मुलुक डेस्क,

वर्षः ०२ | अङ्कः ०९ | जेष्ठ २०७६,

श्रीलंकाका लागि अप्रिल महिना सुखप्रद रहेन । अप्रिल २१ तारिखमा सन्डे इस्टर मनाइरहेकाहरुलाई लक्षित गरी आतंकवादीहरुले आक्रमण गरे । चर्च र होटेलहरुलाई लक्षित गरी भएको आक्रमणमा २ सय ५० भन्दा बढीको ज्यान गयो भने पाँच सयभन्दा बढी घाइते भएका छन् । आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको छ । जिम्मा लिने क्रममा उसले इराकमा भएको पराजयका प्रतिसोध लिएको बतायो । साथै उसले विश्वको कुनै कुनामा आफ्नो समुहले घटना गराउन सक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायलाई चुनौती समेत दिएको छ । घटनापछि श्रीलंका सरकारले आतंकवादी विरुद्ध कडा कारवाही गरेको थियो । शंकास्पद गतिविधिमा संलग्न रहेकालाई पक्राउ गरिएको भन्दै राष्ट्रपति मैत्रिपाल सिरिसेनाले श्रीलंका पुनः सुरक्षित भएको दाबी गरेका छन् ।

घटनामा संलग्न मध्ये योजनाकार जहरान हसिमको पनि आक्रमणकै क्रममा मृत्यु भईसकेको छ । उनी स्थानीय नेशनल तोहजीद जमात नामको इस्लामिक संगठनसँग आबद्ध रहेको बताइएको छ । यसअघि उनी बुद्धका मूर्ति तोडफोड काण्डमा पनि संलग्न थिए भने उनले यु ट्युब मार्फत इस्लाम बाहेक अन्य विरुद्ध हिंसात्मक कारवाही गर्न आग्रह समेत गरेका छन् । पछिल्लो समय इस्लामिक स्टेटले आफै कुनै घटना गराउनुभन्दा पनि स्थानीय समूहलाई हातमा लिएर घटना गराउँदै आएको छ । घटनापछि श्रीलंकाको गुप्तचर निकायले विभिन्न शहरबाट ७० भन्दा बढी इस्लामिक स्टेटसँग आबद्ध आतंकवादीलाई पक्राउ गरिसकेको छ । आतंकावादी विरुद्धको कारवाही अझै जारी छ ।

श्रीलंकामा भएको यो आक्रमणलाई राजनीतिक रंग दिन त्यहाँका राजनीतिककर्मी लागि परेका छन् । राष्ट्रपति सिरिसेना र प्रधानमन्त्री रनिल विक्रमसिंघे पनि आ–आफ्नै बचाउमा लागेका छन् भने सुरक्षा संयन्त्रले ठुलो लापरवाही गरेको भन्दै चौतर्फी आलोचना पनि भइरहेको छ । घटना हुनुभन्दा केही दिनअघि मात्र त्यहाँका प्रहरी प्रमुखले सरकार र सुरक्षा निकायलाई घटना बारे सचेत गराएका थिए तर पर्याप्त सतर्कता नअपनाउँदा घटना भएको कुरा अहिले श्रीलंकामा चर्चामा छ ।

लामो समय गृहयुद्ध बेहोरेको भएपनि श्रीलंकामा आतंकवादी गतिविधिबारे भने खासै चर्चा भएको थिएन । श्रीलंकामा भएको सो आक्रमणपछि नेपाल लगायतका राष्ट्रले पनि सुरक्षा सतर्कता बढाउनुपर्ने देखिएको छ । नेपालमै आतंकवादीहरु अहिलेसम्म हिंसाको घटना नगरेपनि बेला बेलामा नेपालको नाम आतंकवादी गतिविधिसँग जोडिदै आएको छ ।

सन १९९९मा भएको इन्डियन एयरलाइन्सको विमान अपहरण होस् वा मुम्बईमा भएको आतंककारी आक्रमण लगायतका घटनामा अप्रत्यक्ष रुपमा नेपालको नाम जोडिएको हुँदा नेपाल आतंककारीबाट अछ्ुतो रहेको भन्न सकिन्न । यसैगरी भारतको मोस्टवान्टेड सूचीमा रहेका यासिन भटकल, अवदुल करिम टुन्डा लगायत आपराधिक संगठनका नाइकेहरु नेपालबाटै पक्राउ पर्नुले पनि नेपालले सुरक्षा व्यवस्थाप्रति थप गम्भिर हुनुपर्ने देखिएको छ ।

तीव्र गतिमा भइरहेको धर्म परिवर्तन, खुल्ला सिमाना, सहज भिसा प्रणाली र कमजोर सुरक्षा नीतिका कारण आतंकवदीहरुले नेपाललाई आश्रय स्थल बनाउने सम्भावना भएकाले सुरक्षा व्यवस्थालाई थप दुरुस्त बनाउन तत्काल कदम चाल्नुपर्ने
देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *