ऋतिक यादव,

वर्षः ०२  | अङ्कः ११  | श्रावण २०७६

नेपालको न्यायालय र राजनीति विकास गर्न कानुनी दखल भएका जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ स्थापित प्लेटो एकेडेमी अफ ल, काठमाडौंमा विए.एल.एल.वी. को प्रवेश परीक्षाको तयारी गरिरहेका स्तम्भकार लगायत ६० जना विद्यार्थीहरुले शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको सफलतापूर्वक यात्रा गर्यौँ ।

देशको संघीय राजधानीबाट सबैभन्दा नजिकको राष्ट्रिय निकुञ्जको रुपमा परिभाषित  निकुञ्जले उपत्यकाको दूषित हावा सोसेर स्वच्छ हावा उत्सर्जन, खानेपानी र भुमिगत जलभण्डार सिञ्चन, कृषि भूमिमा सिंचाई गर्नुले काठमाडौंसँगको सम्बन्ध अत्यन्त गहिरो मानिन्छ । धूलो र धूवाँबाट आक्रान्त काठमाडौंबासीलाई प्रकृतिमा सयर गराउने माध्यम भएकाले पनि यसबारे सर्वत्र चासो रहन्छ । आन्तरिक र बाह्य पर्यटकको प्रमुख निशानामा रहने यो क्षेत्रबारे थप जान्ने र बुझ्ने अपेक्षासहित हामीले धेरै हदसम्म पूर्वनिर्धारित लक्ष्यहरु पुरा गर्न सक्यौं र पाठकवर्गलाई समेत शिवपुरी–नागार्जुन पुग्न सल्लाहसहित यस आलेखमा निकुञ्जको परिचय, ऐतिहासिक पृष्ठभूमि, प्राकृतिक सौन्दर्यता, धार्मिक केन्द्घियता र अनेक आकर्षणका पक्षलाई समेट्ने जमर्को गदैछु ।

परिचय र अवस्थिति

नेपालको मध्यपहाडी क्षेत्रमा अवस्थित परिस्थितिकीय प्रणालीको प्रतिनिधित्व गर्ने एकमात्र राष्ट्रिय निकुञ्ज हो, शिवपुुुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय  अन्तर्गत रहेको यो राष्ट्रिय निकुञ्जको स्थापना वि.सं. २०५८ मा गरिएको हो । प्राकृतिक संसाधनहरु संरक्षणका लागि समर्पित संस्था अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)सँग समेत यसको सम्बन्धन छ । सङ्कठनको घोषित लक्ष्य, विश्वको सबैभन्दा दुर्गम पर्यावरण र विकास सम्बन्धि चुनौतीहरूको लागि व्यावहारिक समाधान खोज्ने दिशामा मद्दत गर्ने हो ।

नेपालको मध्य पहाडी क्षेत्र काठमाडौको उत्तरी किनारामा पर्ने यस निकुञ्जको क्षेत्रफल १५९ वर्ग कि.मि (शिवपुरी १४४ व.कि.मी, नागार्जुन १५ वर्ग कि.मी) रहेको छ । र, निकुञ्जले काठमाडौं, नुवाकोट, धादिङ र सिन्धुपाल्चोकको भूभाग ओगटेको छ । निकुञ्जको मुख्यालय बुढानीलकण्ठ पानीमुहान सम्मको दुरी सुन्धाराबाट १२ कि.मि. छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४५ मिनेटमै सार्वजनिक बस र टयाक्सीबाट सजिलै पुग्न सकिन्छ ।

ऐतिहासिक पृष्ठभूमि

यस क्षेत्रको संरक्षणको इतिहास हेर्दा सन् १९७६ मा जलाधार संरक्षण क्षेत्रको रुपमा शिवपुरी जलाधार संरक्षण वोर्डद्वारा संरक्षण सुरु गरि सन् १९७८ मा शिवपुरी संरक्षीत जलाधार क्षेत्र कायम भएको पाइन्छ । त्यसैगरी सन् १९८४ मा शिवपुरी जलाधार तथा वन्यजन्तु आरक्ष घोषणा भएको थियो । यसै नामानुसार यस क्षेत्रको आवश्यक संरक्षण तथा व्यवस्थापनका कार्यहरु हुदै जाँदा यो क्षेत्रको महत्वलाई अझै बढि मूल्याङ्गन गरी सन् २००२ मा नेपाल सरकारबाट शिवपुरी राष्ट्रिय निकुञ्जको रुपमा राजपत्रमा सूचना प्रकाशित भएको थियो । नागार्जुन वनक्षेत्र तत्कालिन राजा वीरेन्द्घको निजि वनको रुपमा रहेको र राजा वीरेन्द्घको वंशनास भइसकेको परिवेशमा देशको राजनीतिक परिवर्तनसँगै सो वनक्षेत्रलाई राष्ट्रियकरण गर्ने राजनीतिक निर्णयानुसार सन् २००९ मा १५ वर्ग कि.मि. क्षेत्रफल ओगटेको नागार्जुन वन क्षेत्रलाई समेत शिवपुरी राष्ट्रिय निकुञ्जमा गाभि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नामाकरण गरिएको हो ।

धेरै अगाडि देखी नै काठमाण्डौ उपत्यकामा यस निकुञ्जको ठूलो महत्व रहँदै आएको छ । काठमाण्डौ उपत्यकामा दैनिक खपत हुने हजारौ लिटर पिउने पानीको मुलस्रोत भएका कारण पनि यस निकुञ्जको महत्व इतिहासकालदेखि महत्वपूर्ण मानिन्छ । वि.सं. २०५८ मा काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको १४४ वर्ग कि.मि. भुभाग ओगटी शिवपुरी राष्ट्रिय निकुञ्जको रुपमा यस निकुञ्जलाई स्थापना गरिएको थियो । त्यस पश्चात यस निकुञ्जलाई पुनः वि.सं. २०६५ मा नागार्जुन वन संरक्षण क्षेत्रको काठमाण्डौ र धादिङमा पर्ने १५ वर्ग कि.मि. भूभाग समेटी कुल १५९ वर्ग कि.मि. मा फैलाइएको हो ।

वनस्पति र वन्यजन्तुको अवस्था

वनको किसिम धरातलीय अवस्थितिले अध्ययन गर्दा यो निकुञ्ज क्षेत्रमा ४ किसिमका वनहरू पर्छन्। पहिलो, निकुञ्जको तल्लो मिश्रित चौडापाते वन १३५० मिटर देखि १५०० मिटरको उचाईमा अवस्थित छ । जसमा पाइने मुख्य रुखहरुमा चिलाउने, ढाले कट्टुस, उत्तिस, काफल, महिल, शिरीष, चुनी इत्यादि छन् । दोस्रो,  निकुञ्जको १३५० मि. देखि १६०० मि. सम्मको उचाईमा खोटेसल्लो वन अवस्थित छ । जसमा पाइने मुख्य प्रजातिका रुखमा खोटेरानी सल्लो, मुसुरेकट्टुस, काफल, मयल आदि पर्दछन् । तेस्रो, निकुञ्जको उपल्लो मिश्रित चौडापाते वन १५०० मि. देखि २७०० मि.को उचाईमा अवस्थित छ । जसमा पाइने मुख्य प्रजातिका रुखमा पांगर, फिरफिरे, ओखर, लाकुरी, वैस, कसुर, अर्खौलो आदि छन् । र, चौथौ निकुञ्जका २३०० मि. देखि २५०० मि. सम्मको उचाईमा खस्रु वनक्षेत्र अवस्थित छ । जसमा पाइने मुख्य प्रजातिका विरुवामा खस्रु, झिंगाने, बांझ, लिसो र १२५० प्रजातिका वनस्पति पाइन्छन् जसमध्मे ५० प्रजातिका रैथाने वनस्पति छन् ।

यसै गरी यस वनक्षेत्रमा १२९ प्रजातिका ढुसी (च्याउ) पनि पाइन्छन् । यस निकुञ्जमा २२ भन्दा बढी जातिका स्तनधारी जनावरहरुको वसोबास रहेको छ । जसमध्ये संरक्षित ध्वाँसे चितुवा, चरीबाघ, आसामी बाँदर, सालक जस्ता वन्यजन्तु प्रमुख रहेका छन् ।  निकुञ्जमा करिब ३११ प्रजातिका चराचुरुङ्की तथा पंक्षीहरु पाईन्छन् । जसमध्ये १७७ प्रजातिका बसाई सराई गर्ने पंक्षीहरु यहाँ पाईन्छन् । यसै गरी निकुञ्जमा करिब १०२ प्रजातिका पुतलीपतङ्कहरु पनि पाईन्छन् ।

निकुञ्जको विशेषता र आकर्षण

  • राजधानीवाट सबैभन्दा छोटो दुरीमा रहेको राष्ट्रिय निकुञ्ज ।
  • काठमाण्डौ उपत्यकाको प्रसिद्ध नदीहरू वागमती र विष्णुमतीको उद्गमस्थल  ।
  • चिसापानी क्षेत्रबाट हिम श्रृङ्कखलाको दृश्यावलोकन बिन्दु ।
  • काठमाण्डौको बासिन्दालाई पिउने पानी उपलब्ध गराउने जलाधार क्षेत्र ।
  • संरक्षण शिक्षा, अध्यन अनुसन्धान एवं पर्या–पर्यटन प्रवर्द्धन लागि प्रचुर सम्भावना रहेको क्षेत्र ।

       स्थानीय वातावरण शुद्धीकरण काठमाण्डौ उपत्यकाबाट निःसृत कार्वनडाईअक्साइडलाई शोषण गर्ने क्षेत्र ।

  •        मानव निर्मित लामो पर्खाल शिवपुरी १११ कि.मि. र नागार्जुन २९ कि.मी. ।
  •        लाङ्कटाङ्क राष्ट्रिय निकुञ्ज जाने प्रवेशद्धार ।
  •        दुईवटा वन क्षेत्र मिलाईएको राष्ट्रिय निकुञ्ज ।
  •        चट्टान आरोहण र पैदलयात्राको लागि अभ्यास क्षेत्र ।
  •        हिन्दु र बौद्ध धर्मालम्बीहरुको सांस्कृतिक संगमस्थल ।

बागद्वार, कागेश्वरी, मणिचूड, तारकेश्वर, सुन्दरीमाई, विष्णुपादुका, नागीगुम्बा, पचलीभैरव शान्तिगुफा, नागदेवता, जामाचो गुम्वा, गणेश मन्दिरलगायतका  प्रसिद्ध धार्मिक सम्पदाको उपस्थिति ।

चुनौती र सुझाव

प्रयुक्त निकुञ्ज राजधानीबाट नजिकै भए पनि ‘बत्तीमुनिको अँध्यारो’ जस्तो ओझेलमा परेको दुखान्त प्रकट गर्नुहुन्छ, निकुञ्जका पूर्व चिफ वार्डेन कमलजंग कुँवर। “कहिले केवुलकारको नाममा त कहिले उर्लेको जंगलमा ‘मिनी नेपाल’ बनाउने नाममा, जताततै सडक निर्माण गर्न खोज्ने, महोत्सव मनाउने नाममा आफैँले पिउने पानीको मुहानमा डोजर चलाएर समाप्त गर्न खोज्नेहरुलाई पटकपटक आक्रमण गर्ने चेष्टा हुँदै आएका छ” भने कुरा एउटा आलेखमा उनले खुलाएका छन् ।

सयौं गाडी र मोटरसाइकलमा निकुञ्ज प्रवेश गरेर मनलाग्दी सयर गर्ने परिपाटी र निजी सवारीसाधनको ध्वनि र वायु प्रदूषण नियन्त्रण गर्ने साहसिकता देखिएको छैन । निजी सवारीको नियन्त्रण गर्न कठिन भइरहेको र तोकिएको मापदण्डअनुसार चल्ने जिप सफारीका माध्यमबाट थप प्रदूषण हुन नदिने, व्यवस्थित र वैज्ञानिक तरिकाबाट निकुञ्जको अवलोकन भ्रमण गराउने माहोल  सिर्जना हुन नसक्नु कमजोरीपनलाई सङ्गेत गर्दछ ।

निकुञ्जलाई जैविक विविधता र धार्मिक स्थलको ज्ञान वितरण केन्द्घको स्वरुपमा उतार्न झन् प्रयासहरु चाहिएको छ ।  निकुञ्ज कार्यालय, सरकारी निकाय र केही सीमित संघसंस्था मात्र होइन, यसको संरक्षणमा ठूलो जमात् ‘कान ठाडो पारेर चनाखो भएर बस्नुपर्ने आवश्यकता देखिन्छ ।