वर्षः ०२ | अङ्कः १४ | मंसिर–पौष २०७६
नेपाल र भारतबीचको सम्बन्ध सदियौदेखि बेटी–रोटी र खुल्ला सिमानाको रहेको छ । पौराणिक, ऐतिहासिककालदेखि वर्तमान अवस्थामा पनि हाम्रो सम्बन्ध द्विपक्षीय र पारस्परिक छ । भौगोलिक सिमानाले राष्ट्र ठूलो र सानो हुन सक्छ तर सार्वभौम समान हुन्छ । सार्वभौमतालाई सम्मान र रक्षा गर्नु प्रत्येक राष्ट्रको कर्तव्य हो । भारतले भर्खरै जारी गरेको नयाँ नक्शामा नेपालको सुदुर पश्चिमी सीमा लिम्पियाधुरा देखि कालापानी र लिपुलेकसम्मको क्षेत्र आफ्नो भूभागमा समावेश गर्दै सार्वजनिक गरेको छ ।
विगत दशकौँदेखि नेपालको विभिन्न ठाउँमा-सीमामा भारतीय अतिक्रमण हुँदै आएको छ । वावजुद सरकार मौन र जनता ज्यानको बाजी लगाएर सीमा सुरक्षा अथवा जोगाउँदै आएका छन् । ताजा विवादले पुनः एक पटक दशकौँ पुरानो कालापानी विवाद वल्झिएको छ । सन् १८१६मा नेपाल र ब्रिटिश भारतीय बीच भएको सुगौली सन्धिदेखि नै सिमानाको रुपमा कालीनदी कायम गरिएको छ । तर भारतको सामरिक महत्वको दृष्टिकोणले उनले आफ्नो कब्जा जमाइरहेको छ जबकि यो भूभाग विवादित होइन, प्रष्ट र प्रमाणतः नेपालकै हो । तसर्थ विगतमा भएका असफल प्रयास वा वार्ताबाट पाठ सिक्दै कूटनीतिक र राजनीतिक तवरले येथेष्ठ प्रमाण राख्दै दुइपक्षीय पहलले यो विवादबाट सधैका लागि निकास पाउन सक्नुपर्दछ । स्टेटम्यानशीप र डिप्लोमेसीको आधारमा विवादसँगै समाधानका सम्पूर्ण बाटोहरु खोल्न राज्य र सरकार मात्रै नभई जनतासँगै सिँगो मुलुक लाग्नुपर्दछ । लिम्पियाधुरा, लिपुलेक कालापानी क्षेत्रका ३ सय ७२ वर्ग किलोमिटर र सुस्ता लगायतका सम्पूर्ण भूभाग सम्मानपूर्वक हाम्रै नक्शामा समेटिनु पर्दछ । फलस्वरुप सदियौदेखिको सम्बन्ध विना विवाद यथावत कायय रहि रहनुपर्दछ ।