाट फर्किएका एक नेपाली विद्यार्थीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो तर उनी निको भइसकेको टेकुस्थित सरुवा रोग अस्पतालले जानकारी दिएको छ ।

पछिल्लो समय वैज्ञानिकहरुले यसलाई कोविड–नाइन्टिन नाम दिएका छन । कोविड–नाइन्टिन रोग कसरी वा के बाट फैलियो भन्ने बारे अनुसन्धान अझै जारी छ । कसैले यो भाइरस चमेराबाट भने कसैले सर्पबाट मानिसमा सरेको दाबी गरिरहेका छन । वुहानस्थित पशुपंछि बजारबाट यो भाइरस फैलिएको अनुमान गरिएको छ । हुनत यस रोगबारे धेरै किसिमका हल्ला पनि बजारमा छन । अमेरिकाको एउटा प्रयोगशालाले यो भाइरस निर्माण गरेको र चीनस्थित एउटा प्रयोगशाला भाइरस निर्माणको क्रममा चुहिएको जस्ता कन्सपीरेसी थ्योरीले अहिले सामाजिक सञ्जाल तातेको छ । पछिल्लो केही महिना अमेरिका र चीनबीच जारी व्यापार युद्धका कारण दुई देश एक अर्काको अर्थतन्त्रलाई तहसनहस गर्न खोजकोले जैविक अस्त्रको सहारा लिन खोजेको हुन सक्ने आशंकालाई नकार्न सकिन्न । यद्यपी यो भाइरसको उत्पति बारे अहिले नै केही भन्दा हतार हुनेछ

चीनमा कोरोना भाइरस नियन्त्रण बाहिर गएपछि त्यहाँको सरकारले अत्यन्तै कडाई अपनाएको छ । वुहान शहर मात्र नभई पुरे हुबे लगायतका केही प्रान्तलाई नै चीनले शिलबन्दी गरेको छ । बेइजिङ पुग्ने हरेक यात्रुलाई क्वारेन्टाइनमा बस्ने नियम बनाइएको छ । वुहान र संघाई लगायतका ठुलो शहरहरु अझै पनि सुनसान छन । राजधानी बेइजिङमा पनि मानिसको भीड पातलिएको छ । देशभर आर्थिक कारोवार लगभग ठप्प छ ।

विश्वका अधिकाँश राष्ट्रले चीनसँग हवाई सेवा विच्छेद गरेका छन । चीनस्थित बहुराष्ट्रिय कम्पनीहरु बन्द भएको छ भने विभिन्न राष्ट्रमा जारी रहेको चीनिया विकाश आयोजनाहरु पनि ठप्प भएको छ । विश्व मै शेयर बजार ओरालो तर्फ लागेको छ भने अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बढेको छ ।

मानव सभ्यतामाथि नै आइपरेको यो कहरलाई कतिपय पश्चिमा राष्ट्रहरु चीनविरुद्धको हतियारको रुपमा समेत प्रयोग गरेको देखिएको छ । शुरुका दिनमा चीनले कोरोनालाई लुकाउने प्रयास गरेपनि त्यपछिको अवस्थालाई विचार गर्ने हो भने यसले रोग नियन्त्रणका लागि कुनै कसर छोडेको छैन । अझ सात दिनमा एक हजार शैययाको अस्पताल बनाएर यसले विश्वलाई चकित बनाइदिएको छ । त्यती मात्र नभएर कोरोना नियन्त्रणमा ढिलाई गरेको भन्दै उसले दर्जनौं उच्च अधिकारीहरुलाई बर्खास्त गरिसकेको छ । यसका साथै उसले थुप्रै नयाँ नियम बनाएको छ जसले कारोना नियन्त्रणमा बाधा पुर्याउनेलाई मृत्युदण्डसम्मको सजायको व्यवस्था समेत गरेको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोनाबाट सचेत रहन विश्व समुदायलाई लगातार आग्रह गर्दै आएको छ । कोरोना भाइरस विरुद्धको औषधी वा खोप पत्ता नलागिसकेकोले समस्या विकराल बनेको हो । नोवेल कोरोना भाइरस संक्रमण हुँदा यसको लक्षण अन्य रुघाखोकी जस्तै हुने भएकोले यसले आर्थिक रुपले विपन्न र स्वास्थ्य संबन्धि सचेतना कम भएका मुलुकमा अझ ठुलो समस्या झैं रहेको छ । कोरोना भाइरसले मानिसको स्वास प्रस्वास प्रणालीलाई असर पार्छ । संक्रमितहरुमा रुघाखोकी, ज्वरो, जिउ दुख्ने, निमोनिया, मृगौला बिग्रनु जस्ता लक्षण देखिने गरेको छ जसले मानिसलाई मृत्यु सम्म पुर्यौछ । तर, कोरोनाले विशेष गरी पाका उमेरका र रोगप्रतिरोधी क्षमता कम भएका मानिसलाई बढी असर पारेको देखिन्छ । चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको अध्ययनअनुसार सङक्रमितमध्ये ८० प्रतिशतभन्दा धेरै बिरामी तथा वृद्धवृद्धा रहेको देखाएको छ । रोगको कारण मृत्यु हुने बालबालिका र युवाको संख्या अत्याधिक न्युन रहेको पाइएको छ ।

नेपालको अवस्था

जनवरी पहिलो साता चीनमा विद्यावारिधि गर्दै आएका एक नेपाली विद्यार्थी स्वदेश फर्कदा उनमा रुघाखोकी देखिएको थियो । परिक्षणका लागि टेकुस्थित सरुवा रोग अस्पताल पुग्दा उनमा कोरोना भाइरस संक्रमण देखिएको थियो । तर, उनी निको भइसकेको अस्पतालको भनाई छ । चीनका विभिन्न शहरमा ठुलो संख्यामा नेपाली विद्यार्थी अध्ययनरत छन यसका साथै र नेपालले भ्रमण वर्ष २०२० मनाइरहेको हुँदा कोरोनाले नेपालमा जोखिम निम्त्याउन सक्ने प्रसस्तै सम्भावना छ ।

यस बाहेक विमानस्थलको कमजोर संरचना र खुला सीमाका कारण पनि कोरोनाको जोखिम उच्च छ । यद्यपी कोरोनालाई लिएर आफुहरु सचेत रहेको नेपाल सरकारको दाबी छ । यसैबीच कोरोनाका कारण वुहानको जनजीवन नै अस्तव्यस्त भएपछि त्यहाँ अध्ययनरत मध्ये १७५ जनालाई सरकारले फर्काएको छ । उनीहरुलाई भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार राखिएको छ । दुई साता त्यहाँ राखिसकेपछि पुनः उनीहरुको स्वास्थ्य परिक्षण गरिने र स्वस्थ्य पाइए मात्र घर पठाउने सरकारको योजना रहेको छ ।

सन २०२० मा विश्व समुदायमाथि आएको यो चुनौतीलाई कुनै एउटा राष्ट्र एक्लै परास्त गर्न सक्दैन । यसका लागि साझा प्रयास चाहिने हुन्छ । विपदको यो बेलामा भाइरस यसले फैलायो वा त्यसले फैलायो भन्दा पनि एक जुृट भएका कोविड नाइन्टीन विरुद्ध लाग्नु पर्ने देखिएको छ