राजेश्वर डी. श्रेष्ठ

वर्षः ०२  | अङ्कः १०  | असार २०७६

म पत्थरको देवता होइन, तोडिएर तोडिने … अर्थात् सदावहार गीतका गायक दीप श्रेष्ठ । उनै दीप श्रेष्ठ जस्ले जति गीत गाए अमर गाए । पृथक शैली, गायनमा गहिराइ, सार्है चुजी अनि थोरै गाएर धेरै गहिराई नाप्ने जीवन्त गायक । सितारवादक जयनारायण श्रेष्ठ र इन्दिरा श्रेष्ठका सुपुत्रका रुपमा २००७ सालमा धरानमा जन्मेका दीप श्रेष्ठ खेलकुदका शौकिन र संगीतका पुजारी हुन् । अनुशासन जीवनमा मात्र होइन संगीतमा पनि हुनुपर्ने उनको धारणा छ ।

रोगसँग प्रतिस्पर्धा गरेर रोग माथि बिजय प्राप्त गरेका श्रेष्ठको बारेमा कुनै बेला मृत्यु भयो भनेर समेत बजारमा हल्ला चल्यो । त्यो सुन्दा अहिले रोमाञ्चित हुने उनी अहिलेको साँगीतिक क्षेत्रमा प्राविधिक बिकास भएपनि भावनात्मक र लयात्मक अभाव खड्केको बताउँछन् । २०२५ सालमा रेडियो नेपालमा पहिलो पटक गीत रेकर्डिङ्क गराएका दीपले पहिलो गीतबाट नै आफ्नो सशक्त परिचय दिन सफल भए ।

२०२५ सालमा तत्कालिन राजा महेन्द्रसामु प्रस्तुत गरेको नाटक ‘शिलान्यास’मा गुञ्जिएको उनको गायकी लगत्तै रेडियो नेपालमा रेकर्ड भएको पहिलो सुमधुर गीत ‘म पत्थरको देवता होइन …’ बाट आरम्भ गीतियात्रा निरन्तर र अविरल छ । वेस्ट मेल भोकल रेडियो नेपाल–२०२७, छिन्नलता संगीत पुरस्कार–२०६० आदि अनेकौ सम्मानबाट सम्मानित उनका दर्जनौ एल्बम बजारमा छ । जसमध्ये मुख्य वेस्ट अफ नारायण गोपाल, आभाष, भजनामृत, यात्रा, बेस्ट अफ दीप श्रेष्ठ आदि रहेको छ । दीप जस्तै बल्ने दीप श्रेष्ठको अनवरत गीतियात्राको आरोह अवरोहलाई मुलुक टाइम्सका लागि राजेश्वर डी. श्रेष्ठले गरेको संक्षिप्त भलाकुसारी :

दीप श्रेष्ठ यति  लामो समयसम्म पनि सांगीतिक ज्योतिका रुपमा बल्न सक्नुका कारण के हुन् ?

अविरल, निरन्तरता, सकारात्मकता अनि संगीत प्रतिको निष्ठा वा समर्पण नै भन्नुहोस् । मेरो सांगीतिक निरन्तरताको कारण यहि हो । म आफै पनि कम्पोजर भएकाले संगीतलाई दिइरहन त्यति गार्हो कहिल्यै भएन ।  मलाई म गाउन सक्छु भन्ने भाव सधै आइ नै रह्यो । त्यस वाहेक निरन्तर रियाज गर्ने, गेम खेल्ने, योगा ध्यानलाई समय दिने त्यस्तै सन्तुलित खानपान र अनुशासित दैनिकीले गर्दा म दीप श्रेष्ठको रुपमा सांगीतिक क्षेत्रमा डुबीरहन सफल भएकोछु । अर्को महत्वपूर्ण पाटो भनेको म र मेरो आवाज प्रति सद्भाव राख्ने मेरा आदरणीय श्रोताहरु हुन् ।

तपाईसँगैका धेरै समकालीनहरु सांगीतिक दुनियाँबाट टाढा जस्तै हुनुभयो त ?

हो, धेरै जसो टाढा नै हुुनुहुन्छ । कोही फाट्टफुट्ट देखिनुहुन्छ । अहिलेको सांगीतिक माहोल पनि फेरिएको छ । आधुनिक प्रविधि, एक अर्काबीच प्रतिस्पर्धा र आफू चिनिनका लागि जे जस्तो पनि गर्न सक्नुपर्ने संगीतको बजारमा हामी जस्तालाई अलि गार्हो नै हुन्छ । हामी पहिला २०-३० जनाको एउटै समूहमा १०औँ पटक २०औँ पटकको संयुक्त प्रयासमा पछि बल्ल गीत रेकर्ड हुन्थ्यो । एउटा गी सयौँ पटक गाउनु पथ्र्यो रियाज धेरै गर्नु पथ्र्यो, भनौँ सबैले निकै मेहनत गर्नुपथ्र्यो । तर अहिले त्यस्तो छैन । हामी चर्चित हुन धेरै गीत गाइसकेको हुनुपथ्र्यो भने अहिले एउटै गीतले पनि चर्चित हुन सकिने भयो । वातावरणदेखि अन्य धेरै कुरा फरक भएको छ, सांगितिक क्षेत्रमा ।

दीप श्रेष्ठका गीतहरु जीवन्त हुनुका कारण के होला ?

हुन त, संगीत आफैमा जीवन्त हुन्छ । अहिले जस्तो सजिलो थिएन त्यति बेला । गीत रेकर्ड गर्न महिनौँ कुर्नु पथ्र्यो र महिनौँ रियाज गर्नु पथ्र्यो । गायक, संगीतकार र रचनाकार चुर्लुम्मै डुबेका हुन्थ्यौँ। अनि लामो मेहनतको फल पनि मिठो हुन्थ्यो । एकअर्कासँग प्रतिस्पर्धा हुन्न थियो र कसैले ठूलो अपेक्षा पनि राख्दैन थिए । आफूले पनि कहिल्यै गीत गाएर ठूलो अपेक्षा राखिन । गीतको संख्या बढाउनेभन्दा स्तरीयता दिन प्रयत्नशील भइयो । गीतमै रमाइलो, गीतलाई नै संसार ठानियो ।

आफुमा केही पृथकता पाउनुहुन्छ ?

केहीले यस्तै सोच्दा रहेछन् । दीप श्रेष्ठ अलि फरक छ भनेर । तर मलाई लाग्दछ यो आ–आफ्नो सोच हो । म गीतलाई अलि नयाँपन दिन खोज्छु प्राय र गीतको गहिराइमा डुब्छु । भाव नआएसम्म गीत गाउँदिन म नआतिकन धैर्यताका साथ गीतलाई पूर्णता दिन्छु । शायद मेरो आफ्नोपन नै अरुका लागि अलि पृथक देखिएको हो कि ?

सांगीतिक क्षेत्रमा भएको आधुनिकीकरण र व्यापकताले क्षेत्रमा फड्को मारिएको हो ?

फड्को होइन, निरन्तरता नै मात्र हो । हो, प्रविधिको विकास भएको छ । धेरै सजिलो बनाई दिएको छ । हाम्रा पालामा जस्तो धेरै मेहनत गर्नु नपर्ने भएको छ । प्रविधिले गर्दा रातारात चर्चित पनि हुने र पैसा पनि कमाइने वातावरण बनेको छ। धेरै धेरै कलाकारहरु जन्मिने मौका प्राप्त भइरहेको छ । यो संगीतमा फड्को होइन कि प्रविधिमा फड्को चाहिँ हो । सजिलोसँग छिटै चर्चामा आउने सहज बाटो भने बनेको छ । पहिले दिनभर लाग्थ्यो रेकर्ड गर्न अहिले क्षणभरमै हुन्छ । पहिले र अहिलेको देखिएको फरकपनाले कहिले काहीँ अनौठो लाग्छ ।

संगीतमा भित्रिएको आधुनिक प्रविधि र प्रतिस्पर्धाले नेपाली मौलिक संगीतलाई कस्तो असर पर्ला ?

प्रविधिको विकासलाई स्वीकार्नैपर्छ । यो नयाँ पिंढीको नयाँ उपलब्धि हो । यसबाट फाइदा पनि धेरै छ । यति हुँदा हुँदै पनि के विर्सनु हुन्न भने संगीत भनेको समर्पण हो । श्रद्धा हुनैपर्छ र भावमय हुनैपर्छ । संगीतले मन हुन सक्नुपर्छ, छुवाउन सक्नुपर्छ सांगीतिक सागरमा अनि मौलिकता मासिनु हुन्न । नयाँ प्रविधिले त्यसलाई भने निखार्न सक्नुपर्छ । आधुनिकताका नाममा संगीतसँग धेरै खेलवाड गर्नु हुन्न वरु सुनलाई टल्काए झै टल्काउनुपर्छ । संगीतमा सजिलै उत्रनुभन्दा गहिराइसम्म डुब्ने प्रयास गर्नुपर्छ ।

आधुनिक सांगीतिक माहोलमा पुराना श्रष्टाहरु कतै छायाँमा छ जस्तो लाग्दैन ?

केही फरक पर्दैन । हामी आफ्नै ठाउँमा छौ । हाम्रो आफ्नैपना छ । हामीले न कहिले रातारात चर्चा हुन नै चाह्यौँ न हतार गर्यौ । हामी डुब्थ्यौँ संगीतमा । महिनौँ रियाज गथ्र्यौँ । संख्यामा भन्दा स्तरीयतामा ध्यान हुन्थ्यो । कठिन परिश्रमका विद्यार्थी थियौँ, हामी । आफ्नो आत्म स्वाभिमानी भएर गायौँ, आफ्नै पनामा रमायौँ । त्यसैले चर्चाको भोक पहिला पनि थिएन र अहिले पनि छैन । हामी आफ्नै शैली र आफ्नै वहावमा छौँ, निरन्तर रहन्छौँ । हामीले श्रोताको मायाँ सद्भाव पाइरहेका छौँ यही निरन्तर रहोस् । यो सही हो त्यतिबेला हामी गाउँदा पैसा प्राथमिकतामा हुन्नथियो, श्रोताको माया पहिलो चाहना हुन्थ्यो ।

नेपाली मौलिक संगीतको संबद्र्धन आवश्यक देख्नुहुन्छ ?

छ, आवश्यक छ । संगीतमा नेपाली मौलिकता विस्तारै छायाँ पर्दैछ । आधुनिकताको सदुपयोग हुनुपर्छ तर मौलिकता हराउनु हुन्न । कलाकार यसमा गंभीर हुनु त पर्छ नै त्योसँगै सरकारी क्षेत्रबाट पनि नेपाली मौलिकताको संरक्षण र संवद्र्धन गरिनुपर्छ । यसमा सरकार कहाँ छ, के गरिरहेको छ थाहा छैन । कलाकारलाई देशको गहना मानिएको हुन्छ  तर संरक्षण गरिदैन । देशको नाम राख्ने पुराना कलाकार कहाँ कुन अवस्थामा छन् सरकारलाई थाहा छैन । कलाकार चिनिन पनि झण्डै बोक्नुपर्ने जस्तो भइसक्यो । आजसम्म कुनै कलाकारले राष्ट्रिय सम्मान पाएको खोइ ? पहुँच र सिफारिस वेगर केही हुने अवस्था छैन । कलाकार प्रतिको दृष्टिकोण सम्मानजनक बनाउन सरकारले सबैसँग सहकार्य गर्न जरुरी छ ।

रोगलाई हराएर श्रोताको मन जित्न सफल सदावहार दीप श्रेष्ठ अहिले श्रोताको मन जित्न के गर्दै हुनुहुन्छ ?

गीतलाई भरसक निरन्तरता दिइ रहेकै छु । श्रोताकै लागि एउटा नयाँ एल्वमको तयारीमा पनि छु । म श्रोतालाई आत्मविश्वासका साथ के भन्न चाहन्छु भने म ८० वर्षसम्म गीत गाइरहने छु, श्रोताको साथका लागि आभारी छु ।