सुजितकुमार झा,

वर्षः ०२ | अङ्कः ०९ | जेष्ठ २०७६,

मुस्लिम समुदायमा खतना (लिंगको टुप्पोको छाला काटने प्रक्रिया)ले अहिले विकराल रुप लिदैं गएको छ । जसको अर्को एक उदाहरण महोत्तरीको लोहारपट्टी नगरपालिका–५ का २ महिने बालक फिरोज शेष बनेका छन् । खतनाले गर्दा शेषलाई मृत्युवरणमा पु¥याएको छ । घटनाअनुसार खतनापछि सिकिस्त भई मृत्युको कालचक्रमा पुगेका छन् । खतनाकै कारण शेषको मृत्यु भएपछि खतनाको विषयमा चर्चा चुलिन थालेको छ ।

शेषलाई खतना गरिएपछि अत्याधिक रक्तश्राव भएकै कारण अस्पतालसम्म पु¥याउनु प¥यो । तर रगत अत्याधिक बगिसकेकाले चिकित्सकहरुले उनलाई जोगाउन सकेनन् । गत चैत २५ गते शेषको मृत्यु भएपछि खतना अर्थात मुसलमानीको विषयलाई लिएर मुस्लिम समुदायमा एकाएक चर्चा बढेको छ ।
‘गाउँमा नै बालकको लिङ्कको छाला काटिएपछि अत्यधिक रक्तश्राव हुँदा संक्रमण समेत भएकाले बालकको मृत्यु भएको, जनकपुर अञ्चल अस्पतालका वाल रोग विशेषज्ञ डा. जामुन सिंहले बताए ।

खतना के हो ?

मुस्लिम समुदायमा बालकको लिङ्कको टुप्पोतिरको बाहिरी छालालाई काट्ने गरिन्छ । यसलाई नै ‘मुसलमानी समेत भन्ने गरिन्छ । कतिपयले त्यसलाई ‘खतना भन्छन् ।
मुस्लिम देशमा प्रायः जसो बालकको मुसलमानी अस्पतालमा चिकित्सकद्वारा नै गरिन्छ । खतनालाई अंग्रेजीमा सर्कमसिजन भन्ने गरिन्छ जुन लैटिनको सर्कम र केडेयर शब्द मिलेर बनेको छ । लैटिन भाषाको शब्द सर्कम अर्थात वरिपरी हुन्छ भने केडेयरको अर्थ काट्नु । अर्थात लिंगको अग्रभागलाई काट्ने प्रकृया नै खतना हो ।
खतनाका कारण कतिपयले ज्यान समेत गुमाउँदै आएका छन् । जसको प्रतिनिधिमूलक उदाहरण लोहारपट्टीको यो घटना हो । अन्य देशहरुमा चिकित्सकहरुसंग सल्लाह गरेर खतना गरिएपनि जनकपुरधाम क्षेत्रमा अहिले पनि मौलवीहरुद्वारा नै यो प्रकृया पूरा गर्ने गरिन्छ । जनकपुरधाम क्षेत्रमा चक्कु वा छुराले मौल्बी आदिले मुसलमानी गर्दा कतिपय बालकको अत्याधिक रक्तश्राव हुने, संक्रमण हुने गरेको चिकित्सकहरु बताउँछन् ।

यस क्षेत्रमा मुसलमानीकै कारण कसैको मृत्यु भएको तथ्याङ्क नभएपनि डा. सिंहका अनुसार खतनाका कारण हुने संक्रमणका कारण धेरै बच्चाहरु स्वास्थ्योपचारका लागि अस्पताल भर्ना हुने गरेका छन् । अस्पतालमा आएर मुसलमानी गर्दा राम्रो हुन्छ । तर शुरूमा अस्पताल नआउने र संक्रमित भएको अवस्थामा आउँदा ज्यान जाने जोखिम समेत हुने जनकपुर अञ्चल अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. बलराम मिश्राले बताए ।

मुस्लिम धर्मका मौलाना इजरायल अहमद रिजवीले पनि फलानो मानिसले नै खतना गर्नुपर्छ वा फलानो स्थानमा नै गर्नुपर्छ भनेर कुनै ठाउँमा उल्लेख नरहेको बताए ।
मान्छेलाई जहाँ सुविधा हुन्छ, जुन व्यक्तिद्वारा सुविधा हुन्छ, त्यसअनुसार गर्न सकिन्छ, मौलाना रिजबीले थपे, तर मुसलमानी अर्थात् खतना भने गर्नैपर्छ । यो अनिवार्य नै हो । तर कति उमेरमा गर्नुपर्छ भन्ने कुरा पनि किटान गरिएको छैन । मान्छेलाई सहज जुन बेला हुन्छ, त्यही बेला गर्ने गरेको उनले बताए ।

खतनाको प्रकृया

मुसलमानी गर्नका लागि मुस्लिम समुदायको हजामले (कपाल काट्ने व्यक्ति) लिङ्कको टुप्पोतिरको बाहिरी छाला काट्ने गर्छन् । प्रायःजसो गाउँको मुस्लिम समुदायको आफ्नै हजाम हुने गर्छ । त्यही हजामले विधिविधानअनुसार खतना गर्ने गर्छन् । शुरुमा हजामले फातिया पढ्छन् । पूजा गर्दा मन्त्र पढ्नेजस्तै मुस्लिम समुदायमा मन्त्र उच्चारण गरेर फातिया पढ्ने गरिन्छ ।

बालकलाई सामान्य पूजा गरेर घैला वा मचिया वा ठूलो पिँढीमा बालकलाई बसाउँछन् । ‘त्यसपछि बाँसको करचीले बनेको औजारले लिङ्गको बाहिरी गोलो छाला काटेर उल्ट्याइदिने गर्छन्, राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका प्रवक्ता साजिद हुसैनले भने, ‘अनि रक्तश्राव रोक्नका लागि लिङ्गमा खरानी दलिदिने गर्छन् । एक हप्ता जति घाउ रहने र त्यसपछि निको हुने गरेको उनले बताए । हजामले त्यसपछि आफ्नो पारिश्रमिक स्वरूप पैसा र चामल लगायत खाद्यान्न पाउने गर्छन् ।

घरमा खतना गर्ने प्रक्रिया गलत रहेको उनी पनि तर्क गर्छन् । ‘मुसलमानी वा खतना गर्दा अस्पतालमा नै चिकित्सकको हातबाट शल्यक्रिया गराएर गर्नुपर्छ, उनले भने । मौलाना इजरायल अहमद रिजवी पनि फलानो व्यक्ति वा हजामले नै गर्नुपर्छ भन्ने कुरा कतै नलेखिएको बताउँछन् । सुरक्षित तरिकाले अस्पतालमा हुन्छ भने त्यसको लागि अस्पतालमै लैजान मुस्लिम समुदायलाई अनुरोध समेत गर्छन् ।

कतिपय बालक जन्मिएको छैठौ अर्थात् छठीहार हुने दिनमै खतना गराउँछन् भने कतिपयले ५ बर्षको उमेरसम्म पनि गराउने गर्छन् । बाल्यकालको अवस्थामा खतना गर्दा घाउ छिट्टै निको हुने र पीडा हुनेहुँदा बालकलाई आमाको दूध खुवाएर भुल्न मद्दत हुने हुनाले ६ महिनाभित्र अधिकांशको खतना हुने गरेको हुसैनले बताए ।

खतना किन गरिन्छ ? 

इस्लाम धर्मका अतिरिक्त अन्य केही धर्ममा समेत खतना गर्ने परम्परा रहेपनि मुस्लिम समुदायमा भने जन्मिने बालकलाई अनिवार्य रुपमा खतना गर्नैपर्छ । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका प्रवक्ता मोहम्मद साजिद हुसैनका अनुसार मानिसलाई ‘पाक साफ (पवित्र) गर्नका लागि खतना आवश्यक हुन्छ ।

‘इस्लाम धर्ममा पिसाबलाई नापाक अर्थात् अपवित्र मानिएको छ, हुसैनले थपे, ‘लिङ्कको टुप्पोतिरको बाहिरी गोलो छाला काटेपछि मुस्लिम समुदायले पिसाब गर्दा लिङ्कमा अड्किएर बस्दैन । अन्यथा पिसाब लिङ्कमा रहिरहने हुनाले लिङ्क अपवित्र हुने गर्छ ।

‘मुसलमानी नगराए मुसलमान नहुने होइन, उनी भन्छन्, ‘तर मुसलमानमा कुनै पनि यस्तो पुरुष छैनन्, जसले मुसलमानी गराएको हुँदैनन् ।
मौलाना इजरायल अहमद रिजबी पनि मुसलमानी अनिवार्य रहेको बताउँछन् । यद्यपि खतनाको विषयमा इस्लाम धर्मको मुख्य धार्मिक ग्रन्थ कुरानमा उल्लेख रहेको पाइदैन ।
खतना गर्ने आधुनिक विधि

खतनालाई लिएर विश्वभरी बिरोधका आवाजहरु समेत सुनिन थालेका छन् । यो अत्यन्त पीडादायी प्रकृया भएकोले मानवअधिकारवादी संघ संस्थाहरुले समेत खतना परम्पराको बिरुद्ध आवाज उठाउँदै आईरहेका छन् । तर कतिपय विकसित देशहरुमा खतनालाई सरल र पीडामुक्त बनाउनका लागि आधुनिक विधिहरुको प्रयोग शुरु गरिएको छ । यसका लागि एम्ला नामक क्रिम लिंगको टुप्पोमा खतना गर्नुभन्दा दुई मिनेट अगाडि लगाइने गरिन्छ यसका अतिरिक्त पीडामुक्त प्रकृया बनाउनका लागि इन्जेक्सनको प्रयोग समेत गर्ने गरिएको पाइन्छ । नवजात शिशुको खतनाका लागि गाम्को कीलक, प्लास्टिबेल र मागेन कीलक जस्ता उपकरणहरुको प्रयोग गर्ने गरिएको छ ।

खतनाको तथ्यांक

विश्व स्वास्थ्य संगठनको अनुसार विश्वभरी पुरुषहरुको कुल जनसंख्याको ३० प्रतिशत पुरुषको खतना गरिएको छ । जसमध्ये ७० प्रतिशत पुरुष मुस्लिम समुदायकै छन् । महिलाहरुको खतना समेत विश्वको कतिपय स्थानमा हुन्छन् तर त्यसको तथ्यांक भने कहीँ कतै छैन । दक्षिण पूर्व एशिया, अफ्रिका, संयुक्त राज्य अमेरिका, फिलिपिन्स, इजरायल र दक्षिण कोरियामा सबैभन्दा बढी खतनाको परम्परा रहेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published.