ऋतिक यादव,
वर्षः ०२ | अङ्कः १४ | मंसिर–पौष २०७६
भारतको अयोध्यामा राम जन्मभूमि र बाबरी मस्जिदको जमिनको विषयमा भएको विवादको भारतीय सर्वोच्च अदालतले फैसला सुनाएको छ । ४० दिनसम्म चलेको वहसपछि शनिबार दशकौं पुरानो मुद्दाको फैसला गरिएको हो ।
यो फैसलामा बाबरी मस्जिद भएको ठाउँ हिन्दु पक्षले पाएका छन् । अदालतले “सुन्नी वक्फ” बोर्डलाई अर्को ठाउँमा ५ एकड जमिन दिने निर्देशनात्मक आदेश दिएको छ ।
अदालतले केन्द्र सरकारलाई तीन महिनाभित्र अयोध्यामा एक कार्ययोजना तयार गर्न भनेको छ । अदालतले त्यहाँ बनाएको ट्रस्टमा निर्मोही अखडा सामेल गर्ने कि नगर्ने फैसला केन्द्र सरकारले गर्ने बताएको छ । फैसलामा भनिएको छ, ‘त्यसमा निर्मोही अखडा पर्ने–नपर्नेबारे सरकारले निर्णय गर्नेछ । अयोध्याको राममन्दिर र बाबरी मस्जिदसम्बन्धी विवाद १६औं शताब्दीदेखि चल्दै आएकामा यो फैसलालाई ऐतिहासिक मानिएको छ ।
राममन्दिर–बाबरी मस्जिद विवादमाथिको फैसला बहुप्रतिक्षित थियो । लामो समयदेखि प्रतीक्षा गरिएको राममन्दिर–बाबरी मस्जिद विवादबारे अदालतले फैसला गरेको हो । राममन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा ४० दिनसम्म सुनुवाइ भएको थियो । सर्वोच्च अदालतको इतिहासमै यो दोस्रो लामो सुनुवाइ हो । सुनुवाइ १६ अक्टोबरमा सकिएको थियो । फैसला आउने भएदेखि नै अधिकारीले शान्तिका लागि आग्रह गरेका छन् भने ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । हिंसा मच्चिने आशंकामा नै सयौंलाई गिरफ्तार गरिएको थियो ।
अयोध्यामा रहेको १६औं शताब्दीको बाबरी मस्जिदका विषयलाई लिएर हिन्दू र मुस्लिमबीच तिक्ततापूर्ण सम्बन्ध कायम रहेकाले पनि लामो मुद्दा यो फैसला बुहप्रतिक्षित र ऐतिहासिक हो ।
यस्तो थियो विवाद ?
अयोध्यालाई हिन्दुहरूले रामको जन्मभूमि मान्छन् । मुस्लिमहरूले यही भूमिलाई आफ्नो प्रचीन प्रार्थनास्थल मान्छन् । जहाँ एउटा विवाद वर्षैंदेखि जीवित छ । यो विवादको बारेमा भारतका बच्चादेखि वृद्धवृद्धासम्मले धाराप्रवाह बोल्न सक्छन् ।
अयोध्यास्थित बाबरी मस्जिद विवाद मुलतः एक शताब्दी अघिदेखि सुरु हुन्छ । पहिचानको राजनीतिसँग जोडिएको यो विवाद सबैभन्दा पेचिलो विषय मानिन्छ । अयोध्यामा १६ औं शताब्दीको वरिपरि बनेको बाबरी मस्जिद विवादको केन्द्रविन्दू हो । बाबरी मस्जिदलाई सन् १९९२ मा हिन्दुले भत्काएका थिए ।
त्यो बेला भएको दंगामा करिब २ हजार मानिसको मृत्यु भएको बीबीसीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । हिन्दु मन्दिरलाई भत्काएर सोही ठाउँमा मुस्लिमहरूले बाबरी मस्जिद निर्माण गरेको विश्वास हिन्दुहरूले गर्दै आएका थिए र छन् । सन् १९९२ मा बाबरी मस्जिद भत्काइनुको कारण पनि यही थियो ।
मुस्लिमहरूले हिन्दुहरुको विश्वासलाई नकार्दै आएका छन् । आफूहरुले प्राचीन समयदेखि उक्त मस्जिदमा प्रार्थना गर्ने गरेको दाबी मुस्लिमहरुको थियो । २५ वर्षअघि बाबरी मस्जिद भत्काएर हिन्दुहरूले त्यही ठाउँमा एउटा रामको मूर्ति स्थापना गरे । यो स्थानलाई उनीहरुले राम मन्दिर भन्न थाले । यो घटनापछि हिन्दु र मुस्लिम धार्मिक समूहहरु लगातार अदालत धाइरहे । यही विवाद राजनीतिक मुद्दासमेत बन्यो र सारा भारतसामु परिचित बन्न पुग्यो । हिन्दूहरू मुस्लिम आक्रमणकारीले नष्ट पारेको हिन्दू मन्दिरको भग्नावशेषमा बाबरी मस्जिद बनाएको दाबी गर्छन् ।
मुस्लिमहरूले भने सन् १९४९ को डिसेम्बरसम्म सो मस्जिदमा आफूहरूले प्रार्थना गर्ने गरेको बताउँछन् । त्यसपछि भने हिन्दूहरूले त्यहाँ एउटा रामको मूर्ति स्थापना गरेर पूजा गर्न थालेका थिए । सो घटनापछि हिन्दू र मुस्लिम दुवै समुदाय सो स्थानमा आफ्नो नियन्त्रण रहनुपर्ने दाबीसहित पटक–पटक अदालत पुगेका थिए ।
मुद्दाको पक्ष
अयोध्याको यो मुद्दामा मुख्यतः तीनवटा समूह छन् । जसमा दुईवटा हिन्दू समूह र मुस्लिम वक्फ बोर्ड छन् । सो बोर्डले भारतका इस्लामिक सम्पदा व्यवस्थापनको जिम्मा पाएको छ । हिन्दू प्रतिवादीमा एउटा दक्षिणपन्थी राजनीतिक दल, हिन्दू महासभा र निर्मोही अखडा छन् । कुनै बेला मस्जिद रहेको मुख्य क्षेत्र भने हिन्दूहरूको नियन्त्रणमा दिइएको थियो । सन् २०१०मा इलाहाबाद उच्च अदालतले विवादित क्षेत्र रामको जन्मभूमि रहेको, हिन्दू मन्दिर भत्काइएपछि त्यहाँ बाबरी मस्जिद बनाइएको र त्यो इस्लामिक मान्यताविपरीत रहेको भन्ने पुष्टि गरेको थियो ।
सर्वोच्च अदालतमा हिन्दू र मुस्लिम दुवै समूहले त्यसविरुद्ध पुनरावेदन गरेपछि सन् २०११ मा सो आदेशलाई खारेज गरिएको थियो । सन् १९९४ मा भारतको सर्वोच्च अदालतले सम्बन्धित विषयमा आदेश जारी गर्दै मस्जिदको अवधारण इस्लामको एकीकृत कुरा नभएको दाबी गरेको छ । त्यसले सम्पूर्ण भूभागमा नियन्त्रण चाहने हिन्दूहरूलाई बल पुर्यायो । सन् २०१८ अप्रिलमा वरिष्ठ अधिवक्ता राजीव धवनले सर्वोच्च अदालतमा एउटा निवेदन दर्ता गराउँदै न्यायाधीशहरूको सो टिप्पणीको पुनर्विचार गर्न माग गरेका थिए । तर, त्यसको केही महिनापश्चात् सर्वोच्च अदालतले सो माग अस्वीकार गरेको थियो ।
मुस्लिम पक्ष असन्तुष्ट
भारत इतिहासकै लामो विवाद मानिएको यस विषयमा अदालतको फैसलापछि सुन्नी वक्फ बोर्डका वकिल जफयाब जिलानीले आफू फैसलाको सम्मान गर्ने तर यसमा सन्तुष्ट नभएको बताएका छन् ।
सुन्नी बोर्डले फैसलाविरुद्ध क्युरेटिभ पेटिन्सन वा रिभ्यू पेटिन्सन दायर गर्न सक्ने संकेत उनले दिएका छन् । मुस्लिम पक्षको वकिल राजीव धवनसँग छलफल गरेपछि अगाडीको कदमबारे फैसला गरिने उनले जनाएका छन् । फैसलाको अध्ययनपछि रिभ्यु पेटिन्सन दर्ता गर्ने वा नगर्ने बारे तय हुने जिलानीले बताए । उनले ट्विटरमा लेखेका छन, ‘देशको न्यायपालिकाको मान–सम्मानालाई सर्वोपरी राख्दै समाजका सबै पक्षले हिजोको दिनमा सौहार्दपूर्ण र सकारात्मक वातावरण बनाउनको लागि जुन प्रयास गरे, त्यो स्वागत योग्य छ ।
जनकपुरमा मिठाई बाँडियो
भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर बनाउने फैसला गरेको खुसीयाली जनकपुरधाममा समेत मनाइएको छ । रामको ससुराली मानिने जनकपुरधाममा मिठाई बाँड्नुका साथै दिपावली गरिएको छ । जानकी मन्दिरका साधुसन्तहरुले मिठाई बाँडेका छन् । सीताको जन्मस्थल जनकपुरधाम भएकाले यहाँ खुशियाली मनाउनु स्वभाविक देखिन्छ ।
जानकी मन्दिर प्राङ्कणमा दीपावली मनाइएको छ । शनिबार साँझ मन्दिर प्राङ्कणमा दीप प्रज्जवलन गर दिपावली मनाइएको छ । जनकपुरधामलाई भगवान रामको ससुराली मानिँदै आएको छ । हरेक वर्ष विवाहपञ्चमीका दिन भारतको अयोध्याबाट जनकपुरधाम जन्ती समेत आउने गर्दछ । गत बर्ष उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आएका थिए ।