जयन्ती गौतम,
वर्षः ०२ | अङ्कः ०९ | जेष्ठ २०७६
संस्कृतको युज् धातुबाट बनेको योग शब्दको अर्थ हुन्छ जोड । जोड भन्ने बित्तिकै त्यहाँ दुईवटा तत्व हुनु नै पर्दछ । दुई तत्व एक हुन अवस्था नै योग हो । बौद्धिक व्यक्तिले आत्मा र परमात्मा मेल नै योग भन्दछन् भने सामान्य व्यक्तिले योगासन व्यायाम, प्राणायामलाई योग ठान्दछन् । वास्तवमा हामीलाई न आत्मा के हो थाहा छ न त परमात्मा के हो भन्ने नै । हाम्रा लागि यो भनाई काल्पनिक छ। यो भनाइ हाम्रो अनुभवबाट जन्मिएको हो न त ज्ञानबाट प्राप्त भएको हो । यो त जसले साधनाको उचाइ लियो उसको अनुभवबाट जन्मिएको उसको ज्ञान हो भने हाम्रालागि सूचना मात्र हो । हाम्रालागि त योगको पहिलो परिभाषा भनेको नै शरीर र मनलाई एक ठाउँमा ल्याउनु हो । युगद्रप्टा अब्रहाम मास्कोले शरीर र मन एकै ठाउँमा रहँनुमा मानसिक स्वास्थ्य बन्दछ । त्यसैले मन र शरीरको जोडलाई योग भनिन्छ । के मन मेरो शरीरसँग जोडिएर जीवन बाँच्दैछ ? म यहाँ छु भने मेरो मन कतै टाढा अर्को ठाउँमा पुगेको हुन्छ । व्यायाम, आसन, प्राणायाम, आदिको मुख्य ध्येय शरीर र मनलाई एकै ठाउँमा राख्ने हो । हामीले हाम्रो जीवनमा विभिन्न नियमहरू अवलम्वन गर्नु पनि योग नै हो, जसले गर्दा हाम्रो शरीर र मन एकैठाउँमा राख्न सजिलो हुन्छ ।
योग आफुतर्फ फकर्ने वा आफु सँगै जोडिने कला हो । व्यक्ति आफु आफुसँगै जोडिनु नै योग हो। यहाँ व्यक्तिले आफ्नो निरीक्षण, मूल्याङ्गन स्वंयम् गर्दछ, आफुलाई सच्याउँदछ र व्यवस्थित गर्दछ । वास्तवमा योग व्यक्तिको आफ्नो जीवनको मूल्यबोध गर्ने सीप पनि हो र आफ्ना रहेका सम्भावनालाई प्रकटीकृत गर्ने उर्वर भूमि पनि हो । जब व्यक्तिले अरुतर्फ फर्किएको आफ्नो दृष्टिलाई आफ्नो मनलाई हेर्छ । आफ्नो जीवनको यिनीहरूको महत्व बुझ्दछ । आÇनो शरीरलाई स्वस्थ बनाउन अनि मन मिलाउन थाल्दछ । अब ऊ आफ्नो आहार–बिहार र जीवनशैलीसँग जोडिन्छ अर्थात यिनीहरूमाथि ध्यान दिन थाल्दछ । यहाँ आएर आहार–विहार र जीवनशैलीसँग जोडिनु नै योग बनिदियो । अब व्यक्तिले आफ्नो शरीर र मनलाई हानी गर्ने मात्र होइन अरुको शरीर र मनलाई नकारात्मक असर पर्ने कार्य गर्नै सक्दैन, आफु कदापि कुलतमा फस्न सक्दैन फसेको छ भने पनि बाहिरिन्छ । उसमा विवेकको जन्म हुन्छ । व्यक्ति शान्त र आनन्दित हुन्छ ।
आफुसँग जोडिएको वा आफुतर्पm फर्किएको व्यक्तिले आफ्नो मनमा आएका विचारहरू प्रति दृष्टि लगाउन थाल्छ । आफ्ना मनमा आउने विचारहरू प्रति सजग हुँदा आफुलाई सुर्धान सजिलो हुन्छ । आफु प्रति सजग व्यक्तिले आफुलाई दुख दिने र मनलाई आन्दोलित बनाउने अभाव, असन्तोष र अतृप्तिका विचार हटाउनुपर्छ र सकारात्मक भाव उत्पन गर्ने विचारहरू पदस्थापन गर्नुपर्दछ । हाम्रो मनमा जस्ता विचारभाव चलिरहन्छन् तिनै वाणी र व्यवहारका रुपमा बाहिर प्रकट हुने हुन् । मन र शरीर स्वस्थ रहेको व्यक्ति भावनात्मक रुपमा पनि स्वस्थ रहन्छ । भावनात्मक रुपमा रहनु भनेको सकारात्मक बन्नु हो । अरुका नराम्रा कुरालाई लिएर टीकाटिप्पणी गर्नुको सट्टा उसमा रहेका सकारात्मकता हेरी ऊ प्रति कृतज्ञताको भाव व्यक्त गर्न सक्नु हो । सकारात्मक भाव हुने व्यक्तिसँग सकारात्मक दृष्टि रहन्छ । सकारात्मक दृष्टि भएको व्यक्तिले सबैप्रति सकारात्मक व्यवहार गर्दछ । अरुबाट केही पाइने भन्नेभन्दा पनि अरुका लागि के गर्न सक्छु भन्ने सोच राख्दछ। आफ्ना सम्पूर्ण जिम्मेवारी र कर्तव्य निर्वाह गर्न तल्लिन रहन्छ । आफ्नो उत्तरदायित्वप्रति सजग व्यक्ति सदा सक्रिय रहन्छ । जो अरुका लागि पनि अनुकरणीय र प्रेरणादायी व्यक्तित्वका रुपमा स्थापित हुन्छ । यसरी समाजमा बस्ने व्यक्तिहरुले योग गर्न थालेमा स्वस्थ्यव्यक्ति, आदर्श परिवार र सम्पन्न समाजको निर्माण हुने छ । यही व्यक्तिलाई परिवार र समाजसँग जोड्ने सेतु पनि हो योग अर्थात् व्यक्तिगत, पारिवारिक र सामाजिक व्यक्तित्व निर्माणको आधारभूमि हो योग । मानिसका सम्पूर्ण सम्बन्धलाई सुमधुर बनाउने कडी हो योग ।
तर आजको मानिसले आफ्नो शरीर र मनलाई एकैठाउँमा राख्न नसक्दा अर्थात् शरीर र मनका बीच वियोग हुँदा उसलाई आफूले गरेको कर्मको के कस्तो असर पर्ने छ भन्ने कुरा थाहा हुन छोडेको छ । फलस्वरुप नैतिकता, इमानदारी, कर्मशीलतामा ह्रास आइरहेको छ । भौतिक उन्नतिमा फड्को मार्न सफल भएकाहरुमा पनि सन्तुष्टि खस्कदो छ । आज शारीरिक मानसिक रोगमा वृद्धि, भ्रष्टाचार, अशिक्षा, दुव्र्यसन, वेरोजगारी, विपन्नता, कुरीति, सम्बन्धमा विग्रह-पारपाचुके, बलात्कार, नैतिक मूल्यमा ह्रास आदि जस्ता समस्याको न्यूनीकरण र निराकरणका लागि धेरै प्रयास गर्दा पनि समाधान गर्न सकिएको छैन बरु अझ बढ्दै गरेका अनुभव हुन्छ । कारण यी समस्यालाई समाधान गर्ने तहमा बसेका व्यक्तिहरुको शरीर (कर्म) र मन (ध्यान) जोडिएनन्, समस्याको जरो पत्ता लागेन ।
मानिस आफूतर्फ फर्कन नसक्दा उसले आफ्नो क्षमताको पहिचान गर्न सकेन कर्तव्यको बोध गर्न सकेन । अरुका उपलब्धिमा ईस्र्या गर्ने अनि कमजोरीहरुमा टीकाटिप्पणी गर्न समय खेर फाल्यो, त्यसैले त आफ्नो विकास गर्न सकिरहेको छैन । आफूलाई अवमूल्यन गरेको छ, आफ्नो कर्मलाई अवमूल्यन गरेको छ । नचाँहिदो प्रतिस्पर्धा वा होडवाजीले जीवन तनावपूर्ण र विषदयुक्त बन्न पुगेको छ । यी सब कुरालाई हटाउन योगको आवश्यकता पर्दछ किनभने योगले व्यक्तिलाई आन्तरिकरुपमा शान्त र बाह्य रुपमा समृद्ध बन्न मद्दत गर्छ । योगले शारीरिक मानसिक स्वस्थता दिन्छ । व्यक्तिको व्यक्तित्व विकासमा मद्दत गर्छ । सबै सम्बन्धमा मधुरता ल्याउँछ । कार्यक्षमतामा बृद्धि गर्छ । व्यक्तिलाई प्रेमले, सहयोगी र मृदुभाषी बनाउँछ । त्यसैले आफ्नो समाजलाई स्वस्थ र व्यवस्थित राख्न योग अत्यावश्यक छ ।
मनको प्रकृति नै एक ठाउँमा नबस्ने हो । हाम्रो शरीर र मनलाई वियोग हुने बानी परेको छ । त्यसैले हामीलाई ध्यान दिएर काम गर्न गाह्रो हुन्छ । जे कार्य गर्छौ त्यसमा मन टिक्न भरसक मान्दैन । शरीरले यहाँ काम गरेको छ मन संसारको अर्को ठाउँमा पुगेको हुन्छ । व्यक्ति जति योग प्रति अनुशासित , सङ्गल्पवान् र अभ्यासी बन्छ त्यति नै उसका शरीर र काम र मन (ध्यान) एकै ठाउँमा बस्न राजी हुन्छन् । व्यायाम, आसन, प्राणायाम, सजगता, कीर्तन, सृजनशील ब्रत आदिका सहयोगमा हामीले हाम्रा शरीर र मनलाई एकै ठाउँमा राख्न सक्दछौँ । अब हामी पनि शरीर र मनलाई एकै ठाउँमा राख्ने सानो एउटा अभ्यास गरौँ :
अभ्यासः घाँटी र कम्मर सीधा राखी आँखा बन्द गरेर सुखासनमा बस्ने अनि १० मिनेट नमस्कार प्राणायाम गर्ने । नमस्कार प्राणायाम गर्दा आफ्ना दुवै हातलाई नमस्कार मुद्रामा जोड्ने । अब चराले पङ्खा फैलाए जस्तै दुवै हात फैलाउँदै दुवै कुइनालाई माथि उठाएर फोक्सोमा पूरै श्वास भर्ने र श्वास छोड्दा कुइनालाई माथि उठाएर फोक्सोमा पूरै श्वास भर्ने र छोड्दा कुइनालाई तल ल्याउने र दुवैतिर फोक्सोलाई दबाउने । यसो गदौ मुख बन्द गरी नाकले मात्र तीव्र गतिमा श्वास लिने छोड्ने गर्ने अरु औला छुट्टिय पनि दुई हातका चोरी र माझी औँलालाई जोडी नै राख्ने । त्यसपछि २१ पटक वीज प्राणायाम गर्ने । यसका लागि विस्तारै पूरै श्वास लिने र छोड्ने । श्वास लिदा पेट र छाती पूरै फुल्नुपर्छ भने श्वास छोड्दा अलिकति पनि हावा पेटमा रहनु हुँदैन । श्वास लिदा र छोड्दा श्वासको आवाज आफूले पनि नसुनियोस् । त्यसपछि १० मिनेट शरीरलाई स्थिर राख्ने अनि बन्द आँखाले जस्तो देखिन्छ त्यसैलाई हेर्ने । अध्यारो देखिए अध्यारोलाई उज्यालो देखिए उज्यालोलाई हेर्ने अथवा दुवै आँखीभौँको बीचमा ध्यान लगाउने निधार क्षेत्रमा ध्यान लगाउने बित्तिकै सजगता बढ्छ । थाहा पाउने क्षमता बढ्छ । मनलाई काममा एकाग्र गर्न सजिलो हुन्छ । अन्त्यमा दुई तीन पटक लामो र गहिरो श्वास लिने, हातगोडाको औलालाई पनि चलाउने अनि दुवै हातलाई अगाडि लगेर आपसमा घोट्ने विस्तारै आफ्नो मुहारलाई सेक्ने–आँखालाई सेक्ने अनि मात्र हत्केलालाई हेर्दैहेर्दै आँखा खोल्ने ।
योग व्यक्ति स्वयम्को नितान्त व्यक्तिगत आर्जन भएको हुँदा जसले निष्ठापूर्वक निरन्तर अभ्यास गर्दछ उसलाई मात्र उपलब्धि प्राप्त हुनेछ ।