चन्दन साह,

वर्षः ०२ | अङ्क: १४ | मंसिर-पौष २०७६

एउटा सानो गाउँको किशान परिवारमा जन्मेका रविराज साह जसको सपना बाल्यकालदेखि नै गीतसंगीतको क्षेत्रमा नयाँ आयाम स्थापित गर्ने थियो । आफ्नो लोकभाषा, आफ्नो पहिचान, आफ्नो संस्कृतिहरुको बखान नहुँदा निराशेका रविराजले त्यसकै लागि आफ्नो विधा, ज्ञान र कलागलाका साथ आफ्नो मौलिकतालाई दुनियाँ माझ पुर्याउने संकल्प लिई नेपालमा पहिलोपल्ट भएको लोक गीतसंगीतको रियालिटी शो “आईएमइ नेपाल लोकस्टार” को पहिलो सिजनबाट साँगीतिक प्रतिस्पर्धाको यात्रा शुरुआत गरेका थिए । उनले आफ्नो भाषाका लोकगीतहरु साथसाथै फरक परिवेश, फरक लोकभाषाका गीतहरु गाउने लोकस्टारमा एक मात्र गायक थिए जसकारण उनले दर्शक माझ राम्रै छाप छोड्न सफल भए । तर रविराजको लोकस्टारको यात्रा भने टप ६ मै टुँगिएको थियो ।

यस अघि २०६५ सालमा एसएलसी पछि पढाईका लागि काठमाण्डौ छिरेका रविराज पढाईको साथ साथ गीतसंगीतलाई निरन्तरता दिई रेडियो नेपालको स्वर परिक्षणमा पास भएका थिए । आफ्नो १२ को पढाई पछि उनले अझ धेरै गीतसंगीत सम्बन्धी ज्ञान हासिल गर्ने लक्ष्यका साथ भारतको मुम्बईस्थित अखिल भारतीय गन्धर्व महाविद्यालयबाट स्नातकोत्तर गर्नका लागि भर्ना भएका थिए । र, हाल पनि मुम्बईमा बसेर गीतसंगीत सिक्दै आफ्नो मधेशको भाषाहरु मैथली र भोजपुरीलाई अझ अगाडि बढाउन लागि परेका छन् ।