वीरेश राई,
वर्ष २ । अङ्क: १४ । मंसिर–पौष २०७६
नेपालमा रुद्राक्ष भित्रायाउने पवित्र कार्य सन्त पुरुष, शिक्षाका ज्योति आवाल ब्रम्हचारी श्री ०८ षडानन्द अधिकारीले गरेका हुन् भन्ने विश्वास गरिन्छ । उनले भारतको वाराणासीबाट ल्याएर भोजपुर जिल्लाको दिङ्ला (षडानन्द नगरपालिका)मा रुद्राक्ष रोप्ने कार्यको श्रीगणेश गरेका थिए ।
उनै आवाल ब्रम्हचारी षडानन्द अधिकारीका जनाति कृष्ण अधिकारी (साहित्यकार÷पत्रकार) भन्छन् “उहाँको जन्म वि.सं. १८९२मा भएको हो । अध्ययनको सिलसिलामा आठ वर्षको उमेरमा दिङ्ला छाड्नुभयो । बनारसबाट २७, २८ वर्षको उमेरमा नेपाल फर्किएर आउनुभयो । उहाँ कै अगुवाईमा दिङ्लामा सीताराम मन्दिर स्थापना भयो र त्यहाँ सयौँ जातका फलफूललको बोट विरुवा लगाइए । त्यसपछि वि.सं. १९३३मा सीताराम गुठाी स्थापना गरीयो ।”
साहित्यकार कृष्ण अधिकारीको भनाईबाट अनुमान गर्न सकिन्छ – नेपालमा रुद्राक्ष रोप्ने कार्यको थालनी बि.सं. १९२० पछि र ३२ भन्दा अगाडि भएको हो । पछिल्लो मितिलाई आधार मान्ने हो भने पनि १४४ वर्ष भइसक्यो ।
समुन्द्री सतहबाट ११२ देखि १८०० मिटर उचाइसम्ममा पाइने रुद्राक्ष भोजपुरबाट सङ्खुवासभा, धनकुटा, सुनसरी, मोरङ, झापा, इलामहुँदै हाल आएर देशव्यापी रुपमा बिस्तार भइरहेको छ । सुरुका दिनमा धार्मिक आस्थाले धार्मिक स्थलतिर लगाइएका भएता पनि सर्वसाधारण मानिसहरुले यसको महत्व बुझ्दै गएपछि बिस्तारै व्यावसायिक रुप लिन थाल्यो । मुखदार रुद्राक्ष २२, २५ वर्ष अगाडिसम्म साधु सन्यासीहरुलाई दान गर्दा पूण्य प्राप्ति हुने सोचाइमा परिवर्तन आयो । फलस्वरुप किसानहरुले व्यावसायिक हिसाबले रुद्राक्ष रोप्न थाले, रोप्दैछन् । यसको बोट ७५ फिटभन्दा अग्लो हुन्छ तर व्यावसायिक हिसाबले खेती गर्न थालेपछि किसानहरुले यसको टुप्पो भाँचेर अग्लो हुन दिँदैनन् । बोटलाई आफुले चाहेको उचाईमा राख्छन् । यो ६, ७ फिटभन्दा बढी गोलाइको हुन्छ । यसको दाना औसत १४, १५ मि.मि. व्यासको र ठूलो ३५, ३६ मिमिसम्मको हुन्छ ।
रुद्राक्षको राजधानी मानिने सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा भदौ महिना जानु भ्याएको हुँदैन, छिमेकी मुलुक चिनबाट सयौँ रुद्राक्ष व्यापारीहरु आइ पुग्छन् । चिनीया हुल आइपुग्नुभन्दा केही हप्ता अघिदेखि नै स्थानीय व्यापारीहरु सल्बलाइसकेका हुन्छन् । चिनिया व्यापारीहरु माघ महिना आएपछि मात्रै जान्छन् । यो समय अवधीमा तुम्लिङटार र खाँदबारीका लजमा लरतरबाजी कोठा पाइदैन ।
विगत १२ वर्षदेखि रुद्राक्ष व्यापार गर्दै आएका होटल व्यवसायी लक्ष्मी लिम्बु भन्छन् – “२०औं वर्षदेखि रुद्राक्ष किनबेच हुँदै आएको भए पनि ७१ सालदेखि चिनिया व्यापारीहरु खाँदबारी आउनु थालेपछि यसको व्यापार बढेको हो । होटल र लजवालाहरुको पनि आम्दानी बढ्यो । धेरै किसानहरुको जीवनस्तर उक्सियो ।”
लक्ष्मी लिम्बुको भनाईलाई प्रत्येक शनिवार टुँडिखेलमा लाग्ने साप्ताहिक बजारमा रुद्राक्ष बेच्न आउने किसान र खरिद गर्ने चिनिया र स्थानीय व्यापारीहरुको भीडले प्रमाणित गर्छ । यहाँ सङ्खुवासभाका मात्र होइन भोजपुर र धनकुटाका किसानहरु पनि आउँछन् रुद्राक्ष बेच्न ।
खाँदबारी १०, चन्दनपुरका रुद्राक्ष व्यापारी केदार पौडेल भन्छन् – “पञ्चमुख रुद्राक्ष ६० सालसम्म किनबेच हुँदैनथियो । जब चिनीया व्वयापारीहरु आउन थाले अनि मात्र बिक्री हुन थाल्यो । उनीहरु मुखदारभन्दा बढी पञ्चमुखे नै किन्छन् ।”
वर्षौदेखि खेतबारीका कान्ला र घरमा घुरेनतिर मिल्काइदै आएका पञ्चमुखे किनबेच हुन थालेपछि खाँदबारीमा रुद्राक्ष व्यावसायी संघ नै स्थापना भयो । विगत तिन वर्षदेखि संघको अध्यक्षको जिम्मेवारी चक्रबहादुर बिसुन्खेले सम्हाल्दै आएका छन् । उनी विगत १६ वर्षदेखि विशेष गरेर मुखदार रुद्राक्षको व्यापार गर्दै आएका छन् । उनी भन्छन् –“अलिकति ठूलो, अलिकति महङ्गो मुखदार रुद्राक्ष जहाँ फलेपनि हामी थाहा पाउँछौँ । हाम्रो सञ्जाल छन् ठाउँ ठाउँमा हामीले साथीहरु राखेका छौ । मुखदार रुद्राक्ष भारत जान्छ । चिनिया व्यापारीहरुले पनि थोरै मात्रामा मुखदार रुद्राक्ष लान थालेका छन् । तर उनीहरु मुखदार रुद्राक्ष भन्दैमा जस्तो भेट्यो त्यस्तै लाँदैनन् । रोजेर, छानेर लान्छन् केही बढी नै मूल्य लगाउँछन् । भारतीय व्यापारीहरुले भने मुखदार भनेपछि जस्तै भएपनि लान्छन् ।”
रुद्राक्ष व्यापारीहरु बीचमा हारालुछ हुने २१ मुखे यो साल तीनवटा फेला पारेका चक्रबहादुर बिसुन्खेले एउटा रहस्यमय कुरा सुनाउँछन् –“यो सालदेखि बजारमा औषधि लगाएको रुद्राक्ष निस्कियो । प्राकृतिक तरिकाले फलेको रुद्राक्षभन्दा औषधि लगाएको राम्रा छन् । यसले गर्दा प्राकृतिक तरिकाले फलेको रुद्राक्षको मूल्य घट्यो । पहिले प्रतिकिलो २० लाखमा बिक्री भइरहेको थियो । यो सालदेखि १२ लाखमा झर्यो चिनिया व्यापारीहरु पनि तिनै कृतिम रुद्राक्ष खोजी गर्छन्।”
‘यो औषधि कहाँबाट कसरी आइपुग्यो ?’ भन्ने प्रश्नमा चक्र बिसुन्खे भन्छन् –“हाम्रा केही साथीभाइहरुले चीन गएर ल्याएका रहेछन् गोप्य रुपमा र गोप्य रुप मै प्रयोगमा ल्याउनुभएको छ। यो औषधिलाई रुद्राक्ष व्यवसायी संघले प्रतिबन्ध लगाएको छ । नेपाल सरकारले पनि ‘धार्मिक आस्था जोडिएको कारणले यसलाई प्राकृतिक रुप मै रहन दिनुपर्छ, बिकृति भित्रायाउनु हुँदैन’ भनेको छ । हामी आशावादी छौ अर्को वर्षदेखि औषधि प्रतिबन्ध हुनेछ ।” औषधि भित्रिएको कुरा रुद्राक्ष व्यापारीबीचमा मात्रै नभएर व्यक्ति व्यक्तिबीच पनि हैजा जस्तै पैmलिसकेको छ । यो महामारी कुराले सुखको सपना देख्न थालेका किसानहरुको मुहारमा निराशाको छायाँ देखिन थालेको छ । सङ्खुवासभा सिलिचुङ गाउँपालिका, साविक बाला गाविस ४, पेलुम्बाका प्रीतिकुमार (विद्धे) राई औषधि प्रयोगका कारण अब अर्को अनिष्ट हुने देखेर आशङ्का पोख्छन् –“एक लाख, बीस हजार रुपैयाँ मनले बिक्री भइरहेको अलैँचीमा एक, दुई खराब विचार भएका किसानले चुरुम्पा –हेर्दा अलैँची जस्तै देखिने तर स्वाद र सुगन्ध फरक) मिसाएका कारण तीस हजारमा झर्यो। अब यो चिल्याउने र थेप्च्याउने औषधी प्रयोग हुन थालेपछि रुद्राक्षको भाउ पनि घट्ने भयो।”
किसानहरुलाई छिटै करोडपति बनाउने वृक्ष भनेका मात्रै रुद्राक्ष हो । राम्रो प्रजातिको दुई, चार बोट भए दुई, तिन वर्ष मै करोडपति बनाउँछ । राम्रो रुद्राक्ष चिनिया र स्थानीय व्यापारीहरुले तँ छाड् मै छाड् गरेर ठेक्कामा लिन्छन् । एउटै बोटलाई एक बालीको १२, १५ लाख रुपैयाँ लगाउँछन्, लगाउँदैछन् ।

रुद्राक्षका जानकारहरु भन्छन् – रुद्राक्ष १२१ प्रजातिको हुन्छ । यति मध्येमा सामान्य चासो राख्ने, जोकोहीले १०, १२ खालको रुद्राक्ष सजिलै चिन्न थाल्छन् । जस्तै –मन्धने, चिल्लो मन्धने, अन्धे, भुड्के, काँडे, कन्टे, थ्याप्चे, ध्यामपे चिल्ले, जाले आदि । यी नामहरु यसको बनावटको आधारमा राखिएका हुन् र यही बनावट कै आधारमा यसको मूल्यमा सयौ गुणा घटीबढी हुन्छ । काँडे रुद्राक्ष पनि ७१ सालमा प्रति किलो रु २२००।–ले हारालुछ भयो तर अहिले त्यो कसैले हेर्नेवाला छैन । कन्ठे ठूलो (२४ मिमि) भएकोले प्रति गोटा दुई सय रुपैयाँसम्ममा बिक्री हुन्छ । चिल्ले मन्धने (२१ मिमि भन्दा माथि) ५० देखि १.२५ लाख प्रतिकिलो बिक्री हुन्छ । प्रति किलो २५ हजार रुपैयाँमा बिक्री हुने रुद्राक्ष त धेरै किसानसँग छ । केही किसानसँग एक लाख रुपैयाँ किलोको पनि छ र केहीसँग त प्रति किलो १०, १२ लाख प्रति किलोको पनि छ । तर ती किसानहरु यी कुरा गोप्य नै राख्न चाहन्छन् । किनबेच पनि गोप्य रुपमै गर्छन् । यसरी गोप्य हुनुको कारण ‘चोरी’ हो । ७१ सालदेखि एकाएक मूल्य आकाशिएपछि रुद्राक्ष चोरी हुन थाल्यो । खाँदबारी ५, माल्टाका रमेश काफ्लेको आँगन कै रुद्राक्ष चोरी भयो दुई महिनाअघि । अझ रमेशको त दाना मात्रै चोरियो, अर्जुन कार्किको त बोटै मारिदिए । सङ्खुवासभा, सिलिचुङ ४, साविक माङ्तेवा गाविस वडा नं. ६ का कार्कीको रुद्राक्ष प्रति किलो ५० हजार रुपैयाँमा बिक्रि हुँदै आइरहेको थियो तर अज्ञात अपराधीले फेदको बोक्रो ताछिदिएर मारीदिए । प्रहरी प्रशासनलाई उजुरी दिए तर अपराधी पत्ता लागेन । यो गत सालको कुरा हो । यो साल साविक माङ्तेवा ८, माम्देक निवासी मनकुमार राईको रुद्राक्ष पनि अज्ञात अपराधीहरुबाटै बोक्रो ताछियो । त्यो बोटलाई बचाउन आफ्नो विवेकले भ्यासम्मको उपाय लगाइरहेका छन् मनकुमार । त्यो बोट हरेक साल १० लाख रुपैयाँमा ठेक्का लाग्दै आइरहेको थियो।
विक्रम विश्वकर्मा आफ्ना छिमेकीहरुलाई यस्तो अत्याचार भएकोमा आगो भए । अझै निभेका छैनन्। ज्वाला ओकाल्दैछन् – “त्यो रुद्राक्षको बोट ताछ्नेहरुलाई भेटियो भने ताछ्दा हुन्छ। पाप लाग्दैन।”
रुद्राक्ष उत्पादक किसानहरु घरिघरि यस्तो घटना दोहोरिन थालेपछि चिन्तित भएका छन् । यही कारण आजभोलि आफ्नो बगैँचामा कोही, कसैलाई पनि पस्न दिँदैनन् । सुरक्षाको लागि फलामे काँडे तारले घेर्न थालेका छन् । सि.सि. क्यामेरा राखेका छन् । अझ यति मात्रै चित्त नबुझेर आफै पनि हेरालु बस्छन् ।
आम्दानीको हिसाब लगाउँदा मुखदार फल्नेभन्दा प्रत्येक वर्ष किलो हिसाबले बिक्री हुने दाना फल्ने बोट नै राम्रो हो कहिलेकाहीँ मात्र फल्ने ठूलो मुखदार रुद्राक्षले वर्णन गरेर नसकिने आनन्द दिन्छ । भीर, पाखाको बसाइ बजारमा सर्छ । झुपडीको बास पक्की घरमा पुग्छ । गुन्द्रीको सुताई लो–बेडमा चढ्छ । कल्पना गरेको कुरा यथार्थमा परिणत हुँदाको खुशी हुँदैन र ? सबै नै खुसी हुन्छौँ । हर्कजङ्क विश्वकर्मा पनि आजभोली अति नै खुसी छन् । खाँदबारी १ पिप्ले राई डाँडा निवासी हर्कजङ्कको रुद्राक्षले यो साल २१ मुखे फल्यो । रु ३४ लाख ६० हजार रुपैयाँमा बिक्री भयो । टुँडिखेल नजिकैको बसपार्क छेउमा ३२ लाख रुपैयाँ पर्ने घरेडी लिनेदिने बन्दोबस्त गरिसकेका छन्। त्यो २१ मुखे दाना भेट्दाको क्षणको खुसी वर्णन गर्न सक्दैनन् उनी । हाँस्तै भन्छन् –“खुसी लाग्यो”, राम्रोसँग उनले त्यो क्षणको खुसी शब्दले भन्न सकेनन् तर उनको हँसिलो अनुहार र ओँठको मुस्कानले भनिरहेको थियो – कि उनी त्यो क्षण कति धेरै खुसी भएका थिए ।
खाँदबारी बजारमा मुखदार रुद्राक्षको मूल्य व्यापारी पिच्छे फरक पर्छ । रुद्राक्षका ४, ५ र ६ मुखेलाई मुखदार मानिदैन । ७ मुखेदेखि उँभोकालाई मुखदार मानिन्छ । व्यापारीहरुले ७ मुखेलाई रु ३००।– सम्म लगाउँछन् तर ठूलो आकारको छ भने तीन गुणा बढी पनि लगाउँछन् । ८ मुखेलाई बढी रु १,५००।–, १० मुखेलाई रु ५,०००।– सम्म, १४ मुखेलाई ८ देखि ३० हजार । १७ मुखेलाई ५० हजार देखि १.२५ लाख । १८ मुखेलाई १ देखि २ लाख। १९ मुखेलाई ३ देखि ६ लाख । २० मुखेलाई १० देखि १२ लाख । २१ मुखेलाई २० देखि ४५ लाख।
गत साल खाँदबारीमा १७ वटा २१ मुखे रुद्राक्ष किनबेच भयो । यो साल यो लेख तयार भइरहँदासम्म ६ वटा मात्र खाँदबारी आइपुगेको भएपनि खाँदबारीले यो साल पहिलोपल्ट २९ मुखे रुद्राक्षको दर्शन पायो। यो २९ मुखे रुद्राक्ष ल्याउने भाग्यमानी किसान हुन् करोडपति राई (काल्पनिक नाम हो यो – सुरक्षाका लागि, जातले उनी राई नै हुन्) राईले यसको मूल्य राखे एक करोड रुपैयाँ । व्यापारी र राईका बीचमा अझै मूल्यको टुङ्गो लागेको छैन।
रुद्राक्षको दुनियाँमा दुर्लभ मानिने यो २९ मुखे रुद्राक्ष फलेको हो भोजपुरको षडानन्द नगरपालिकामा । उनै षडानन्द जसले नेपालमा पहिलोपल्ट रुद्राक्ष भित्राएका थिए । उनकै सम्मानमा उनी जन्मिएको पवित्र भूमिलाई नेपाल सरकारबाट नामाङ्गन भयो – षडानन्द नगरपालिका।
यही षडानन्द नगरपालिका साविक दिङ्ला –भोजपुर)मा जन्मिएका हाल सुनसरीको इटहरी निवासी कृष्णविनोद लम्साल (साहित्यकार–पत्रकार) रुद्राक्षकोको प्रसङ्कमा भन्छन् –“पथिक कवि लक्ष्मी आचार्यले ‘रुद्राक्षारण्य महात्म्य’ नाम भएको पुस्तक लेखेका छन् । त्यो पुस्तकबाट रुद्राक्षका महत्वका बारेमा धेरै कुरा जानकारी पाइन्छ।”
‘सङ्खुवासभामा रुद्राक्षको वार्षिक कारोवार कति मूल्य बराबर हुन्छ ?’ भन्ने जिज्ञासामा उद्योग वाणिज्य संघ खाँदबारीका अध्यक्ष युवराज शाक्य भन्छन् – “यहाँ एक लाख, दुई लाखको किनबेच मात्र खुल्ला रुपमा हुन्छ। रुद्राक्षको व्यापारमा लाखौँको कारोबार हुन्छ तर यो यहाँ गोप्य रुपमा चल्छ । यही कारणले यो कुरा उद्योग वाणिज्य संघलाई थाहा हुँदैन।”
‘सङ्खुवासभा र भोजपुरका रुद्राक्ष उच्च कोटीका छन्’ रुद्राक्ष व्यापारीहरु भन्छन्। उनीहरु अरु जिल्लाबाट भित्रिएको रुद्राक्ष चिन्छन्। नेपालमा उत्पादन हुँदै आएको रुद्राक्षको बजार अहिलेसम्म भारत र चीन मात्रै हो। राज्यले विश्व व्यापार सङ्गठन मार्फत अन्तर्राष्ट्रिय बजार बढाइदिए रेमिट्यान्सको भर पर्नु पर्दैन मुलुकले । चाँडै जीवनस्तर उक्सिने थियो रुद्राक्ष किसानहरुको। समृद्ध हुने थियो हाम्रो नेपाल।