संजीव सिंह,
वर्षः ०२ | अङ्कः ११ | श्रावण २०७६
लन्डनको लडर्स क्रिकेट मैदानमा सम्पन्न विश्वकप क्रिकेटको १२औं संस्करणको फाइनलमा नाटकीय ढंगले आयोजक इंग्ल्याण्ड विश्व च्याम्पियन बनेको छ । ४४ वर्षको विश्वकपको यात्रामा इंग्ल्याण्ड पहिलो पटक उपाधि जित्न सफल भएको हो । जुलाइ १४ अर्थात् असार २९ गते भएको फाइनलमा पहिलो खेल (५० ओभर) र दोस्रो खेल (सुपर ओभर) बराबर भएपछि बढी बाउण्ड्री हिर्काएको आधारमा इंग्ल्याण्ड विजेता बन्न सफल भयो । फाइनलमा टस जितेर पहिला व्याटिङ रोजेको न्युजिल्यान्डले ५० ओभरमा आठ विकेट गुमाएर २ सय ४१ रन बनायो जवाफमा इंग्ल्यान्डले पुरा ५० ओभर खेल्दै अलआउट भई २ सय ४१ रन बनाएर खेल बराबरीमा टुङ्ग्याए । यसरी फाइनल खेल टाइ भएपछि पहिलो पटक सुपर ओभरको खेल सम्पन्न भएको थियो । तर सुपर ओभरमा समेत दुबै टोलीले समान १५ रन बनाएपछि सर्वाधिक बाउन्ड्रीको आधारमा इंग्ल्यान्ड विश्व कप उपाधि जित्न सफल भयो ।
आयोजक इंग्ल्यान्डले ५० ओभरमा २२ चौका र २ छक्का तथा सुपर ओभरमा २ चौका गरी कुल २४ चौका र २ छक्का प्रहार ग¥यो । न्युजिल्यान्डले ५० ओभरमा १४ चौका र २ छक्का तथा सुपर ओभरमा १ छक्का सहित समग्रमा १४ चौका र ३ छक्का प्रहार गर्न सफल भयो । इंग्ल्यान्ड २७ वर्षपछि विश्वकप फाइनलको यात्रा तय गर्दै
विश्व विजेता बन्यो भने न्युजिल्यान्डको यो लगातार दोस्रो फाइनल प्रतिस्पर्धा थियो । अनिश्चितताको खेल भनिदै आएको क्रिकेट वास्तवमै अनौठो र अनिश्चित देखियो । सन् १९७५ देखि इंग्ल्यान्डबाट शुरुवात भएको क्रिकेट विश्वकप अन्ततः पहिलो पटक इंग्ल्यान्डले जित्न सफल भयो ।
यो जितसँगै इंग्ल्यान्डले ट्रफी र ४० लाख डलर (४३ करोड ६० लाख) पुरस्कार वापत पाएको छ भने उप–विजेता न्युजिल्यान्डले नगद २० लाख डलर (२१ करोड ८० लाख) प्राप्त गरेको छ । पाँच पटक विश्व विजेता अष्ट्रेलिया र दुई पटकको विजेता भारत यस पटक प्रबल दावेदार रहे तापनि सेमिफाइनलमै सीमित रह्यो । आइसिसीका अनुसार अष्ट्रेलिया र भारतले समान ८ लाख डलर धनराशी प्राप्त गर्न सफल भए ।
कूल १ करोड डलरको पुरस्कार राशि रहेको यस प्रतियोगितामा राउन्ड रोबिन लिग प्रत्येक खेल जित्ने राष्ट्रले ४० हजार डलर पाएका छन् । साथै राउन्ड रोबिन लिग पार गर्ने राष्ट्रले बोनसका रुपमा १ लाख डलर थप पाएको थियो । तथापी एक खेल पनि नजित्ने राष्ट्र अफगानिस्तान रह्यो । कुल ४६ दिनसम्म चलेको यस प्रतियोगितामा १० राष्ट्र सम्मिलित थिए र खेल इंग्ल्यान्डको विभिन्न ११ स्टेडियममा सम्पन्न भएको थियो । यस विश्वकपमा पहिलोपटक वर्षाका कारण तीन खेल रद्द भएको थियो । १२औं विश्वकपको समाप्तीसँगै १३औँ विश्वकप क्रिकेटको आयोजना भारतले गर्ने आइसिसीले जनाएको छ । भारतले यसअघि १९८७, १९९६ र २०११ मा संयुक्त रुपमा विश्वकपको सफल आयोजना गरिसकेको छ ।