डा. सनतकुमार वस्ती,
वर्षः ०२ | अङ्कः १४ | मंसिर-पौष २०७६
प्रश्नोत्तर कविता
नेपाली साहित्यका सर्वाधिक लोकप्रिय स्रष्टा महाकवि देवकोटाले प्रश्नोत्तर कविताद्वारा आफ्नो जीवनदर्शन अत्यन्त सहजताका साथ अभिव्यक्त गर्नु भएको छ । अमृतमय जीवन भनेको के हो ? सुख के हो ? यो कहाँ हुन्छ ? शान्ति कहाँ पाइन्छ ? ईश्वर कहाँ देखिन्छ ? जीवनको रहस्य बुझ्न कहाँ जानुपर्छ ? मानिसको कर्तव्य के हो ? यस जगत्मा सबैभन्दा ठूलो कुरा के हो? यस्ता जीवन र जगत् सम्बन्धी मूलभूत प्रश्न र तिनको बोधमय उत्तर नै प्रश्नोत्तर कविताको विषयवस्तु हो ।
अमृतमयजीवन
अमृतमय जीवन बाँच्ने कला के हो ? यो सबैका मनमा उठ्ने स्वाभाविक प्रश्न हो । अमृत देवताहरूले पान गर्ने दिव्य रस हो । अत्यन्त स्वादिलो र सन्तृप्तिदायक वस्तुलाई नै प्रतीकात्मक रूपमा मानव जातिले अमृत भन्ने गरेको छ । जीवनलाई कसरी अमृत पानमय सफल र सार्थक बनाउन सकिन्छ ? पहिले यो प्रश्न उठाएर देवकोटाले स्वयं उत्तर दिएका छन् : सच्चा कमाइ गरेर खानु नै अमृतपान गर्नु हो । वास्तवमा आफ्नो शुद्ध परिश्रमबाट आर्जित चोखो कमाइले जीवनयापनगर्नु नै सर्वोत्तम जीवनशैली हो भन्ने चिन्तन यहाँ प्रस्फुटित भएको पाइन्छ :
के हो अहो अमृत त्यो सुरदेव पान ?
सच्चा कमाइ गरि खानु भनेर जान ।
सुखको खोजी
मानव मात्रको पहिलो खोज नै सुखको खोज हो । हरेक मानिस आआफ्नो बल बुद्धि लगाएर सुखकै खोजमा हुन्छ । प्रायः हामी अरुबाट बढीभन्दा बढी चीजबीज लिएर, भौतिक पदार्थको संग्रह गरेर, सुखी हुने सोचमा हुन्छौँ । जहाँबाट जसरी हुन्छ लिऊँ भन्ने अभियानमा लागेका हुन्छौँ हामी । तर वास्तवमा सुख एउटा आन्तरिक अनुभूतिहो । मनको उदात्त भावनामा मात्र सुखको अनुभूति हुने गर्दछ । अनित्यो उदात्त भाव लिनुमा होइन, दिनुमा छ । जब मनको समग्र उदारताका साथ हामी अरुलाई दिन्छौँ अनि अन्तर्मनमा सुखको अनुभूति प्रकट हुन्छ । देवकोटा भन्नु हुन्छ :
खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ?
आफू मिटाइ अरुलाई दिनू जहाँ छ ।
कहाँ पाइन्छ शान्ति ?
सुन्दर जीवनका पारखीहरूको पहिलो चाहना नै शान्तिहो । शान्तिको खोजमा मानिस विभिन्न ठाउँको यात्रा गर्दछ । स्नान ध्यानतीर्थ धर्म व्रतदेखि लिएर विभिन्न साधनामा लाग्नेहरू सबै शान्तिकै अन्वेषक हुन् । शान्तिकै खोजमा सिद्धार्थ गौतमले घर परिवार छोडे, बोधि वृक्षमुनि बसेर ध्यान लगाएपछि जीवनको सार पत्ता लगाए । कति मानिस आज पनि वैरागी बनेर घरद्वार त्याग्दै एकान्तमा कुनै रुखमुनि बसेर ध्यान लगाउँछन् । तर, देवकोटा भन्नु हुन्छ : शान्ति खोज्न कतै बाहिर जानुपर्दैन, जे जस्तो जीवनउपलब्ध छ त्यहीँ शान्ति पाउन सकिन्छ । जुन रुख वाजुन छहारी उपलब्ध छ त्यहीँ शान्ति रस तप्किन्छ । वस्तुतः शान्ति चित्तको समरसता हो, दुख सुख, लाभहानी र मान अपमान प्रति जब चित्त तटस्थ रहन्छ तब मन शान्त हुन्छ । यो हामी जहाँ छौँ त्यहीँ उपलब्ध हुन्छ । देवकोटाले यही संकेत गर्नुभएको छ :
पाइन्न शान्ति किन हो कुन ठाउँ मिल्छ ?
तर्किन्छ त्यो रुखमुनि जुन साथ मिल्छ ।
ईश्वर कहाँ भेटिन्छ ?
ईश्वरलाई भेट्न मानिसहरु मन्दिर जान्छन् । तर देवकोटाका विचारमा मन्दिरमा ईश्वर भेटिँदैन । उहाँको सुप्रसिद्ध यात्री कविताले पनि कुन मन्दिरमा जान्छौ यात्री?भन्दै मन्दिर धाउनेहरुप्रति कटाक्ष गरेको छ । वस्तुतः मानिसको चोखो मनमा, श्रद्धा र विश्वासका रूपमा ईश्वर रहने गर्दछ । मन्दिरमा पनि त्यही ईश्वरको प्रतिमूर्ति रहने गर्दछ । यदि मन भित्रत्यो छैन भने त मन्दिरमा पनि हुन्न । उहाँ भन्नुहुन्छ : मनको सुन्दर सिंहासनमा जगदीश्वरको राज । चोखो मनमा मात्र ईश्वरको वास हुन्छ भन्ने उहाँको गहन मानवतावादी दर्शन यहाँ प्रतिविम्बित भएको पाइन्छ :
देखिन्छ ईश कुन मन्दिरमा पसेर ?
त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर ।
जीवनको पाठशाला
आजको सभ्य र विकसित मानव समाजले विभिन्न विश्व विद्यालय खडा गरेर ज्ञानको खेती गरि रहेछ । विभिन्न महामहोपाध्याय प्रोफेसर डाक्टर साहबहरुलाई गुरु थाप्ने होड चलेको छ । देवकोटा भन्नु हुन्छः वास्तवमा प्रकृतितिर ध्यान दिए मात्र जीवनको यथार्थ ज्ञान पाउन सकिन्छ । मानव जीवनको रहस्य बुझ्नु छ भने बगैँचामा जाऊ, प्रकृतिलाई पढ, बोट विरुवालाई गुरु बनाऊ । फुलेको गुलाबलाई हेर अनि अनेक काँढा र संघर्षका बीच पनि जीवन कसरी मुस्कुराएको हुन्छ भन्ने पाठ सिक :
यस्तो रहस्यमय जीवन बुझ्नलाई
जानू कहाँ ? पढनु के ? गुरुको बनाई ?
फुल्दो गुलाब बिच ज्ञान अनेक फुल्छन्
उद्यानमा बस गई सब तत्त्व खुल्छन् ।
कर्तव्य र विरोध
मानवको कर्तव्य के हो ? कर्तव्य पालन गर्दा के कति विरोध आइ पर्छन् ? यस्ता प्रश्नहरू पनि मनमा आउने गर्छन् । विचार र सिद्धान्तका अनेकताले गर्दा यस विषयमा मानव मन सदा जिज्ञासु रहने गर्दछ । कसैका सामू जब हामी यस्ता प्रश्न राख्दछौँ, अनेकौँ उत्तर आउन सक्छन् । तर देवकोटा भन्नुहुन्छः मेरो कर्तव्य के हो भन्ने प्रश्न हामीले आफ्नै दिललाई सोध्नु पर्छ, आफनो अन्तरात्माबाट जेउत्तर आउँछ त्यही नै हाम्रो कर्तव्य हुन्छ । त्यसका लागि अनेकौँ बाधा व्यवधान आइ पर्न सक्छन्, आकाशका अनगिन्ती तारासरि अनेकानेक विरोध आउन सक्तछन् तर तिनबाट विचलित नभई अन्तर्हृदयको आवाजलाई सुनेर सदा आफ्नो कर्तव्य पथमा लाग्नु पर्दछ :
कर्तव्य के छ जनको ? यति छन् विरोध
नक्षत्र हेर नभमा, दिलसाथ सोध ।
सबैभन्दा ठूलो कुरा
मानव जीवनमा सर्वाधिक महत्त्वको वस्तु के हो ? यो सबैको जिज्ञासा हुन सक्छ । यसका उत्तर पनि व्यक्ति सापेक्ष हुन सक्छन् । हरेक व्यक्तिले भिन्न भिन्न वस्तुलाई प्राथमिक ठानेको हुन सक्दछ । तर महाकवि देवकोटाले यस जिज्ञासाको अत्यन्तमहनीय समाधान दिनुभएको छ । मानव मात्रका दुई प्रमुख आयाम हुन्छन्, एक : शारीरिक, दुई : मानसिक । शरीरका लागिश्रम र पसिना नै सबैभन्दा ठूलो कुरा हो, पसिना बगाएर श्रमपूर्वक बाँच्नु नै सार्थक जीवनको पहिचानहो । मानसिक रूपमा मानव सृष्टिको सबैभन्दा उत्कृष्ट प्राणी हो र यो उत्कृष्टता उसको विवेक शक्तिका कारण कायम रहन गएको हो । अन्य प्राणीका तुलनामा मानव बढी विवेकशील छ, ठीक र बेठीक छुट्याउन सक्ने उसको क्षमता नै विवेक शक्ति हो । यही कुरा प्रश्नोत्तरले यसरी भन्दछ :
के हो ठुलो जगतमा ? पसिना, विवेक ।
उद्देश्य के ?
मानिसले केही न केही जीवनो द्देश्य बनाएको हुन्छ । महाकवि भन्नुहुन्छ : सानो तिनो उद्देश्य नबनाऊ, सदा कुनै न कुनै महान् उद्देश्य लिएर अघि बढ । वास्तवमा आफूले जीवनमा पुग्न चाहेको लक्ष्य नै उद्देश्य हो । धेरै माथि पुग्ने लक्ष्य लियो भने कम से कमत्यसको प्राप्तिका लागि महान् अभियान बन्दछ, जीवन गतिमय बन्दछ ।
महानताको प्राप्तिलाई नै हमेशा जीवनो द्देश्य बनाउनु पर्दछ । देवकोटाको जीवनकालमा चन्द्रमालाई मानिसले छुन भ्याएको थिएन, उहाँको यो कविता प्रकाशित भएको केही वर्षपछि मानिसले यो उद्देश्य पूरा गरेर देखाएको थियो :
उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक ।
यसरी प्रश्नोत्तर कविता मार्फत् महाकवि देवकोटाले आफ्ना जीवन र जगत् सम्बन्धी मान्यतालाई सारभूत रूपमा, अत्यन्त सहजता साथ प्रस्तुत गर्नु भएको छ । जीवनलाई सकारात्मक सन्देशले सम्बोधन गर्ने यो कविता कहिल्यै पुरानो नहुने, गहिरो जीवन बोधले भरिएको कालजयी कविता हो।