संजीव सिंह,
वर्षः ०१ । अङ्कः ०८ । बैशाख २०७६
वर्षभरी चर्चाको केन्द्रविन्दुमा रहेका प्रमुख व्यक्ति र घटना
वर्ष २०७५ साल सुखद एवं दुखद घटना समेट्दै बिदा भएको छ । बिदाइसँगै नयाँ वर्ष २०७६ सालको शुभ आगमन । विगत परिवर्तन हुँदैन, इतिहास बन्छ । यसबाट सिक्ने र सुध्रिने प्रवृत्ति नै मानवीय सिकाई हो । यद्यपि यिनै विगत वर्षलाई नियाल्ने हो भने अनेकौँ व्यक्ति र घटनाक्रमले राष्ट्रिय एवं अन्तर्राष्ट्रिस्तरमा राम्रो नराम्रो चर्चा पाए ।
व्यक्तित्वको खोजी व्यक्तिको आचरण, व्यवहार, बोली र परिश्रमले उजागर गर्दछ । सामान्य र आम मानिस नै आफ्नो काम र योगदानको कारण शिखरमा पुग्ने गर्दछन् । यस्तै अनेकौँ कामका कारण चर्चामा रहेका केही चर्चित व्यक्ति तथा एकाएक चर्चित भएका केही सामान्य नागरिकको छनौट गरी उनको प्रस्तुति गरेका छौँ । व्यक्तित्वको लोकप्रियताको विगुल वा चर्चित बन्ने अनेकौँ प्रपञ्चका कारण जनता र राष्ट्रमाझ आफ्नो उपस्थिति जनाउन सफल व्यक्तिको पावर लिस्ट बनाएका छौँ । यसमा जनताको बीच बहुचर्चित, सामाजिक सञ्जालमा अत्यधिक रुचाइएका र खोजी भएका, सञ्चार क्षेत्रमा हाइलाइट एवं संवेदनशीलतालाई आधार मानि तयार पारिएको छ । यसभन्दा फरक अनेकौँ व्यक्तिले राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा योगदान एवं चर्चा नपाएका होइनन्– यद्यपि हामी खोजीक्रममा केही प्रमुखलाई छनौट गर्न पुगेको हो ।
यसैक्रममा व्यक्तिसँगै घटनाक्रमले पनि मुलुक ततायो । जसमध्ये केही प्रमुख घटनालाई आधार मानि प्रस्तुत गरेका छौ, जसले आफ्नो ख्यातिको स्तर कायम गर्न सफल भयो ।
उखान – टुक्के राजा
दुई तिहाई प्राप्त शक्तिशाली सरकारका प्रधानमन्त्री खडगप्रसाद शर्मा ओली वर्तमान नेपालका ४१औं प्रधानमन्त्री हुन् । यिनि विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री समेत भएका हुन् ।
उनी २०२८ सालको झापा काण्डका अगुवामध्येका एक हुन् । २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका ओली तत्कालिन नेकपा (माले)को संस्थापक मध्ये पनि एक हुन् । २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा क्षेत्र नं. ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका ओली ०६४ मा भने पराजित भएका थिए । दोस्रो संविधान सभा निर्वाचव २०७० मा झापा–७ बाट निर्वाचित ओली भाषण गर्दा उखान–टुक्कालाई प्रयोग गरेर हाँस्यरसलाई मिसाउन खप्पिस छन् ।
समृद्ध नेपाल, सुखी नेपाली’ नाराका साथ १४ महिनाअघि दोस्रो पटक प्रधानमन्त्री बन्न सफल ओलीको मूल्याङ्गन जनता र मुलुकले गर्ने नै छन् । तर विगतका कार्य हेर्दा उनलाई राष्ट्रले उखान–टुक्के राजाको उपाधि चै अवश्य दिनेछ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गराउनु, मुलुकी संहिता लागु गराउनु, सीके राउतलाई सहमतिमा ल्याउनु उनको उल्लेख्य कार्य रह्यो । तर ३३ किलो सुन काण्ड, निर्मला बलात्कारपछि हत्या, एसिया प्यासिफिक समिटको नाममा इसाई धर्म प्रचार अभियान लगायत घटनाले ओलीको सर्वशक्तिमानी अहंमताले कहाँ लाने हो ? हेर्न बाँकी छ।
शक्तिको केन्द्रबिन्दु
गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल । नेपाललाई स्वीटजरल्याण्ड बनाउने सपनाका भित्ते राष्ट्रपति । १३ वर्षे जनयुद्धका क्रममा हजारौँ नेपाली जनता मार्ने अभियानका नाइके। गणतन्त्रका प्रणेता रामराजाप्रसाद सिंहका सारथिको रुपमा गणतन्त्र स्थापित गर्ने नेता । नेकपा एमाले र माओवादी केन्द्रलाई संयुक्त रुपमा मिलाएर नेकपाका संयुक्त अध्यक्ष ।
दुई पटक प्रधानमन्त्री, विगत २०औँ वर्षदेखि माओवादी पार्टीका शक्तिशाली मुखिया बन्न सफल शक्ति र सत्ताका केन्द्रबिन्दु मानिने प्रचण्ड नेपालका सदाबहार चर्चित नेता हुन् । भाषणकै क्रममा रुने, पुत्र वियोग, समकक्षी ओलीसँगको टकराव, विप्लवको निसानामा पर्नु, भेनेजुएला प्रकरणमा प्याच्चै बोल्नु लगायत घटनाक्रमले उनको वर्चश्व नेपाली राजनीतिमा यथावतै देखिन्छ । विभिन्न आरोह–अवरोह पार गर्दै राजनीतिक यात्रा तय गरेका प्रचण्ड हालका समयमा निस्नदेह एक्लो यात्रीको रुपमा आफुलाई स्थापित गर्न सफल राजनीतिज्ञ भएका छन् ।
देश–विदेश दौडाहा
दुई पटक राजमुकुट भिरेर राजा बन्ने सौभाग्य विश्वमा विरलै पाइन्छ । तर, नेपालका पूर्व राजा ज्ञानेन्द्रको हकमा सन् १९५० र सन् २००१ मा गरी दुई पटक राजा हुने अवसर प्राप्त भयो । झण्डै ३०० वर्षको राजसंस्था र सत्ता उनकै पालामा खोसियो । कहालिलाग्दो र कलंकलाग्दो घटना राजदरवार हत्याकाण्ड अझ रहस्यमयी छ । पारसको वितण्डा र राष्ट्रको कमजोर अवस्था उनी लगायत जनतासामु स्पष्टै छ । यस्तै समयमा ज्ञानेन्द्र शाहका भ्रमणहरु बढेका छन् । राजनीतिक चाल चल्न धार्मिक मुखौटा भिरेर देश-विदेश दौडाहामा व्यस्त छन् उनी ।
विद्यमान देशको अवस्था र राजनीतिक पात्र एवं घटनाक्रमले उनीहरु प्रतिको वितृष्णाले जनतामा पूर्व राजाप्रति सद्भाव जागेको देखिन्छ । विदेशीको अखाडा बनाउन अभ्यस्त हाम्रो राजनीतिज्ञहरु कमजोर मानसिकताका कारण शक्तिको केन्द्र र भ्रष्टाचारको जालोमा अल्झदै गएको छ जसकारण पनि ज्ञानेन्द्रप्रतिको मोह जनतामा जाग्दै गएको देखिन्छ । बेलाबेलामा उनको भेटघाट, भ्रमण र अभिव्यक्तिबाट राज्य सत्तामा आउने लालसा र चाहना प्रष्टै हुन्छ।
समयको चाल गतिमान हुन्छ । आवश्यकताको सिद्धान्तमा परिस्थितिको निर्माण हुने गर्दछ । यी सबै सम्भावना नियाल्दा ज्ञानेन्द्रको भूमिकालाई नकार्न मिल्दैन । राजसंस्था प्रतिको आस्था केही दल र जनतामा अझ रहेको सर्वविदितै छ । गन्तव्यको लागि बाटो कुन हो ? उनैले जानुन् । राष्ट्र अखण्ड हुनु पर्यो, सार्वभौम भइ रहनु पर्यो, विकास र स्थिरताका साथै शान्ति, सुरक्षाको प्रत्याभूति अहम मुद्दा हो।
वन्द–विस्फोट बाहक
सत्ता परिवर्तन मुख्य माग बोकेर हिँडेका ‘विप्लव’ बेला बेला नेपाल बन्द, लुटपाट गर्दै विष्फोट गराउन पनि चुक्दैनन् । हतियारसहितको आतंकवादको विगुल बजाउँदै जनता र सरकारलाई हम्मे पार्न सफल विप्लवसँग कुनै किसिमको वार्ता नगर्ने सरकारले अडान नै लिएको छ भने उनको संगठनमाथि प्रतिबन्ध । सन् २०१४ मा गठित नेकपाको मुखिया विप्लव १६ वर्षसम्म माओवादी केन्द्रीय सदस्य रहेका थिए ।
विप्लव आफ्ना माग पुरा गर्न हिँडेको बाटो कत्तिको जायज छ ? समयले देखाउने छ तर जनताको साथ र सत्ता प्राप्तिको माध्यम भने शान्तिपूर्ण नै हुनुपर्दछ । केही समय अगाडि एनसेल विष्फोट लगायत अन्य ठाउँमा गराइएको श्रृंखलावद्ध घटनाले आखिर ज्यान सर्वसाधारणकै गयो । राष्ट्रियताको नाममा हिन्दी चलचित्र, टेलिसिरियल बन्द गराउने, कम्पनीले कर तिरेन भन्दैमा बमले उडाउने जस्ता अतिवादका घटनाले विप्लवको मनोदशा र राष्ट्रको अराजकता बढ्दै गएको देखिन्छ ।
चतुर विद्वान
क्यामब्रिज विश्वविद्यालयका डक्टरेड, अमेरिकामा बैज्ञानिक रहिसकेका विद्वान् चन्द्रकान्त राउत अचानक वर्ष २०६८ मा नेपाल फर्कन्छन् र राजनीतिक वितण्डा मच्चाउँदै एकाएक चर्चाको पात्र बन्न सफल हुन्छन् । अलगाववाद पथमा लम्कदै ‘स्वतन्त्र मधेश गठबन्धन’ मार्फत ‘मधेश राष्ट्र’को माग राख्दै आफ्ना अभियान अगाडि बढाउँछन् ।
रङ्गभेदी दुव्र्यवहारका कारण पाहाडियाप्रतिको आक्रोस हो वा विदेशी प्रायोजन वा वास्तविकताको भ्रम, देशबाट ‘मधेश’ टुक्राउने नाराका साथ ७ वर्ष लागिपरेका सीके अन्ततः मूलधारको राजनीतिमा फर्किए । शान्तिपूर्वक आफ्ना माग संयुक्त राष्ट्र लगायत युरोपियन युनियन, चीन, भारतसम्म स्थापित गराउन अनेकौँ प्रयास गराए पनि हतियार र विध्वँसको बाटो चाँहि रोजेनन् । तराई–मधेशका आठ जिल्लामा सानै संजालका साथ यात्रा आरम्भ गरेका राउतमाथि पटक पटक देशद्रोहको मुद्दा चलाइयो । फलस्वरुप पटक पटक जेल चलान भए ।
जेल यात्राकै क्रममा पछिल्लो पटक सातमहिना लामो अवधिलाई सर्वोच्चले एकाएक रिहा गर्यो । र, रिहा भएको भोलिपल्ट सरकारसँग सीकेको सहमति भयो । नाटकीय रुपमा विखण्डनवादको मुद्दा त्याग्दै राष्ट्रिय हिरो बन्न सफल भए । तर केही दिनपश्चात स्वाभाविक प्रकृया जस्तै आफ्नो अध्यक्षतामा चुपचाप जनमत पार्टी खोले । संगठन विस्तार अभियानमा लाग्दै मधेशमा अर्को वैकल्पिक शक्तिको रुपमा आफुलाई उभ्याएका छन् ।
न्यायको खोज
सरकार भेटियो, न्याय भेटिएन लेखिएको पोस्टर जस्तै मुलुकमा न्यायको खोजीमा दमन, शोषण र मृत्युको मुखमा अनेकौँले आफ्नो ज्यान गुमाउन पुगे । यस्तै एक पात्र बनिन् – निर्मला पन्त । बलात्कारपछि हत्या प्रकरण र तत्पश्चात न्यायको खोजी । कञ्चनपुर भीमदत्त नगरपालिका निवासी निर्मला पन्तको श्रावण १० मा बलात्कार पछि हत्याको घटना आज पनि रहस्यमयी छ ।
मुलुकभरबाटै लाखौँ जनताले उनको न्यायको पक्षमा आवाज उठाए पनि हत्यारा अभैm पत्तो लागेको छैन । उल्टै उनको पोस्टर च्यात्ने, राजनीतिक प्रकरण भन्दै शान्तिपूर्ण प्रदर्शन गर्नेमाथि दमन र गोली चलाइनुले निर्मला मरेर गएपनि न्यायको आशामा जीवित पात्र बन्न पुगेकी छिन् । आधा दर्जन समिति लगायत सयौँको बयान तथा दुई दर्जन जतिको डीएनए परीक्षण वावजुद हत्यारा पत्ता नलाग्नुले समाज र राष्ट्रको सुरक्षा, सद्भाव एवं न्यायमाथि सवाल उठ्नु सान्दर्भिक नै हो।
अनसन म्यान
एक्लो यात्री, अनसन म्यान डा. गोविन्द केसी । पटक पटक भोक हड्ताल गर्दै सरकारको चिकित्सा नीति विरुद्ध १६औं पटकसम्म अनसनमा उत्रिए । आउँदो दश वर्षसम्म काठमाडौँ उपत्यकामा चिकित्सा शिक्षा अध्ययन संस्था खोल्न नपाउनुपर्ने, खोल्ने संस्था कम्तिमा ३ वर्षसम्म अस्पताल चलाएको हुनुपर्ने लगायत माग राख्दै आएका हुन् ।
सन्त प्रवृत्तिका हाड जोर्नी विशेषज्ञ ६२ वर्षीय डा. के.सी.को जीवनशैली शालिन र पारदर्शि छ । उनी हालसम्म अविवाहित र एक्लो जीवनशैली बिताइ रहेका छन् । उनको अनसनको कारण सरकार पटक पटक बाध्य भएर सम्झौता गर्न पुगे भने चिकित्सक, समाजसेवी, पत्रकार लगायत सडकमा उत्रिए । डा. केसीको नारामा साथ दिँदै धेरै पटक चिकित्सकहरुले अस्पताल ठप्प पारे ।
साहसिक रणनीतिकार
लोडसेडिङ्क मुक्त नेपालका परिकल्पनाकारको रुपमा आफ्नो नाम स्थापित गर्न सफल र साहसिक व्यक्तित्व हुन् – कुलमान घिसिङ । दशकौँदेखिको अँध्यारो नेपाललाई उज्यालोमा परिणत गरेर ठूलै ख्याति कमाएका घिसिङ अन्तोगŒवा कुशल रणनीतिकार साबित भएका छन् ।
सन् १९७० मा जन्मेका ४९ वर्षीय कुलमान विगत ३ वर्षदेखि विद्युत प्राधिकरणको जिम्मेदारी सम्हाल्दै आएका छन् । जिम्मेदारी सम्हालेको २ महिनाभित्रमा काठमाडौँ उपत्यकादेखि र ६ महिनामा देशव्यापी रुपमा लोडसेडिङ मुक्त गर्न सफल भए उनी । राज्य संयन्त्रको अनेकौँ बाधा–व्यवधान पन्छाउँदै नेपाल र नेपालीलाई अँध्यारोमुक्त बनाउने कुलमान अनेकौँ उपाधि सहित नेपाल सरकारद्वारा उत्कृष्ट कर्मचारी समेत बन्न सफल भएका छन् । चर्चित चिलिमे हाइड्रोपावरलाई सफल बनाउँदै अन्य आयोजनाहरुको निर्माण गर्न सफल उनी आफ्नो पोस्टलाई “हट सिट” भन्न रुचाउँछन् ।
नौ अर्ब घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याउन सक्नु कुलमानको दूरदर्शि नीति र बलियो कार्यान्वयन पक्ष हो । उनका अनुसार “हिजो लोडसेडिङ गराएर लुट मच्चाउनेहरु आज प्राधिकरण विरुद्ध लाग्दै काममा अवरोध गराउन तल्लिन रहेका छन् ।” यद्यपि हिजो लोडसेडिङ कसरी गराए, के–के भएका थिए, कसले गरेको थियो सबै प्रमाण आफूहरूसँग रहेको बताउँदै आवश्यक परे सार्वजनिक गर्ने समेत चेतावनी दिएका छन् । सरकारले आगामी चार वर्षभित्र सम्पूर्ण नागरिकहरुलाई विद्युत पुर्याउने घोषणा गरे अनुसार प्राधिकरणले काम गरिरहेको उनी बताउँछन्।
क्रिकेट क्रेजी
विश्वकै सर्वाधिक दोस्रो लोकप्रिय खेल क्रिकेटमा केही राष्ट्रको मात्र पहुँच रहेको छ । जसमध्ये नेपाल पनि एक हो । नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रा धेरै लामो नभएपनि यसको चर्चा र महत्वको तारिफ सधै हुने गर्दछ । यसै सन्दर्भमा नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान र स्थापना गर्न कुशल एवं सफल खेलाडी बनेका छन् – सन्दीप लामिछाने ।
१९ वर्षीय स्याङ्जाली सन्दीप विगत २ वर्षदेखि नेपाली क्रिकेटलाई विश्वमा स्थापित गर्न लागि परेका छन् । राष्ट्रिय स्तरको खेलाडी बनेको ३ वर्षभित्रै आफ्नो उचाइले सारा विश्वको ध्यानाकर्षण आफूतार्फ तानेका हुन् । अस्ट्रेलियन विग व्यास लिग, बंगलदेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियरलिग लगायत इन्डियन प्रिमियर लिग (आईपीएल) खेलिसकेका सन्दीप क्रिकेट क्रेजी नै हुन् । करोडौँको आम्दानी र प्रख्यातिको कारण उनको कद नेपाली खेलकुद क्षेत्रमा उत्कृष्ट बन्न पुगेको छ ।
सत्यमोहन – माधव शताब्दी पुरुष
नेपाली वाङमयका मूर्धन्य स्रष्टाहरु राष्ट्र कवि माधव घिमिरे र सँस्कृतिविद् सत्यमोहन जोशीले यसै वर्ष शतायु उमेर मनाए । दुवै जनाले नेपाली साहित्यिक फाँटलाई धनधान्य हुने गरी आफ्नो अमर कृतिले भरेका छन् ।
आफ्नो आयुमा शताब्दी शब्द जोडिनुलाई दुवै स्रष्टाले जीवनको ठूलो प्राकृतिक उपहारको रुपमा ठान्दछन् । सकारात्मक सोच र कार्यमा निरन्तरताले जीवनको यो उमेरमा पनि खुशीसाथ बाँच्नु स्वयं र नेपालीका लागि गौरवमय अवस्था हो।
सौन्दर्यको ताज
मिस नेपाल शृँखला मिस वल्र्डमा भाग लिएपछि एकाएक चर्चाको शिखरमा पुगिन् । विश्वका ११८ देशका सुन्दरीबीच १२औँ स्थान सुरक्षित गर्न सफल उनले “मल्टि मिडिया” र “ब्युटी विथ ब्रेन” गरी दुई विधामा पुरस्कार समेत जित्न सफल भइन् ।
उत्कृष्ट प्रस्तुति शैली, तीक्ष्ण दिमाग र आकर्षक जिउडालकी धनी मिस नेपाल शृँखला अध्ययन र समाजसेवामा पनि उत्तिकै दतचित्त भएर लागेकी छिन् । छोटो अवधिमै मिस वल्र्ड मार्फत विश्वसामु नेपाल र नेपालीलाई चिनाउन सफल समेत भइन् ।
संघ र प्रदेश टकराव
संघ र प्रदेशबीचको विवाद सामान्य हो । मुलुकमा प्रथम पटक यस्तो अभ्यास हुनाले यस्ता घटनाक्रम हुनु स्वाभाविक हो । तर प्रदेश नं. २ र संघबीच वारम्बारको जुहारीले राष्ट्रियस्तरको खबर बनायो । अन्य प्रदेश र संघमा नेकपाकै सरकार हुनु तथा प्रदेश नं. २ मा फोरम-राजपा गठबन्धनको फरक सरकारका कारण पनि विवाद भइराख्नु ।
प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत र प्रधानमन्त्री ओलीबीचको खिचातानीमा वर्ष नै वित्यो । प्रदेशको प्रहरी विधेयक, कर्मचारी समस्या (करार ऐन), भारतीय प्रधानमन्त्री मोदी आसिन मञ्चमा नसघाएको कुरा उठाउने लगायत मुद्दाका कारण आरपारको अवस्था नै रह्यो ।
धुर्मुस–सुन्तली समाजसेवा
धुर्मुस–सुन्तली फाउन्डेसन, अर्थात् सीताराम कट्टेल र कुन्जना घिमिरेद्वारा सञ्चालित समाज सेवा संस्था । ‘मेरी बासै’ टेलिसिरियल मार्फत लोकप्रिय यो जोडी पछिल्लो समयमा आफ्नो सामाजिक अभियानका कारण चर्चामा रह्यो । महाविनाशकारी भूकम्प ०७२ पछिको चर्चाको शिखरमा आएका यस जोडीले अनेकौँ समाजसेवा अभियानमा आफ्नो हात बढाउँदै आएका छन् । नमुना पहरी बस्ती, नमुना मुसहर वस्ती, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माण लगायतको जिम्मेवारी बोकेर देश निर्माणमा हिँडेका यस अभियन्ताले भर्खरै वारा पर्सामा गएको भयंकर हावाहुरीमा आफ्नो उपस्थिति र सहयोग जनाएका छन् ।
नेपाली क्रिकेटको सफलता
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गरेको तीन वर्ष हुन लाग्यो तर पनि नेपाली टोली अन्तर्राष्ट्रिय खेल खेल्दै छ ।
गतवर्ष नेपालले विश्वकप छनौटबाट ऐतिहासिक रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पायो । तत् पश्चात यसै वर्ष दुबईमा युएईसँगको एकदिवसीय र टि–२० अन्तर्राष्ट्रिय शृंखला २–१ ले जित्दै धमाकेदार उपस्थिति जनाएको छ । नेदरल्याण्डसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला १–१ को बराबरीमा टुंगयायो ।
राष्ट्रपतिको शान–मानमा सरकार
राष्ट्रको प्रमुख–राष्ट्रपतिको गरिमा र शान ओजस्वी हुनुपर्दछ न कि उच्च र विलासिता । जहाँ जनता दुइ छाक टार्न विदेशिनुपर्छ, सडकमा भएको खाल्डाखुल्डीका कारण दुर्घटना भई मृत्यु वरण हुन्छ, त्यहाँ अर्वौको खर्च राष्ट्रपतिको सुख सयलमा खर्चिने योजना सरकारले गर्छ ।
राष्ट्रपतिको सवारीको लागि १५ करोडको अत्याधुनिक बुलेट प्रुफ कार, १.५ अर्बको हेलिकप्टर तथा निवासको लागि हजार कोठे महल । राणा गए, राजा गए तर जनताकै लागि जनताकै शासकले किन यति त्रूmर र विलासिता भोग्नुपर्ने । सुरक्षा जस्तो संवेदनशील संस्था नेपाल प्रहरी एकेडेमी सारेर राष्ट्रपतिको लागि महल बनाउने कस्तो नीति हो, सरकारको ? जनताको गाँस, बाँस र कपासको कुरा खोई ?
लुट्न सके लुट
गीत संगीत मार्पmत मनको बह फुट्ने पनि गर्छ भने थाम्ने पनि गर्दछ । “लुट्न सके लुट कान्छा, नेपालमै छुट” वास्तवमै मार्मिक र सत्यतथ्यमा आधारित गीत हो । नेपाली समाजको वर्तमान घटनालाई शब्दमा ढालेर लोकलय मार्फत व्यङ्गात्मक प्रहार गरेका गायक पशुपति शर्माको यो गीतले सरकारै हल्लायो ।
स्वतन्त्रताको अभिव्यक्तिमाथि ठाडो प्रहार गर्दै सत्तासीन नेकपा सम्बद्ध युवा संघले गीत र गायकलाई वहिष्कार नै गरे । धम्की र त्रासको माहौल नै सिर्जना गराए जसको फलस्वरुप गायकले डरले वा वाध्यताले युट्युबबाट गीत हटाउनु पर्यो । दुई तिहाइका सर्वशक्तिमान सरकार एउटा गीतका कारण थर्कमान भयो कारण सरकारको उदाँगो व्यवहार र अहंकार नै ठान्नु पर्ला ।
वाइडबढी भ्रष्टाचार
घाटामा रहेको राष्ट्रिय ध्वजावाहक विमान खरिद प्रकृयामा देखिएको ठूलो अनियमितताको नाम हो– वाइडबडी भ्रष्टाचार प्रकरण । यसको प्रमाण हो सम्झौता भएअनुसारको विमान नभित्रिनु । २४२ मेट्रिक टन भारक्षमताको सट्टा २३० मेट्रिक टनको विमान भित्रिनु । २४ अर्ब बराबरको विमानभित्र । यहाँ ४ अर्ब ३५ करोडको अनियमितताको प्रतिवेदन सार्वजनिक हुनु साँच्चै सरकार र राष्ट्रका लागि लज्जास्पद हो । अझ यस प्रकरणमा वायुसेवाका सामान्यदेखि हाइप्रोफाइल मन्त्री, सचिवको नाम मुछिनु वर्षको ठूलै काण्ड हो ।
हेलिकप्टर दुर्घटना
असुरक्षित आकाशको ताजा घटना एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हो । वहालवाला पर्यटनमन्त्री रबीन्द्र अधिकारीसहित ७ जनाको दुःखद निधनले राष्ट्र स्तब्ध बनेको छ । तेह्रथुमको चुहानडाँडामा विमानस्थल क्षेत्र अवलोकन पश्चात पाथिभरा दर्शन गरेर फर्कने क्रममा फाल्गुण १५ मा उक्त दुर्घटना हुन पुग्यो ।
वाइडबढी भ्रष्टाचारमा मुछिएका मन्त्री अधिकारीको असामयिक निधनले उनीमाथि लागेको दाग भने धुलेन । खराब मौसमका कारण, क्षमताभन्दा बढी सवारीका कारण अथवा जबरदस्ती उडान भर्न लगाउनुको कारण दुर्घटना हुन पुग्यो, यकिन भैसकेको छैन । हावामा उड्दै गरेको खबरलाई यदि आधार मान्ने हो भने एकथरीले यसलाई सुनियोजित षड्यन्त्र भन्ने गरेका छन् ।
बढ्दो उमेरमा शिक्षा मोह
मुलुककी चर्चित अभिनेत्री करिश्मा मानन्धर (४५ वर्ष) तथा नेकपाकी सचेतक शान्ता चौधरी (३८ वर्ष) ले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागि भई उमेर, पद र ख्यातिले शिक्षामा वाधा गर्दैन भन्ने संदेश दिएका छन् ।
१४ वर्षमै फिल्मी करियर शुरु गरेकी करिश्मा ३० वर्षपछि कक्षा ८ मा भर्ना भई अध्ययन शुरु गरेकी थिइन् । २०४४ सालमा ‘सन्तान’ फिल्मबाट नेपाली रजतपटमा देखा परेकी उनले हालसम्म ६० भन्दा बढी फिल्ममा अभिनय गरेर आफूलाई अब्बल दर्जाको अभिनेत्रीमा दरेकी छिन् । यसैगरी १८ वर्ष कमलरी बसेकी शान्ता चौधरी एमालेबाट २०६४ र २०७४ गरी दुई पल्ट सांसद भएकी हुन् । अचम्म यसैपल्ट उनकी १७ वर्षीय छोरी बिनुले पनि सँगै एसइई दिइन् ।
वारा–पर्साको हावाहुरी
चैत्र १७ साँझमा वारा–पर्सामा आएको हावाहुरी सम्झना भएसम्म नेपालको पहिलो विनाशकारी हावाहुरी बन्यो । तराइमा देखिएको यस ताण्डवमा २९ जनाले ज्यान गुमाए भने सयौँ घर उजाड बने। “टोर्नाडो” नामक यस तुफानले सिँगो बस्ती, पक्की घर, ट्रक, बस, पोल लगायत रुख आदि सबै ढाले क्षणभरमै ।
बाराको फेटामा मात्रै २८ जनाले ज्यान गुमाए भने २ सय ८५ घर भत्कियो । नेपालमा पहिलो पटक आएको “टोनार्डो” आँधी तुफानले राष्ट्र नै हल्लाउन पुग्यो । अस्तव्यस्त जनजीवनको आधारशीला नै निर्माण गर्यो । जसबाट उम्कन सायद महिनौँ वा वर्षौ लाग्ने छ ।